|

काठमाडौं : शिवपुरीस्थित नेपाली सेनाको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट २६ औँ समूहमा १० विदेशीसहित ६३ ले ‘कमाण्ड एण्ड स्टाफ कोर्स’ पूरा गरी दीक्षित भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कलेजमा आज आयोजित समारोहमा कोर्स पूरा गर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे।  नेतृत्व तहमा पुग्ने सैनिक अधिकृतका लागि कमाण्ड एण्ड स्टाफ कोर्स अनिवार्य मानिन्छ। विसं २०४९ मा स्थापना भएको उक्त कलेजबाट एक हजार ५३ ले उक्त कोर्स पूरा गरेको  दीक्षान्त समारोहमा जानकारी दिइयो। तीमध्ये विदेशी सैनिकको सङ्ख्या ८३ रहेको छ।

करिब ५० साता अवधिको यस पटकको कमाण्ड एण्ड स्टाफ कोर्समा समग्र विधामा सेनानी चित्रबहादुर कार्की उत्कृष्ट घोषित भए। यस कोर्सलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको मान्यता प्रदान गरेको छ। 

सो २६ औँ समूहमा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक अधिकृत सहभागी थिए। बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स्, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाका पनि एक–एक सैनिक अधिकृत सहभागी थिए।

प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै प्रधानसेनापति थापाले व्यावसायिक सैनिक संयुक्तरुपमा परिचालन हुँदाका बखत आइपर्ने चुनौतीलाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा प्रदान गरिएको ज्ञानको समुचित प्रयोग उदाहरण प्रस्तुत गर्न निर्देशन दिए।

प्रधानसेनापति थापाले भने, “अनुशासित व्यावसायिक सैनिकको रुपमा योजना बनाउँदै अघि बढाउन कलेजबाट प्राप्त गरेका ज्ञान कोसेढुङ्गा सावित हुने छ, यहाँ प्राप्त भएको ज्ञानबाट उच्च र बहुआयामिक नेतृत्व बन्न योगदान पुग्ने छ। ”

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले २१ औँ शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न कलेजबाट प्राप्त ज्ञानले सहज तुल्याउने विश्वास व्यक्त गरे। कलेका प्रमुख एवं उपरथी ईश्वर हमालले कलेजबाट प्रदान गरिँदै आएको कोर्स र तालीमका बारे जानकारी गराए। सो अवसरका कलेजद्वारा प्रकाशित शिवपुरी जर्नलको पनि विमोचन गरियो। पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको आकर्षणको केन्द्र बन्दै आएको छ। हरियाली वातावरण, शीतल हावापानी र मिलनसार व्यवहारका नेपाली सैनिकले विदेशी विद्यार्थीका बीचमा आर्मी कमाण्ड र स्टाफ कलेज लोकप्रिय बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.