|

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर ढुवानी गर्ने सवारी साधनले अनिवार्य फोहोर ढुवानीको स्टिकर टास्नुपर्ने भएको छ। सिसडोल जाने फोहोरको गाडीलाई 'फोहोर ढुवानी' अंकित स्टिकर टाँसेर मात्र फोहोर ढुवानी गराइने व्यवस्था काठमाडौं महानगरपालिकाले ल्याएको हो।

अब फोहोर ढुवानी अंकित स्टिकर नटाँसे फोहोर ढुवानी गर्न पाइने छैन। 'फोहोर ढुवानी' अंकित स्टिकर टासेको फोहोरको गाडीले मात्र सिसडोलमा फोहोर लगेर फाल्ने पाउने काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

सिसडोलमा अनाधिकृत गाडीले फोहोर बिसर्जन गर्ने भएकोले विकृति फैलिएको उनको भनाइ छ। दुर्घटना न्यूनीकरण गर्नको लागि फोहोर ढुवानीको स्टिकरले पनि सहयोग गर्ने उनले बताए। फोहोर ढुवानीको स्टिकर बिनाको गाडीले फोहोर बिसर्जन गर्दा दुर्घटना गरेमा पनि महानगरले त्यसको क्षतिपूर्ति दिने व्यहोर्ने गरेको छ।

'उपत्यकाबाट सिसडोलमा पाँच सय टन फोहोर जाने गर्दछ। गाडीको सुरक्षाको लागि फोहोर ढुवानीको स्टिकर टाँसिएको हो' उनले भने। जथाभावी फोहोर बोक्ने गाडीले पनि स्टिकरको प्रयोग गरेमा मात्र फोहोर ढुवानी गर्न पाउने उनको भनाइ छ।

काठमाडौं महानगरपालिकाका २० वटा र निजी कम्पनीका एक सय ३० वटा गरी एक सय ५० वटा गाडीले फोहोर ढुवानी गरिरहेको उनले बताए। फोहोरको गाडीलाई वितरण गर्ने स्टिकर निःशुल्क दिएको श्रेष्ठले प्रस्ट्याए।

स्टिकर वितरण गरी सहजीकरणको भूमिका निर्वाह गर्न निजी कम्पनीलाई दिएको छ। उपत्यकाभित्र फोहोर ढुवानीमा प्रयोग भएका सवारी साधनबारे निजी कम्पनीलाई नै थाहा हुने भएकोले सहजीकरणका लागि निजी कम्पनी सहयोग लिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.