|

नवलपरासी : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको बताए। 

पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको बुधबार शिलान्यास गर्दै यस्तो बताएका हुन्। उनले भने, 'छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेका छन्। जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ। हाम्रा काम देखिन थालेको छ। हामी योजनाबद्ध विकासका पक्षमा छौं।'

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै यो पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको बताए। उनले रामग्राम स्तूपलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यातायातका पूर्वाधारले जोड्न आवश्यक रहेको सन्दर्भमा यो पुल रामग्रामको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। 

'विगतमा यहाँ पुल बनाउने धेरै चर्चा भए पनि अहिले प्रदेश सरकारको उपस्थितिले यो सम्भव भएको छ। अब रामग्रामको गुरुयोजना कार्यान्वयन प्रक्रियासँगै यहाँ विकासको ढोका खुल्नेछ। स्तूप क्षेत्रमा हामीले बौद्ध संग्रहालय बनाउने काम पनि छिट्टै अघि बढाउनेछौं, उनले भने। 

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याए। 

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आगामी दुई वर्षभित्रै उक्त पुल निर्माण हुने प्रतिबद्धता जनाउँदै पुल निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उनले भने, 'पञ्चायतकालदेखि नै यहाँको पुल बहुप्रतिक्षित हो। अहिले आएर मात्र सम्भव भयो। अब रकम अभावका कारणले पुल निर्माण रोकिँदैन। रामग्रामको गुरुयोजनालाई पनि यसले सहयोग पुग्छ।'

'पुल अभावकै कारण यो महत्वपूर्णस्थल भएर पनि ओझेल परेको थियो। अब यहाँ ठूलाठूला होटल, रिर्सोट खुल्ने क्रम शुरु हुन्छ। हामीले आधारभूत विकासको पूर्वाधार तयार गरेका छौं। अब यहाँको विकासमा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण सबै लाग्नुपर्दछ', उनले भने। 

प्रदेशसभा सदस्य वैजनाथ जयसवालले रामग्राम स्तूप, पण्डितपुर र अनोमाघाटको विकासमा विशेष जोड दिन आग्रह गरे। भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी ३५ मिटर लम्बाइको उक्त पुल एसिआटिक-प्रदीप-जुम्ली जेभी रुपन्देहीलाई निर्माणको जिम्मा दिएको छ।

निर्माण कम्पनीसँग गत असोज २ गते कूल छ करोड ६२ लाख १८ हजारलागतमा ठेक्का सम्झौता गरिएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ। मुख्यमन्त्री पोखरेलले बुधबार प्रदेश सरकारले निर्माण गर्न लागेको पश्चिम नवलपरासीको सुनवलस्थित बेलारी खोला पुल र वनकट्टी–छडेनी जोड्ने झरही खोला पुलको पनि शिलान्यास गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.