|

दाङ : घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको छ। उपमहानगरले बुधवार उपमहानगरको ४ स्थित लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम शुरू गरेको हो।

चालु आर्थिक बर्षको बार्षिक कार्यक्रमअन्तर्गत उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि 'उपप्रमुख आमा तथा नवशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम' शुरू गरेको हो।

गर्भावस्थादेखी सुत्केरी अवस्थासम्म चारपटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले एक हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर बितरण गरेको हो। कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले पहिलो चरणमा ८ जना सुत्केरीहरुलाई जनही १ हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर वितरण गरिन्‌। 

त्यसैगरी केन्द्र सरकारले दिँदै आएको १८ सय रुपैयाँ र उपमहानगरले दिएको १ हजार गरी उक्त खुत्रुकेमा आमाहरुले २८ सय रुपैयाँ जम्मा गरेका छन्। सो रकम आमा र शिशुको पोषणमा खर्च हुने जनाइएको छ।

आमा र बच्चाको स्वास्थ्य सुधार सँगै पोषिलो खाने बस्तु तयार पारेर खानका लागि उपमहानगरले यो कार्यक्रम लागु गरेको उपप्रमुख न्यौपानेले बताइन्‌। खुत्रुकेमा सरकारले दिएको र आमाले समेत रकम जम्मा गरेर बच्चालाई स्वस्थ बनाउँदै कुपोषणबाट जोगाउने सन्देश दिन यो कार्यक्रम लागु गरिएको उनले जानकारी दिइन्‌।

पोषण परिपूर्तिसँगै रकम बचत गर्ने बानीसमेत विकास गर्न यो बर्षदेखी कार्यक्रम लागु भएको उपमहानगरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.