|

कञ्चनपुर : राष्ट्रपति विद्यादेवी भण्डारी कञ्चनपुरमा जारी शुक्लाफाँटा पर्यटन महोत्सवको विशेष समारोहलाई सम्बोधन गर्न आउने भएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। महोत्सवमा राष्ट्रपति भण्डारी सहभागी कार्यक्रमको सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय प्रशासन आन्तरिक तयारीमा जुटेको छ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले राष्ट्रपतिको सुरक्षार्थ तयारी थालिएको बताए। राष्ट्रपतिको सुरक्षालाई चुस्त-दुरुस्त बनाउका लागि सुरक्षा निकायका सबै इकाइलाई परिचालन गरिएको उनले बताए। राष्ट्रपति भण्डारी भोली (शुक्रबार) कञ्चनपुर आउने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपतिको उपस्थितिमा 'तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव' आयोजक भीमदत्त नगरपालिकाले मझगाउँस्थित विमानस्थलमा विशेष समारोहको आयोजना गर्ने भएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक विमानस्थल मैदानमा आयोजना हुने कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन्‌। नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको बताए।

राष्ट्रपति सहभागी विशेष कार्यक्रमलाई भव्य बनाउन बुधबार सुदूरपश्चिम प्रदेशका सभासद्हरु सहित विभिन्न क्षेत्रका अधिकारीहरुसँग तयारीका लागि छलफल गरिएको छ। छलफलमा सहभागी सबैले राष्ट्रपति सहभागी कार्यक्रमलाई भव्य बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएकी राष्ट्रपति डडेल्धुरा, दार्चुला र बैतडी हुँदै शुक्रबार कञ्चनपुर आउन लागेकी हुन्‌। राष्ट्रपति भण्डारी शुक्रबार दिउँसो १ बजे मझगाउँ विमानस्थलको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.