|

डडेल्धुराः साबिक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै विभागीय टीम एपिएफ क्लब नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

कैलाली हसनपुरस्थित धनगढी रंगशालामा बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाइब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो।

पहिलो चरणमा वाइ पाएर क्वाटरफाइनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा भने एपिएफसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै बाहिरिएको छ। निर्धारित समयमा दुबै टीमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइदा त्यसमा एपिएफ सफल भएको हो।

टाइब्रेकरमा एपीएफका सुदीप शिख्राकार, आशिष लामा, प्रविन स्याङतान र दिनेश राजवंशीले गोल गरे। एपिएफएका नवीन लामाको प्रहारलाई भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाए। पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे। कप्तान भरत शाहको प्रहार पोलमा लागेर गोल हुन सकेन् भने अजित भण्डारीको प्रहारलाई एपिएफका गोलरक्षक रोमन रसाइलीले बचाए।

खेल सकिन केही मिनेट मात्रै बाँकी रहँदा एपिएफले राजु नगरकोटीको सट्टा रोमन रसाइली र पुलिसले सत्रुधन चौधरीको सट्टा रोशन खड्कालाई मैदान छिराएको थियो। एपिएफ खप्तड गोल्डकपको सेमिफाइनल पुग्नुका साथै उसले शहीद स्मारक लिगमा पुलिससँगको हारको बदला पनि लिएको छ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.