|

तनहुँ : दमौलीमा सञ्चालित एक वाइन सपले नक्कली मदिरा विक्री वितरण गर्ने गरेको पाइएको छ। व्यास–४ स्थित तनहुँ वाइन सपको गोदामबाटै नक्कली मदिरा विक्री वितरण गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

उनका अनुसार नक्कली रम विक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुगमन गरिएको हो। नक्कली मदिरा विक्री वितरण हुने गरेको पाएपछि बिहीबार प्रहरी प्रशासन र आन्तरिक राजश्व कार्यालय तनहुँको टोलीले उक्त सपमा शिलबन्दी गरेको छ।

अनुगमनका क्रममा उक्त पसलबाट विक्री गरिएको मदिराको बोतलमा नक्कली स्टिकर भेटिएको आन्तरिक राजश्व कार्यालय तनहुँका कर अधिकृत एवं सूचना अधिकारी मोहन रमण त्रिपाठीले जानकारी दिए। उक्त पसल गोदामबाट विक्री हुँदै आएको मदिरामा नक्कली स्टिकर टाँसिएको पाइएको त्रिपाठीले बताए।

उनका अनुसार उक्त पसलबाट ८ काटुन र सोही पसलबाट ३० वटा रमका बोतल बरामत गरिएको छ। उनले भने, ‘बरामत गरिएको मदिरा ल्याव टेष्टका लागि भन्सार विभाग काठमाडौं पठाइनेछ।’

सो पसलले नक्कली मदिरा रम विक्री गरेको सूचना आएपछि बिहीबार वाइन सप शिलबन्दी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। उनले पसल शिलबन्दी गरी आन्तरिक राजश्व कार्यालय तनहुँलाई बुझाइएको जानकारी दिए।

उक्त वाइन सपसँगै जिल्लाका केही रक्सी पसलमा समेत अवैध र नक्कली मदिरा विक्री वितरण हुने गरेको भन्दै उपभोक्ताकर्मीले रक्सी पसल अनुगमन गर्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.