'सरकारलाई अप्ठ्यारो पर्दा नेताले काखी बजाए, पत्रकार धुरुधुरु रोए'

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा अन्य नेताहरुले एक्ल्याउने प्रयास भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सरकारको बचाउमा उत्रिएका छन्। सचिवालय बैठकमा नेताहरुले घेराबन्दी गरे‍र एक्ल्याउन खोजेको भन्दै रुष्ट ओलीले बिहीबार नेकपाको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरकारको खुलेर बचाउ गरे। 

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित कार्यक्रममा एक घण्टा लामो सम्बोधन गर्दै सेक्युरिटी प्रिन्टरको कमिसन प्रकरणको अडियो बाहिरिएपछि राजीनामा दिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको पनि ओलीले बचाउ गरे।

उनले आफ्नो जन्मघर गएर जन्मदिन मनाएको कुरा पत्रकारलाई नपचेको भन्दै कटाक्ष गरे। ओलीले सबै गाउँले भेला भएर आफ्नो जन्मदिनको उत्सव मनाउँदा पत्रकारहरु भने समाचारमा धुरुधुरु रोएको गुनासो गरे।

ओलीका सन्देश

मिर्गौला फेर्दैछु

प्रधानमन्त्री ओलीले कार्यकर्तालाई सम्बोधनका क्रममा केही दिनमा नै मिर्गौला प्रत्यारोपण गराउने जानकारी दिए। १३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरेको मिर्गौलाले गत कात्तिकबाट प्राकृतिकरुपमा काम गर्न छाडेपछि नियमित डायलाइसिसमा रहेका ओलीले यस्तो बताएका हुन्। 

ओलीले सम्बोधनका क्रममा मिर्गौला प्रत्यारोपण गरेपछि उत्तिकै सक्रियताका साथ सरकारको काममा लाग्ने जानकारी दिए। 'अहिले म दैनिक १७/१८ घन्टा काम गरिरहेको छु। केही दिनमै मिर्गौला फेर्दैछु', उनले भने, 'मिर्गौला फेरेपछि मेरो सक्रियता घट्ने छैन। पाँचौं दिनसम्म बिरामी भएर अस्पतालमा बसे पनि छैटौं दिन काममा फर्किजान्छु।’

उनले आफ्नो दुई वर्षे कार्यकालमा धेरै काम गरेको पनि स्पष्टीकरण दिए। देशमा विकासको लहर नै ल्याएको तर्क उनले गरे। 'तुइन हटाएर पुल निर्माण गरिएको छ। कयौँ हजार किमी कालोपत्रे सडक बने', उनले भने, 'सडकका बालबालिका, रोगी र अशक्तलाई संरक्षण गरेर राखेका छौं। दुई वर्षमा यो भन्दा बढी कति विकास चाहिएको हो?,’

गोकुल दोषी होइनन्

ओलीले तत्कालीन सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीबाट कमिसन खाएको प्रमाणित नभएको बताएका छन्। उनले बाँस्कोटामाथि कमिसनको आरोप लागेकाले उनले पद छाडेर छानबिनका लागि बाटो खोलिदिएको पनि बताए।

'गोकुल बाँस्कोटाले कमिसन खाएको प्रमाणित छैन। स्वीसवाला कम्पनीले पनि होइन भनेको छ। कमिसनको बार्गेनिङ गरेका विजयप्रकाश मिश्र पनि आफूहरुको एजेन्ट नभएको दूतावासले भनिसकेको छ', उनले भने, 'आफ्नो नाममा बात लागेकाले उनले राजीनामा गरेको हो। भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर अशिष्ट टिप्पणी गरियो। दोष अनुसारको सजाय भोग्छन् गोकुलले तर अहिले उनीमाथि आरोप पनि छैन, मुद्दा पानि चल‍ेको छैन।'

उजुरीको अर्थ छैन

ओलीले २७ अर्ब रुपैयाँ पर्ने सेक्युरिटी प्रिन्टर खरिद प्रकरणमा आफूविरुद्ध पनि भ्रष्टाचार मुद्दा परेकोमा खिसीट्युरी गरे। उनले सेक्युरिटी प्रिन्टर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै आफूविरुद्ध पनि अख्तियारमा उजुरी परेको प्रसंग कोट्याए। 'मेरो पनि नाममा उजुरी हालेको रहेछ अख्तियारमा', उनले भने, 'त्यो उजुरी काम नलाग्‍ने पत्रु उजुरी हो भन्‍ने स्वत:सिद्ध भएको छ।

पार्टीमै काखी बजाए

ओलीले आफूमाथि केही दिनयता पार्टीमा भइरहेको घेराबन्दीको प्रतिवाद गरे। उनले सरकारमाथि झुटो आरोप लाग्दा पार्टीकै नेताहरुले ताली पिटेको गुनासो गरे।

सरकारमाथि झुटो आरोप लागिरहँदा पार्टीकै नेताहरुले काखी बजाइरहेको उनको तर्क थियो। ओलीले यसो भनिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मञ्चमै थिए।

'सरकारविरुद्ध झुटो आरोप लाग्दा पनि हाम्रा साथीहरु काखी बजाएर मजा लिन्छन्', उनले भने, 'भ्रष्ट भेटियो भने अनुहार नहेरी कारवाही गर्छु भनेको छु, कारवाही हुन्छ, ढुक्क हुनुस्।'

ओलीले जनताले सरकारको प्रशंसा गरिरहँदा पार्टी भित्रै देवत्वकरण गरियो भन्दै आलोचना गरिएको गुनासो गरे। 'जनताले मेरो प्रशंसा गर्दा पार्टी भित्रै देवत्वकरण गरियो भनेर आलोचना भयो', उनले भने, 'जनताले अलिकति राम्रो गरेको छ है भन्दा पार्टीमा खेद्‍ने काम भयो।'

पत्रकार धुरुधुरु रोए

प्रधानमन्त्री ओलीले आफु जन्मदिन मनाउन जन्मथलो तेह्रथुम जाँदा त्यहाँका जनता खुसी भएको तर पत्रकार रोएको बताएका छन्।

आफूले जन्मथलो जाँदा कयौँ विकासको कार्यक्रम लगेको स्मरण गर्दै ओलीले केकको कुरा मात्रै उछालेकोमा आपत्ति जनाए । पुस्तौंदेखि काकाकुल पाँचथरको यासोक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलान्यास गर्दा जनता खुसी भएको उनले सुनाए। ‘ती गाउँमा तीन हजार तीन सय ४३ परिवारलाई पुग्ने खानेपानी आयोजना उद्घाट गर्दा जनता खुशी भए', उनले भने, 'तर जनता खुसी भएको देखेर पत्रकारहरु भने धुरुधुरु रोए।’

उनले आफ्नो जन्मदिनमा केक काटिँदा पत्रकारहरुले देखिनसहेको पनि गुनासो गरे। 'मेरो जन्मदिन पनि परेकाले जन्मघरमै केक काटियो, जनतासँगै केक बाँडियो’, उनले भने,  ‘तर मेरो जन्मदिनको केक जनताले खाएको पत्रकारले देख्ने सकेनन्।’

आफ्नो जन्मदिनमा बालबालिकालाई कपी कलम र वृद्धवृद्धलाई लुगा बाँडेको पत्रकारले नदेखेको भन्दै ओलीले आक्रोश पोखे। 'पत्रकारले त्यो कार्यक्रममा स्थानीय जनताले कति रकमको भात खाए ? भन्‍ने हिसाब गरे', उनले भने, 'पत्रकारहरुले विकास देखेनन्, जनताले भात खाएको देखे, त्यसकै हिसाब गरे।'

अझै १५ वर्ष काम गर्छु

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेपछि अझै सक्रिय जीवन बिताउने पनि सन्देश दिए। केही साताअघि सम्पादकहरुसँगको भेटमा भएकै कुरा दोहोर्‍याउँदै उनले अझै १५/२० वर्ष सक्रिय भएर काम गर्ने प्रष्टीकरण दिए। 

'अब चाँडै मिर्गौला प्रत्यारोपण गर्छु। सकेसम्म स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्छु', उनले भने, 'मान्छे को पो बिरामी हुँदैन र! म पनि बिरामी छु, बिरामी हुँदा पनि काम गरिरहेको छु।'

पार्टी विनाशतिर 

अध्यक्ष ओलीले पार्टीभित्रको अहिलेको विवादले विनाश ल्याउने पनि उल्लेख गरे। 'पार्टीभित्र मतभेद खोज्दै जाने हो भने विनाशको बाटोतिर जान्छौं हामी', उनले भने, 'कम्युनिस्ट आन्दोलनको विभिन्‍न कालखण्डमा वैचारिक बहस गरिरहँदा विभाजनको बाटो लिएको इतिहास हेरौँ।'

पार्टीको बहस देशलाई केन्द्रमा राखेर गर्नुपर्ने उनले बताए। 'बहस गरिरहँदा व्यक्ति केन्द्रित हुनु भएन। अहिले पनि कसैलाई अध्यक्ष, उपाध्यक्ष, पत्‍नीलाई महिला विभाग प्रमुख, छोरालाई युवा संगठनको प्रमुख बनाइयो तर देशले के पायो?', उनले प्रश्‍न गरे, 'वैचारिक शुद्धता भन्दै गरिने बहस र संघर्षले देशलाई के फाइदा मिल्यो, जनताले के पाए त?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.