जनप्रतिनिधिको बदमासीको घटनामा कांग्रेसको बचाउ

|

बारा : बाराको घटनाबारे नेपाली कांग्रेस र समाजवादी पार्टीका सासंदको जुहारी चलेको छ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले दुर्व्यवहार गरेपछि भएका झडपको विषयमा कांग्रेस र समाजवादी पार्टीका सासंदले एकअर्काविरुद्ध कार्वाहीको माग गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बाराको जनप्रतिनिधिको बदमासीको विषयमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले बचाउ गरेको छ। संसद बैठकको शून्य समयमा नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले कांग्रेसबाट निर्वाचित नगर प्रमुख यादवविरुद्ध सत्तापक्ष र समाजवादी पार्टीले राजनीति गरेको आरोप लगाइन्।

नगर प्रमुख यादवले नाला निर्माणको विषयमा प्रतिक्रिया लिएर भिडियो फेसबुकमा प्रकाशन गरेको विषयमा स्थानीय युवा मुकेश महतोका बुवा हरिनारायण महतोलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आलोचना भइरहेको छ।

त्यसको विरोधमा प्रशासनमा उजुरी दर्ता गर्न पुगेपछि आक्रोशित नगर प्रमुख यादवको निर्देशनमा नगर प्रहरीले पक्राउ गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो। त्यसपछि प्रहरीमा आठजनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरिएको छ भने एकजना पक्राउ परेका छन्।

प्रशासनले नगर प्रमुख यादवविरुद्ध मुद्दा दर्ता नगरेको भन्दै मुद्दा दर्ता गरि कार्वाही गर्न सासंद रामसहाय यादवले प्रतिनिधिसभाको बैठकमा बुधबार आवाज उठाएका थिए। त्यसको एक दिनपछि कांग्रेस सांसद भुषालले सांसद यादवले घटनाबारे भ्रम छर्न खोजेको आरोप लगाइन्।

उनले बाराको महागढीमाई नगरपालिका बरियारपुरको घटनामा प्रहरी मुकदर्शक भई घटनाको प्रकृतिविना ज्यान उद्योगमा मुद्दा दर्ता गरेको बताइन्। उनले सांसद यादवले प्रतिनिधिसभा आवाज उठाई घटनालाई बंग्याएर सरकारलाई भ्रम पार्न खोजी साइबर माफियालाई उम्काउन खोजेको बताइन्।

जिल्ला हुँदै संसदमा पुग्यो घटना

घटनापछि जिल्लामा कांग्रेस र समाजवादी पार्टीले बेग्लाबेग्लै जुलुस निकाल्दै एकअर्काविरुद्ध उजुरी दर्ता गराएका थिए। नगर प्रमुख यादवविरुद्ध समाजवादीका सांसदसहित प्रशासन पुगेका थिए भने कांग्रेस जिल्ला सभापतिसहित नगर प्रमुख प्रशासनमा कार्वाहीको माग गर्न पुगेका थिए। जिल्लामा सीमित घटनालाई सांसद यादवले संघीय सांसदमा प्रवेश गराएका थिए।

यता, घटनालाई लिएर कांग्रेस बाराले चरणबद्ध आन्दोलनमा उत्रने भएको छ। कांग्रेस बाराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जाहेरी दर्ता नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेललाई बिहीबार ज्ञापनपत्र बुझाउँदै आन्दोलनमा उत्रने जनाएको हो। प्रहरीमा दिएको जाहेरीलाई जिल्ला प्रहरी कार्यालय बाराले दर्ता नगरेको भन्दै तीन दिनभित्र मुद्दा दर्ता नगरे आन्दोलनमा उत्रिने चेतावनी कांग्रेसले दिएको हो।

सरकारको जवाफ खोइ

संसदमा कुरा उठे पनि सरकारले भने जवाफ दिएको छैन। घटनालाई लिएर प्रहरीको भूमिकाबारे आलोचना भइरहेको छ। एउटा पक्षले घटनाको प्रकृति नहेरी सत्ताको आडमा मुद्दा दर्ता गरेको आरोप लगाएको छ भने अर्को पक्षले नगर प्रमुख यादवविरुद्ध मुद्दा दर्ता नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

कर्मचारी आन्दोलित

झडपमा नगरपालिकाका सवारी चालक घाइते भएको र एकजनालाई प्रहरीले पक्राउ गरेको विरोधमा कर्मचारी आन्दोलित भएका छन्। आन्दोलनका कार्यक्रम घोषणा गरेका कर्मचारी हातको कालो पट्टी बाधेर काम गरिरहेका छन्।

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन महागढीमाई नगरपालिका इकाई बाराको आह्वानमा नगरपालिकाका कर्मचारीहरू धर्ना दिएका छन्।

चरणबद्ध आन्दोलनअन्तर्गत नगरपालकाको कामकाज ठप्प पार्दै दुई घण्टा धर्ना दिएका हुन्। नगरपालिकाको कार्यालयमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि दुई घण्टा धर्ना दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.