ओलीलाई सोधिन् : नेपाल भनेकी आमा हुन्, कसरी चिराचिरा पार्नु भयो?

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सा राखेर केक काटेको प्रशंगमा शाक्यले जन्मदिन मनाउने परम्परा नेपाली समाजमा भएपनि केक काटेर मनाउने कुरा अहिले सम्म आफुलाई थाहा नभएको बताएकी हुन्। 

नेकपाको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा उनले जन्मदिनमा केक काट्नुको सट्टा बत्ती बालेर उज्यालो भविष्यको कामना गर्नु नेपाली संस्कृति भएको बताइन्। 

‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन। होइन कामरेड!', उनले भनिन्, 'त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो। नेपाल भनेको आमा हो। मैले यति मात्रै भन्न चाहेँ।’ 

केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उनले आग्रह गरिन्। 

भिडियो

‘तपाईँलाई काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला। बत्ती ननिभाइ दिनुहोला। बत्ती बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो। जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति गर्‍यौं भनेर देखाउने कुरा हो। त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ती बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजी गरौँ’, उनले भनिन्।

व्यक्ति जोसुकै भएपनि नेपाली संस्कार र सोचहरु सामन्ति चिन्तन र गलत ढंगबाट विकसित भएको उनले बताइन्। उनले सत्तामा पुगेपछि जनताको चाहाना पूरा गर्नै पर्ने बताइन्।

जनताको भवना आत्मसाथ गर्न नसके सत्तामा बसेर नेतृत्व गरेको अर्थ के? भन्दै उनले प्रश्न गरिन्। सामन्ति व्यवस्था, राजतन्त्र ढालेर गणतन्त्रमा भएपनि सोच, कार्यशैली र व्यवहार सामन्ति चिन्तन र सामन्ती अवशेषबाट ग्रसित रहेको उनले बताइन्।

‘किन परिवर्तन हुन सकेनौँ। किन गणतन्त्रको नेता बन्न सकिएको छैन। किन संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन। यसो भन्दा धेरै भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छ', उनले भनिन्, 'धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु।’ 

उनले सामन्ती राजतन्त्रलाई ढालेर नेतृत्वमा आएपछि सामन्ती चिन्तन खोजेर निर्मुल गर्ने की नगर्ने? भन्दै प्रश्न गरिन्। 'सांस्कृति विचलन सुरु भएको छ। नैतिक धरातल कमजोर भएको छ। हाम्रो नैतिक धरालत कमजोर भएको छ,’ उनले थपिन्। 

शाक्यले सत्तामा बसेर अनेक चलखेल गर्ने काम भएको भन्दै उनले आपत्तिसमेत जनाइन्। ‘सत्तामा बसेर अनेकौँ चलखेल गर्ने कामतिर हामी लाग्छौँ। लेनदेनको चलखेल भित्र लाग्छौँ', उनले भनिन्, 'किन यस्तो भइरहेको छ। बुझ्न सकिएको छैन। जनताले यस्तो चाहेको होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.