|

बाग्लुङ : बाग्लुङ नगरपालिकाका पाँच विद्यालयमा ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम’ सञ्चालनमा आएको छ। 

नेपाल सरकारको स्वास्थ्य महाशाखा नर्सिङ विभागले चालु आर्थिक वर्षमा पाइलट परियोजनाका रुपमा बाग्लुङ नगरपालिकाका पाँच विद्यालयमा कार्यक्रम सञ्चालनमा ल्याएको हो। 

बिहीबार बाग्लुङ नगरपालिका, सम्बन्धित विद्यालय र महाशाखाका प्रतिनिधिहरुबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार महाशाखाले बनाएको कार्यविधिमा रहेर बाग्लुङ नगरपालिकाले पाँच विद्यालयका लागि एक एक जना नर्स उपलव्ध गराउने छ। प्रत्येक विद्यालयमा एकजना नर्सको पारिश्रमिकसहित उनीहरुको तालिमको व्यवस्था महाशाखाले गर्नेछ भने विद्यालयले उनीहरुको परिचालन गर्ने उल्लेख छ। 

नेपाल सरकारले पूर्ण स्वस्थ्य नागरिक बनाउनका लागि संवैधानिक व्यवस्था भए अनुरुप यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। विषेशतः विद्यालयमा रहेका छात्राहरुमा महिनावारीको समयमा हुने समस्या, प्रजनन स्वास्थ्य, लागुऔषध तथा अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा विद्यार्थीलाई सचेत गराउँदै जीवन पद्धतिमै सुधार ल्याउन भन्दै कार्यक्रम सुरु गरिएको महाशाखाकी अस्पताल नर्सिङ प्रशासक बाला राईले बताइन्।

यो कार्यक्रम विद्यामन्दिर, रुद्रेपिपल, गणेश, बौडेचौर र तितौरे माध्यमिक विद्यालयमा सुरु भएको हो। विद्यार्थी संख्या, स्वास्थ्य संस्थाको पहुँच र दुर्गमतालगायतका आधार बनाएर विद्यालय छनोट गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए। ‘यो सरकारले ल्याएको राम्रो कार्यक्रम हो, सहकार्यमा यसलाई उपलब्धिमुलक बनाउँछौं,’ प्रमुख पौडेलले भने, ‘नमुनाका रुपमा केही विद्यालयमा सञ्चालनमा आएको भए पनि सबै विद्यालयमा कार्यक्रम पु¥याउने लक्ष्य छ।’

कार्यक्रम सञ्चालनका लागि नगरस्तरमा उपप्रमुखको संयोजकत्वमा समन्वय समिति र विद्यालयमा प्रधानाध्यापकको नेतृत्वमा शिक्षिका र विद्यार्थीको सहभागितामा विद्यालय समन्वय समिति बन्नेछ। 

महाशाखाकी प्रशासक राईले भनिन्, ‘सामान्य चोटपटकको उपचारदेखि सचेतना कार्यक्रम सञ्चालनसम्मको दायित्व नर्सहरुमा हुन्छ।’ सबै

प्रदेश १ र बाग्मती प्रदेश सरकारले आफ्नै कार्यक्रमको रुपमा थालनी गरिसकेको छ। प्रदेश २ ले तयारी गरेको राईको बताइन्। गण्डकी प्रदेशमा भने बाग्लुङमा पहिलोपटक कार्यक्रम सञ्चालनमा आएको हो। चालु वर्षका लागि महाशाखाले नर्सको तलब, औषधि र व्यवस्थापकीय खर्च समेत दिनेछ। अर्को वर्षदेखि स्थानीय तहले आफ्नै कार्यक्रमको रुपमा यो योजना लैजाने गरी प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको राईले बताइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.