भन्छन् : मलाई भाग्यमा होइन, मिहिनेतमा विश्वास लाग्छ

|

काठमाडौं :  फरक फरक पात्रबारे फरक फरक व्यंग्य सुनाएर कमेडी च्याम्पियनबाट चर्चामा आएका हुन् सुमन कोइराला। थाहा छैन कमेडी च्याम्पियनले दिएको चर्चा कति दिन टिक्छ, तर यसैको आडमा अबको यात्रा तय गर्ने सोचमा छन् उनी।

कमेडी च्याम्पियनबाट 'दले दाइ' का रुपमा हिट भएका उनले कुनै बेला रेडियोमा काम गरे। टेलिभिजनको अनुभव बटुले। तर यी दुवै 'प्लेटफर्म'बाट भन्दा  कमेडी च्याम्पियनबाटू चर्चाको ग्राफ उचाईमा पुग्यो। 'सधैं यही लोकप्रियता रहिरहन्छ भन्ने मलाई लाग्दैन', उनले सुनाए, 'लोकप्रियता कमाएर त्यसमै टिकिरहन पनि सक्दो मिहिनेत गर्नुको विकल्प मसँग छैन।'

उनी ठान्छन्-'कला भनेको परिवर्तनको संवाहक हो।' कलाका माध्यमबाट समाजका बेथितिविरुद्ध आवाज उठाउन सकिन्छ। 'समस्या बढेको समाज, बिग्रिएको राजनीतिक नेतृत्व र उनीहरूको काममा प्रश्न नउठाएर हामी उल्झनमा फसेका हौं,' निकै परिपक्व शैलीमा कोइराला भन्छन्‌, 'मैले निभाएको चरित्रले समाजको बेथिति र बिग्रेको राजनीति माथि प्रश्न गरिरहेको छ।' हाँस्यव्यग्यको माध्यमबाट देशको बेथितिविरुद्ध प्रश्न सोध्न नछाड्ने उनले बताए। 

नेपालका विभिन्न भूगोलबाट आएका प्रतिष्पर्धीमध्ये कोइराला फाइनलका लागि छानिएका छन्। उपाधि नजिक रहेका उनी विजयी नै हुने दाबी गर्दैनन्। भन्छन्, 'तीनैजना आ-आफ्नो क्षमता र फरकफरक शैलीका छौं, हामी सबैले दर्शकलाई मनोरञ्जन नै दिइरहेका हौं, दर्शकले जसलाई धेरै भोट दिनुहुन्छ-उसले नै उपाधि जित्ने हो।'

सुमन कमेडी च्याम्पियनबाट बाहिरिसकेका थिए। तर 'वाइल्डकार्ड' बाट पुन: फर्किए। यो मानेमा उनी आफूलाई भाग्यमानी ठान्छन् त? 'मलाई भाग्यमा विश्वास छैन, म मिहिनेतमा विश्वास गर्छु, मेरो प्रस्तुती र मिहिनेतले नै कमेडी च्याम्पियनमा छानिएर यहाँसम्म आएँ,' उनी सगौरव सुनाउँछन्।

कमेडी च्याम्पियनबाट एक पटक बाहिरिएका उनले हार मानेका थिएनन्। चुप लागेर हार स्वीकार्दै पुरानै जागिरमा फर्किएन्। एक पटक बाहिरिए पनि कमेडीमा नै केही गर्छु भन्‍ने अठोट गरिसकेका थिए। प्रतिस्पर्धााबाट बाहिरिँदा पनि कमेडीमा भविष्य खोज्छु भनेर उनले हिम्मत जुटाए, अनि चुनौतीलाई पनि स्वीकार गरे। तर उनको मनले हार मानेन। हार नस्वीकारेका उनको मिहिनेतको प्रतिफल नै 'वाइल्डकार्ड' हो, त्यसैले आज उनी शीर्ष तीनमा आइपुगेका छन्। यो यात्रा उनका लागि उपाधि जिते जस्तै हो। 

डेढ वर्षअघिको कुरा हो-उनी कलाकार बन्ने सपना बोकेर काठमाडौं आए। कलाकार बन्ने भूतसँगै राजधानी छिरेका सुमनले यति चाँडै दर्शकमाझ छाउँछु भन्‍ने सोचेकै थिएनन्। अहिले जे भयो-नसोचेको भयो।

छोटो समयमा उनी एउटा लोभलाग्दो सफलता नजिक पुगेका छन्। अर्थात कमेडी च्याम्पियनका 'दले दाइ' उपाधि नजिक छन्। आफूले गरेको मिहिनेत ठूलो नभएको उनको अनुभव छ। उनी भन्छन्, 'कलाकारितामा स्थापित हुन धेरै समय लाग्छ, म सुरूवाती यात्रामा छु, कमेडीको यात्राबाट पाइला मोडिएनन् भने कुनै दिन यसमै स्थापित हुने विश्वास अब बढेको छ।'

कमेडी च्याम्पियनमा आउनुअघि र अहिले खास फरक भेट्टाउँदैनन उनी। जीवनको यात्रा उही छ। मात्र केही व्यक्तिको माया थपिएको छ। कयौँ व्यक्तिको आँखामा बस्न सफल भएका छन्।  उनी खिस्स हाँस्दै भन्छन्, 'धेरैले मलाई माया गर्नुहुन्छ, माया पाउनु ठूलो कुरा हो, यो मानेमा म आफूलाई भाग्यमानी सम्झन्छु।'

उनले अझै पनि हास्यव्यंग्यको गहिराई बुझ्न नसकेको सजिलै स्वीकारे। जोक सुनाउनु, कसैको क्यारिकेचर गर्नु र दर्शकलाई हँसाउनु मात्र हास्यव्यंग्य होला भन्ने लाग्थ्यो उनलाई। 'हास्यव्यंग्य भनेको सिर्जना  रहेछ, विषयवस्तुको चयन, प्रस्तुती, कलात्मकता र हाँस्यरसको मिश्रण रहेछ नी!, उनले मुस्काउँदै सुनाए।

रेडियो र टेलिभिजनमा पनि काम गरेको अनुभव छ उनीसँग। उनको प्रस्तुतीमा देखिएको 'कन्फिडेन्स' यिनकै प्रतिफल हो। आमसञ्चारको दुनियाँमा रमाएको एउटा युवा कमेडीको मैदानमा उत्रिएको छ, अब उनीका अघि छोटो समयमा बनाएको परिचयलाई टिकाइराख्नुपर्ने चुनौतीको पहाड छ।

कलाकारिता उनको आफ्नै मनोकांक्षा हो। जब यो विधालाई उनले लक्ष्य निर्धारण गरे, त्यसछि कयौं अग्रजहरूको जीवन पढे। अध्ययनको दायरा फराकिलो हुँदै जाँदा कलाकारिताको भोक झन् जाग्दै गयो उनलाई। उनको लक्ष्य र रहरलाई बुवा आमाले पनि 'होस्टेमा हैंसे' गरिदिए। 

'शोख पूरा गर्ने नाममा मैले बुवा आमाको आशा मर्न दिइनँ, दर्शकका लागि म कुनै दिन चर्चित र क्षमतावान कलाकार बनौला रे, तर बुवाआमाका लागि असल सन्तान हुन सकिनँ भने मेरो उपलब्धि केका लागि?' उनले आफैँलाई सजिलै प्रतिप्रश्न गर्छन्‌।

१६ वर्षको हुँदै रेडियोमा जागिर खाएर आफूले आफैंलाई पाल्न सक्ने अवस्थामा पुर्‍याए उनले। २१ वर्षको उमेरमा टेलिभिजनको स्टेशन म्यानेजर पनि भए। 'इभेन्ट म्यानेज'को काम पनि सिकिसकेका थिए। यी र यस्तै कामले बुवाआमालाई गर्व गर्न सक्ने बनाएको उनले सुनाए। सानैदेखि छोराको संघर्ष देखेर बुवाआमाले उनको लक्ष्य र रहरलाई मर्न दिएनन्, छोराको सपनामाथि आफ्ना सपना लादेनन्। उनका लक्ष्यमा सारथी बनिदिए। जसले गर्दा कलाकारिताको यात्रा सहज भएको बताउँछन् सुमन। 

भोजपुरको दावाँमा जन्मिएका सुमनले इटहरीमा काम गरे, त्यहीँ बसेर आफूमा आत्मविश्वास भरे। इटहरीमा काम गर्दागर्दै उनले डेढ वर्षअघि काठमाडौंतर्फ पाइला नापे। काठमाडौं छिरेपछि आफ्ना सपना र पेटबीच पौंठेजोरी खेले, गुजारा चलाउन जागिर खाए। 

अब उनको लक्ष्य फेरिएको छ। उनको एउटै गन्तव्य हो-कलाकारिता। उनको जीवनको लक्ष्य हो-हाँस्यव्यंग्य। कलाकारितालाई समाजले फरक दृष्टिकोणले हेर्छ भन्ने अनुभव उनीसँग छ। तर नेपालका कयौं अग्रजलाई समाजले हेर्ने दृष्टिकोणबाट उनी प्रभावित छन्।

सिर्जनशील व्यक्तिलाई समाजले स्विकार्छ। तर समाजमा आफ्नो व्यक्तित्व विकासको क्रमले महत्वपूर्ण अर्थ राख्छ। परिचय असल छ भने उसले गरेको राम्रो कामलाई स्वीकार गर्न समाजले लोभ गर्छ भन्ने आफूलाई नलाग्ने बुझाई छ उनको। 

सुमन थप्छन्, 'यहाँ कलाकारितामा लागेर समाजमा सम्मानित भएका कयौं व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले अभिनय मात्रै गरेर सम्मानित हुनु भएको होइन, व्यक्तित्वका कारण समाजमा उहाँहरूको उपस्थिति सम्मानजनक भएकाले हो।' 

पछिल्लो समय नेपालमा 'रियालिटी शो' थपिने क्रम जारी छ। जहाँ भोटको कारोबार हुने गर्दछ। भोटले नै जीतको आधार सुनिश्चित गर्ने गर्छ। पछिल्ला यस्ता शो हरुमा प्रतिष्पर्धी स्वयम्‌ले उपाधि जित्न आफैँ लगानी गर्ने गरेको आरोप लागिरहेको छ। तर उपाधि जितेपछि पछि ऋण तिर्न नसकेको भन्दै रुवाबासी हुन्छ। यो प्रवृत्ति बढ्दै गएको छ।

यसबारेमा उनले बोलिहाले, 'मैले आजसम्म कसैसँग ऋण मागेको छैन, ऋण खोजेर आफैँले आफैँलाई भोट हाल्नु र भोट किनेर उपाधि जित्नु नैतिकताले दिँदैन पनि, मलाई उपाधि जितेको हेर्न चाहनेले भोट हाल्नुहुन्छ, उपाधिकै लागि म आफैँ र आफन्तलाई ऋणको भारी बोकाउन चाहन्‍न।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.