|

पर्वत : नेपाल सरकारले प्रदान गर्ने लक्षित छात्रवृत्तिमा विद्यार्थीले भर्ने फाराम बुझाउने समयमा थप गरिएको छ। विद्यार्थी वित्तीय सहयोग कोष समितिले गत माघ १६ गते सूचना प्रकाशन गरी माघ मसान्तसम्म अनलाइनमार्फत फारामहरू पेस गरिसक्ने भनिएको भए पनि तोकिएको समयमा विद्यालयहरूबाट अनलाइन रजिस्टर नभएका कारण पुन म्याद थप गरिएको हो।

समितिका प्रशासकीय अधिकृत कलावती विष्‍टका अनुसार माघ मसान्तसम्म फाराम रजिस्टर नगरेका सामुदायिक विद्यालयहरूले आउँदो चैत्र २० गतेसम्ममा फारामहरूको अनलाइन इन्ट्री गरिसकेको हुनुपर्नेछ। थप गरिएको समयमा पनि छात्रवृत्तिका लागि फारामहरू नभरेमा सरकारले लक्षित विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्ति पाउनबाट विद्यार्थीहरू वञ्चित हुनेछन्।

कक्षा ८ वा १२ सम्म कक्षा सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरू, नियमितरूपमा सरकारी अनुदान प्राप्त गरिरहेका परम्परागत विद्यालयहरू र मदरसाहरूले फाराम भरेर छात्रवृत्तिका लागि आफ्ना विवरणहरू पेस गर्न सक्नेछन्।

यस छात्रवृत्तिमा छनोटमा परेका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ९ मा र कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा मात्र छात्रवृत्तिको रकम आफ्नो खातामा सिधै पाउनेछन्। छनोटमा परेका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले वार्षिक रूपमा ६ हजार रुपैयाँ तथा कक्षा ११ र १२ मा विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले वार्षिक २४ हजार रुपैयाँ र अन्य सङ्कायमा अध्ययनरत विद्यार्थीले वार्षिक १८ हजार रुपैयाँ छात्रवृत्ति स्वरूप आउनेछन्।

विपन्न लक्षित छात्रवृत्तिका लागि चाहिने पिएमटी एक्सेल अनलाइन इन्ट्रीका लागि विद्यालयहरूले www.iemis.doe.gov.np मा लग इन गरेर फाइल डाउनलोड गर्न सकिनेछ। यस बारेमा थप जानकारीको लागि www.sfafdb.edu.np मा राखिएको पनि समितिले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.