|
गोरखा नगरपालिका र भीमसेनथापा गाउँबाट संकलन गरेर मकवानपुर लैजाँदै गरिएका गाईगोरु

गोरखा : बुधबार बिहान करिब १० बजे गोरखाबाट लक्ष्मी चौपाया सप्लायर्सले ४२ वटा गाईगोरु मकवानपुर लग्यो। सप्लायर्सले ना७ख ९४६३ र ना८ख ८२८४ नम्‍बरको दुईवटा ट्रकमा राखी गाईगोरु मकवानपुरको चिसापानी लगेको हो।

उक्त सप्लायर्सले गोरखा नगरपालिका र भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबाट संकलन गरी मकवानपुर लगेको हो। पशु स्वास्थ्यकर्मी जीवन पोखरेलसँग पशुस्वास्थ्य चेकजाँच प्रमाणपत्र बनाएर ‘जोत्ने’ प्रयोगजनका लागि भन्दै ओसारपसार गरेका हुन्।

कागजपत्र दुरुस्त बनाई गाईगोरु निकासी भएको यो पहिलो घटना भने होइन। गोरखाबाट दिनहुँजसो गाईगोरु ओसार्ने गरेको व्यवसायीहरू स्वीकार गर्छन्। विभिन्न ग्रामीण क्षेत्रबाट बिनारोकटोक ट्रकमा राखी दर्जनौं गाईगोरु निकासी हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ। गलत प्रयोजनका लागि लगेपनि उनीहरूले कागजात भने दुरुस्त बनाउने गरेको भेटिन्छ।

थुनछेक गर्ने निकाय छैन

गोरखाका ११ वटै स्थानीय तहबाट गाई तथा गोरु संकलन गरी मकवानपुरसम्मका लागि कागपत्र बनाएर लैजाने गरेको सो काममा खटिएका व्यवसायीहरू बताउँछन्। ‘हामीले गोरखाबाट गाईगोरु लैजान थालेको तीन बर्ष भयो’, लक्ष्मी चौपाया सप्लायर्सका भीम लामा भन्छन्, ‘अहिले गोरु खोज्नका लागि गाउँगाउँमा टन्नै मान्छेहरू छन्।’ गोरुका लागि पैसा तिरे पनि गाउँलेले गाई सित्तैमा भिडाइदिने गरेको उनले बताए।

जोत्ने बहानामा लगे पनि गाईगोरु कहाँ पुर्‍याइन्छ भन्नेबारे व्यवसायीहरूसँग प्रष्ट जवाफ छैन। दिउँसै खुल्लमखुल्ला गाईगोरु निकासी भए पनि थुनछेक गर्ने निकाय छैन।

गाईगोरु ओसारपसार रोक्न कुनै कानून नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताउँछन्। ‘सुरक्षाको कारण देखाएर प्रहरीले चेकजाँच गर्न सक्छ तर रोक्न कुनै अधिकार छैन’, प्रजिअ पौडेल भन्छन्, ‘अन्तरदेशीय निकासी पैठारी पशु सेवा कार्यालयले हेर्छ। देशभित्र ओसार्नका लागि रोक्ने कुनै कानुन छैन।’

पशुको स्वास्थ्य जाँच्‍ने मात्रै अधिकार

गाईगोरु ओसारपसार नियन्त्रण गर्ने अधिकार आफूहरूलाई पनि नभएको भेटरीनरी अस्पताल तथा पशु स्वास्थ्य  विज्ञ केन्द्रका प्रमुख इन्द्रबहादुर भट्ट बताउँछन्। ‘यहाँबाट जोत्नका लागि भनेर मकवानपुर पुर्‍याउँछन्।

स्वदेशभित्र ओसारपसार कुनै ऐन कानुनले रोक्दैन’, उनी भन्छन्, ‘त्यहाँबाट सेटिङ मिलाएर बङ्गलादेश पुर्‍याउँछन्।’ ओसार्न लागिएको पशु स्वस्थ छ कि छैन भन्ने हेर्ने मात्रै आफूहरूको अधिकार भएको उनले बताए।

केही समयअघि पालुङ्टारबाट ओसार्दै गरेको गाईगोरु नयाँपुलमा रोक्दा सर्वोच्च अदालत, गृहमन्त्रालय, क्षेत्रीय प्रशासन, जिल्ला प्रशासन सबैतिरबाट तत्काल छाड्न निर्देशन आएको घटना कार्यालय प्रमुख भट्टले सुनाए।

गोरखाको माथिल्लो क्षेत्रबाट गाईगोरु संकलन गरेर सिर्दिबासभन्दा माथि लाने गरिएको छ भने तल्लो क्षेत्रबाट संकलन गरेर मकवानपुर भन्दै सीमा कटाउने गरिएको छ।

गाईगोरुको ओसारपसार नियन्त्रण गर्ने स्पष्ट कानुन नहुँदा गलत प्रयोगका लागि दिनहुँ निर्वाध ओसारपसार भइरहेको गोरखाका अधिवक्ता स्थानेश्वर दुवाडी बताउँछन्। ‘गलत प्रयोगका लागि ओसार पसार भएको हुनसक्ने आशंकामा प्रशासनले निगरानी त गर्न सक्छ, तर नियन्त्रण गर्न कानुन छैन’, उनी भन्छन्, ‘गलत प्रयोजनका लागि लगिएको भनेर खुल्ने कुनै प्रमाण भेटिँदैन।’

जोत्न लगेको भन्‍नु झुट

पहाडका खेतबारीमा ट्रयाक्टर, हाते टिलरले जोत्न थालेको अहिलेको समयमा मकवानपुर लगायतका समथर भूभागमा जोत्ने प्रयोजनका लागि गोरु लगिएको भन्नु सरासर झुठ भएको स्थानीयबासीको दाबी छ।

‘पहाडमा त ट्याक्टरले जोत्न थालिसके, पहाडका गोरु लगेर तराईमा जोत्छन् ? यस्तो झुठ कुरालाई प्रश्रय दिनु हुँदैन’, मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारी भन्छन्, ‘यस्तो गतिविधि हाम्रो धर्म, संस्कृति र संस्कारविपरीत छ।

जानजान दिनदहाडै गाईगोरु काट्न लैजान दिँदा नेपाली समाजमा बेथिति बढ्छ। प्रशासनले यसमा नियन्त्रण गर्नुपर्छ।’ यस्ता गतिविधि रोक्ने कानून बन्नु पर्ने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.