|

सिन्धुली :  नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ऐतिहासिक सिन्धुलीगढीको कारणले गर्दा विश्वमा नेपाल, नेपाली र नेपाली सेनाका रुपमा रहेको बताएका छन्।

शुक्रबारदेखि सिन्धुलीमाढीमा सुरु भएको प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै प्रधान सेनापति थापाले भने,‘सिन्धुलीगढी कै कारणले शुक्रबार हामी नेपाल, नेपाली र नेपाली सेनाको रुपमा रहेका छौं। यो तथ्यलाई कुनै पनि नेपालीले विर्सन हुन्न र विर्सने छैनन् भन्ने मेरो विशेष आग्रह छ।’ 

उनले सिन्धुलीगढी, हरिहरपुरगढीको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि नेपाली सेना र स्थानिय सरकारसँग समन्वय, सहकार्य गरी काम भइरहेको बताए।

‘स्थानीय सरकार र सेनाको एकीकृत प्रयासको रुपमा हामीले ऐतिहासिक सम्पदा, सिन्धुलीगढीमा निर्माण सुरु भएको युद्ध संग्रालय, सिन्धुलीगढीको संरक्षणका लागि सिन्धुलीगढी एकीकृत पदमार्ग परियोजनालगायतका काम सुरु भएका छन्’ उनले भने। 

उनले प्रथम सिन्धुलीगढी अन्तर्राष्ट्रिय पद यात्रा, मकवानपुरगढीदेखि हरिहरपुरगढी हुँदै उदयपुरगढीसम्म इतिहास स्मृति पदमार्ग, भावी योजनामा रहेको बताए। उनले यस्ता नविन परियोजनाले सिन्धुली जिल्ला लगाएत देशकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले खेलकुद क्षेत्र राष्ट्रिय एकताको एक सुत्रधार भएको भन्दै खेलकुदमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचराको भावना सुदृढ बनाउन सकिने बताए।

‘खेलकुदले सम्पुर्ण नेपालीमा आपसी सद्भाव र भाइचरापनमा थप विकास गरी एकत्वपनलाई अझ सुदृढ पारी लैजान सकिन्छ भने अर्को तर्फ आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँछ ’ उनले थपे। उनले प्रथम सिन्धुलीगढी ब्याडमिन्टन प्रतियोगिताले एकताको सन्देश प्रवाह गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने आशा व्यक्त गरे।

भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउन र सेना दिवस २०७६ को अवसर पारी जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीले प्रतियोगिताको आयोजना गरेको हो। सेना दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना भएको प्रतियोगितालाई वर्षेनी रुपमा आयोजना गर्न नेपाली सेनाले सकेको सहयोग गर्ने उनको भनाई छ।

‘सेना दिवसको अवसर पारेर नागरिक स्तरबाट वर्षेनी यस प्रतियोगीता आयोजना गर्ने भनेपछि म उत्साहित हुँदै यो कार्यक्रमको आतिथ्यता स्वीकार गरेर आएको हुँ। भविष्यमा यसको सफलताको शुभकामना दिन चाहान्छु। प्रतियोगिताले सेना नागरिक सम्बन्धका अनुपम उदाहरण प्रस्तुत गरेको मैले अनुभूत गरेका छु’उनले भने।  

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले खेलक्षेत्रले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने भन्दै ब्याटमिन्टन खेल र खेलाडीको विकास र प्रतियोगिता सफल बनाउका लागि दुईलाख सहयोग गर्ने घोषणा समेत गरे। 

प्रतियोगितामा देशभरिका ११० टिम दर्ता भएको ब्याडमिन्टन संघ सिन्धुलीले जनाएको छ। फागुन १८ गतेसम्म चल्ने प्रतियोगीतामा मेन्स सिङ्गल, मेन्स डबल, मेन्ट्रान्स डबल, मिक्स डबल इभेन्टका खेलहरु हुने ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिए। उनका अनुसार मेन्स सिङ्गल, मेन्स डबल, मेन्ट्रान्स डबल, मिक्स डबल ईभेन्टका खेलमा प्रथम हुने टिमले नगद ५० हजार, दोस्रो हुने टिमले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार पुरस्कार प्राप्त गर्नेछन्। 

प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, एपिएफ, लगायतका टिमहरूको सहभागिता रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.