|

कञ्चनपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटकीय क्षेत्रका पूर्वाधारको विकास गरिए यस क्षेत्रले समृद्धिमा फडको मार्ने बताइन्।  शुक्रबार तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको विशेष पहिचान बोकेको ठूलो घाँसे मैदानको प्रचार प्रसारमा जोड दिन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन्।

उनले सुदूरपश्चिम क्षेत्रको कला संस्कृति र राना थारु समुदायको मौलिक पहिचान बोकेको संस्कृति यस क्षेत्रको बहुमूल्य निधि रहेको बताइन्। कला संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको उनले बताइन्। 

पश्चिम क्षेत्रको विकासको द्वारका रुपमा हेरिएको सुख्खा बन्दरगाह, महाकालीमा पुल निर्माणको कार्यलाई अगाडि बढाउनु पर्ने धारणा अघि सारिन्। राष्ट्रपति भण्डारीले धनगढी विमान स्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गरिनुपर्ने बताइन्।

पश्चिम सेती विद्युत परियोजना, खप्तड क्षेत्र, एकीकृत बस्ती विकासलगायतको विकास गर्न सकिए  देशको अर्थतन्त्र सुदृढ हुने विश्वास उनले व्यक्त गरिन्।

कृषि उत्पादन र उत्पाकत्व बढाउनका लागि कार्य अगाडि बढाउनु पर्ने चर्चा गर्दै उनले कृषिमा आधारित उद्योग स्थापना गर्न सके यसले रोजगारी सिर्जना गर्ने बताइन्। आर्थिक समृद्धिको सँगै सामाजिक सांस्कृतिक कार्यको जग शिक्षा भएको उनले बताइन्। अन्धविश्वास र रुढीवादी परम्परालाई शिक्षाको जागरणको माध्यमबाट हटाइनु पर्ने पनि उनले बताइन्। सुदूरपश्चिम विश्वविद्यालयका भौतिक पूर्वाधार निर्माण गरी गुणस्तरीय शिक्षाका प्रदान गरिनुपर्ने उनले बताइन्।

उनले विश्वविद्यालयलाई थप सुदृढ बनाई शैक्षिक प्राज्ञिक केन्द्रका रुपमा विकास गरिनु पर्ने उनको भनाई थियो। निकुञ्ज र आरक्ष संरक्षणको जिम्मा नेपाली सेनाले लिई कुशलतापूर्वक कार्य गरेको छ उनले भनिन्।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादन चिनाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍‍याउने बताइन्। उनले पर्यटकीय क्षेत्र सुदूरपश्चिमको विशेष पहिचान भएको समेत बताइन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तराई, पहाड हिमालका पर्यटकीय क्षेत्र चिनाउनका लागि पाँच वटा करिडोरका रुपमा कार्य अगाडि सारिएको बताए। प्राकृतिक, धार्मिक, एतिहासिक स्थलको पहिचान, विकास र पर्यटक पुर्‍याउनका लागि कार्य भइरहेको उनले बताए।

एकात्मक राज्य बाट पछाडि पारिएको सुदूरपश्चिम अव पछाडि नपर्ने उनले बताए। प्रतिनिधि सभाका सांसद डा दिपकप्रकास भट्टले महाकाली अस्पतालमा चिकित्सको व्यवस्था भएसँगै यसको क्षमता विस्तार गरी २५० शय्याको बनाइने बताए।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले पर्यटकीय क्षेत्रको विकासका लागि जोड दिइएको बताए। नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ। भीमदत्त नगरपालिकाले भ्रमण वर्षलाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गराउन महोत्सव आयोजना गरेको हो।

महोत्सव फागुन १९ गतेसम्म सञ्चालन हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.