मित्र राष्ट्रहरुसँगको सम्बन्ध बिगार्न खोजेको आरोप

|

काठमाडौं : सेक्यूरिटी प्रेस खरिद प्रकरणमा कमिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा वारिसेमार्फत बाँस्कोटाले दायर गरेको फिरादपत्रमा मुलुकी अपराधसंहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेकाले ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय गर्नुपर्ने, क्षतिपूर्ति भराउनुपर्ने र यो मुद्दा लड्दा लागेको खर्च मिश्रबाटै असुल्न पनि माग गरेका छन् ।

विजयप्रकाश मिश्रले झुटा प्रमाण सिर्जना गरी आफूसँग भएको भनिएको कथित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई बेइज्जत गरेको उनले दाबी गरेका छन्।

बाँस्कोटाले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफ्नो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको बताएका छन्।

बाँस्कोटाको दावी अनुसार सुरक्षण मुद्रणसम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले भेट गरेका हुन्। आफूसँग भेट गर्न आउँदा केबीए-नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधिका रुपमा मिश्रले परिचय दिएका थिए । ‘मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता छैन’, बाँस्कोटाले भनेका छन्, ‘रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा गरेको पनि छैन।‘

‘सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामाबेह कथंकदाचित प्रतिवादी मिश्रसँग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने त्यसलाई आफ्नो मञ्जुरीबिना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु मुलुकी अपराधसंहिता विपरीत हो’, बाँस्कोटाले उल्लेख गरेका छन् ।

 बाँस्कोटाले आफूलाई फसाउने उद्देश्यले रचिएको प्रपञ्च भएको भन्दै त्यस सम्बन्धमा आफूले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भइसकेको दावी गरेका छन्। सरकार-सरकारबीच मात्र खरिद विधि अवलम्वन गर्ने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयमार्फत २२ नोभेम्बर २०१८ मा स्वीटजरल्याण्डको दूतावासलाई सुरक्षण मुद्रण पूर्वाधार निर्माणका लागि पत्राचार भएको बाँस्कोटाले मुद्दा विवरणमा उल्लेख गरेका छन्।

दूतावासवाट १९ डिसेम्वर २०१८ मा बठैक बस्ने भनिएको भए पनि स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षण मुद्रण पूर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएकाले बैठक नै नभएको फिरादपत्रमा उल्लेख छ।

मिश्रले नेपालका सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा व्यक्त र प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसँग लामो कूटनैतिक सम्बन्ध रहेका जर्मन र फ्रान्सलाई राज्यको तहबाटै भ्रष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दुस्प्रयास भएको दाबी उनले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.