|

इलाम : जोर्डन जुयानेर डेम्बेलेको २ गोलको मद्दतमा आयोजक माइभ्याली फुटबल क्लब छैटौं माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा जारी प्रतियोगितामा आयोजकले पाहुना टोली सिक्किमको गान्तोक सिटी फुटबल क्लबलाई २–० ले हरायो।

खेलको सुरुवातबाटै दबाब बनाएको आयोजकले ५ मिनेटमा अग्रता बनायो। शिशिर लेखीको क्रस पासमा डेम्बेलेले पहिलो गोल गरे। दोश्रो हाफको इन्जुरी समयमा वान भर्सेस वानको अवस्थामा डेम्बेलेले दोश्रो गोल थपे। खेलको म्यान अफ दि म्याच शिशिर लेखी घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

खेलमा आयोजकका डेम्बेले र गान्तोकका गोलरक्षक निन्डुप लेप्चाले पहेलो कार्ड प्राप्त गरे। आयोजकले छिरिङ गुरुङको कप्तानीमा उत्रिएको आयोजक टिमले न्युरोड टिम (एनआरटी) का ३ जना अफ्रिकन खेलाडीसहित ४ जनालाई मैदानमा उतारेको थियो। त्यसैगरी बिग्रेड व्वाइजका २ जना, जावलाखेल, सरस्वती, फ्रेन्डस र यु–१८ टोलीका १/१ जना खेलाडी मैदानमा उतारेको थियो।

गान्तोक पारो एफसीका २ जना र भारतीय यु–१९ टोलीका १ जना खेलाडीसहित इलामे मैदानमा प्रतिस्पर्धा गरेको थियो। खेलपछि प्रतिक्रिया दिँदै गान्तोकका प्रशिक्षक मायोल डोक लेप्चाले घरेलु टिमविरुद्ध खेल्नुपरेकोले दबाबमा परेको बताए। उनले डि एरियाभित्र डिफेन्डरले खेलेको समानान्तर पासको फाइदा उठाएर विपक्षी टिमले गोल गरेको बताए।

यता आयोजकका प्रशिक्षक दर्शन भक्तराजले सेट प्रशिक्षण नभएकाले विपक्षी विरुद्ध घरेलु मैदानमा दबाबका बिच प्रतिस्पर्धा गर्नु परेको बताए। गान्तोकविरुद्धको खेलमा टिमको कमजोरी औल्याउन सहज भएकाले आगामी खेलमा सुधार गर्ने बताए।  जितसँगै आयोजकले सेमिफाइनल प्रवेशका लागी फागुन २० गते कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङको सामना गर्नेछ।

प्रतियोगिताअन्तर्गत भोलि दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले झापा ११ को सामना गर्नेछ। प्रतियोगिताको बिजेताले नगद ८ लाख र ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.