जनप्रतिनिधि प्रलोभनमा परेको स्थानीयको आरोप

|

म्याग्दी : राउण्ड अन्नपूर्णको प्रमुख आकर्षणमध्ये एक मानिएको रुप्से झरनामा जलविद्युत् उत्पादन गर्ने छलफल सुरु भएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनालाई असर गर्ने गरी जलविद्युत् उत्पादन गर्ने भन्दै छलफल सुरु भएपछि सरोकारवालाहरुले विरोध गर्न थालेका छन्। 

झरनाबाट विद्युत उत्पादन गर्न गुल्मी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई रोजगार र लगानीको लोभ देखाएर आवश्यक सहयोग जुटाउन स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालासँग पुनः छलफल सुरू गरेको छ।

यसअघि सर्भे गर्ने क्रममा स्थानीयको विरोध गरेपछि रोकिए थियो। विरोधपछि रोकिएको कार्यलाई अघि बढाउन गत बिहीबार वडा कार्यालयमा छलफल भएको थियो। छलफलमा गुल्मी हाइड्रोपावरले पुलभन्दा तलबाट आयोजना बनाउँदा तोकिएको दुई मेगावाट विद्युत उत्पादन गर्न नसकिने बताउँदै झरना नजिक रहेको पुरानो पुलबाट करिब १० मिटरमाथिबाट काम गर्नुपर्ने प्रस्ताव गरेको छ। झरनालाई जोखिममा पारेर विद्युत् उत्पादनको आवश्यकता नभएको भन्दै विरोध सुरू भएको दाना काभ्रेका मोहन पुर्जाले बताए।

‘लोभ देखाएर प्रभावमा पार्ने प्रयास गरिएको छ,’ पुर्जाले भने, ‘सीमित व्यक्तिलाई लाभ हुने गरी काम भइरहेको छ।’ उनले बैठकमा जनप्रतिनिधिसहितको टोलीले आयोजनाको प्रस्तावको पक्षमा उभिएको उनको भनाइ छ।

झरना आसपासका क्षेत्रमा जलविद्युत गृहको कल्पना पनि गर्न नसकिने बताउँदै प्रकियामा गए आफूहरुले कानुनी उपचार खोज्ने उनको भनाइ छ। जलविद्युत कम्पनीले स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाइ, झरना नमास्ने ग्यारेन्टीसहित सरोकारवाला निकायहरुसँग छलफल समेत नगरेको पुर्जाको दाबी छ।

योजनाले गर्ने काम गोप्य राखिएको स्थानीयको आरोप

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने रुप्से झरनामा बन्न लागेको पक्की पुल र हाल सञ्चालित पुरानो पुलभन्दा १० मिटर माथि जलविद्युत उत्पादन गर्ने भनिएको छ। उक्त योजना गोप्य राखिएको स्थानीयको आरोप छ। 

पुलभन्दा तलबाट काम गर्दा नाफा नहुने प्रस्तावलाई स्थानीय जनप्रतिनिधिले समेत घुमाउरो तरिकाले समर्थन गरेको स्थानीयवासीको आरोप छ। वडा कार्यालयमा भएको छलफलमा गुल्मी हाइड्रो पावरका सञ्चालकले झरनालाई पुरानै अवस्थामा राखेर आयोजना अगाडि बढाउने बताएका थिए।

के भन्छन् जनप्रतिनिधि?

कम्पनीले यसअघि झरनाको पानी सदुपयोग हुने बताउँदै प्राकृतिक सम्पदालाई कुनै असर नगर्ने लिखित प्रतिवद्धता समेत पेश गरेको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष नरसिंह बहादुर पुर्जाले बताए। उनका अनुसार स्थानीयको सहभागितालाई प्रमुख प्राथमिकता दिने र झरनालाई पनि कुनै असर नगर्ने कम्पनीको लिखित प्रतिवद्धता छ।।

‘झरनालाई कुनै असर नगर्ने भएपछि सहमति जनाएका हौं, हामीलाई झरनाको माया छ। यसको संरक्षणमा कुनै कमी हुन दिन्नौं,’ वडाध्यक्ष पूर्जाले भन्छन्, ‘अधिकांश स्थानीयको सहमति र झरनाको स्वरुपमा असर नगर्ने प्रतिवद्धता अनुसार काम गर्ने वातावरण बनाउँछौं।’ 

झरनामा विद्युत आयोजना बनाउन नदिन वडासदस्य हस्तबहादुर पुनको नेतृत्वमा श्याम पुनलगायतको टोलीले राष्ट्रिय सम्पदाको रुपमा रहेको झरनालाई कुनै कम्पनीमार्फत नाफा कमाउने माध्यमको रुपमा प्रयोग गर्ने नदिने भन्दै विरोध गरेका छन्। जलविद्युतविज्ञ, जलस्रोत विज्ञको समेत उपस्थितिमा छलफल हुनुपर्ने उनीहरुको माग छ। 

क–कस्ले गरे झरना मासेर विद्युत निकाल्ने प्रयास?

रुप्से झरनाबाट विद्युत् उत्पादनका लागि सबैभन्दा पहिले रिचर्स एण्ड डेभलपमेन्टले प्रयास गरेको थियो। झरनाको शिरबाट चार मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने भन्दै पानीको जाँच, तत्कालीन दाना गाविसबाट आवश्यक प्रक्रिया समेत पूरा गरेको थियो। उक्त कम्पनीले विद्युत खरिद सम्झौता (पिपिए) समेत गरेको थियो। झरनाभन्दा २० मिटर माथि पानी खसालेर विद्युत उत्पादनको योजना बनाएको रिचर्स एण्ड डेभलपमेन्टले झरनालाई कुनै असर नगर्ने दावी गर्दै आइरहेको छ। 

यस्तै, झरनाको ३० मिटर माथि रहेको एक पोखरीमा ड्याम बनाएर सुरूङमार्फत विद्युत निकाल्ने प्रयासमा मुक्तिनाथ हाइड्रो पावरले समेत प्रयास गरेको थियो। झरनामा बाँध बाधेर टनेलमार्फत तितर भन्ने ठाउँमा पावरहाउस बनाएर विद्युत् उत्पादन गर्ने उक्त कम्पनीको प्रस्ताव थियो।

धौलागिरि हिमालको फेदबाट बग्ने झरना आसपासमा विद्युत् उत्पादन गरिए पानीको मुहान भासिने सम्भावना रहेको जानकारहरु बताउँछन्। रन अफ दि रिभर प्रकारको आयोजनामा प्रतिमेगावाट अन्य आयोजनाका तुलनामा सस्तो हुने भएकाले पनि झरनाबाट तीव्र गतिमा बग्ने पानीलाई प्रयोग गर्न खोजिएको छ।

यस झरना २०३० सालमा नेपालको हुलाक टिकटमा समेत प्रकाशित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.