झापालाई साख जोगाउनै चुनौती

|

इलाम : माईभ्याली गोल्डकपअन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा दुई संस्करणको विजेता झापा–११ ले पाहुना टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीको सामना गर्दैछ। 

सदरमुकामस्थित ठूलो टुँडिखेलमा शनिबार हुने खेलमा झापाका लागि साख बचाउन चुनौती देखिन्छ। ए झापाली खेलाडीहरु डिभिजन लिगका विभिन्न क्लबमा अनुबन्धन भएकाले दर्शकहरुको अपेक्षाअनुसारका झापा–११ बाट खेलाडीहरु मैदानमा देखिने छैनन्। यद्यपि, झापाले टिमबाट ए डिभिजन खेलाडी कर्ण लिम्बु, सन्जोग राई, निरोज बस्नेत, निशान्त खड्का, हेमन्त थापा मगर, अविशेक बरालसहित सी डिभिजनका केही खेलाडीहरु मैदान उतार्ने तयारी गरेको छ।

यता पाहुना टोली मानेभञ्ज्याङ आसामका खेलाडीसहित प्रतिस्पर्धामा उत्रिने छ। मानेभञ्ज्याङले केही साताअघि मात्र झापामा सम्पन्न शिवसताक्षी गोल्डकपको क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो। उसलाई विभागीय टोली त्रिभुवन आर्मीले २–१ ले हराएको थियो। झापाले नवलपुरमा सम्पन्न पाँचौं राइनो गोल्डकपमा हेटौंडाको विजय युथ क्लबसँग ६–१ ले पराजय भोगेको थियो।

झापाले इलामे मैदानमा दोस्रो संस्करणमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र तेस्रो संस्करणमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै माईभ्याली गोल्डकपको उपाधि चुमेको थियो। यद्यपि, त्यस समयका सबै खेलाडी हाल टिममा नदेखिने भएकाले छैटौं संस्करणमा झापालाई चुनौती छ। पाँचौ संस्करणको प्रतियोगितामा झापा–११ ले सहभागिता जनाएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.