|

काठमाडौं : चीनबाट उद्दार गरी ल्याएर क्वारेन्टाइनमा राखिएका नेपालीहरुको आज अन्तिम पटक स्वास्थ्य परीक्षण गरिँदैछ। चीनमा रहेका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमको जहाजका चालकदलसहित १८ जनाको नाक र घाँटीमा 'स्वाब' परीक्षण गर्न लागिएको हो। 

सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट फागुन ४ गते नेपाली विद्यार्थीहरुलाई उद्दार गरी ल्याएको थियो। क्वारेन्टाइनमा राखिएको पहिलो दिनमै परीक्षण गर्दा सबैजनामा कोरोना भाइरसको संक्रमण नेगेटिभ पाइएको थियो। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार आज १४ दिन पुगेकाले  परीक्षण गर्न लागिएको हो। 

स्वाब परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन स्थलमा पुगिसकेको छ। यसको रिपोर्ट नेगेटिभ आएकालाई घर फर्काइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 'कोरोना पोजेटिभ' भेटिएमा भने टेकु अस्पतालको 'आइसोलेसन वार्ड'मा राखेर उपचार गरिनेछ। 

तर शुरुको दिन गरेको 'स्वाब' परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डाक्टर नवीन फुयाँलले जानकारी दिए। 

आज गरिने परीक्षणको रिपोर्ट भोली बेलुकी वा पर्सि बिहानसम्म आइसक्ने र त्यहि रिपोर्टका आधारमा क्वारेन्टाइनमा राखिएकालाई घर फर्काइने मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। 

चीनबाट फर्काइएका १ सय ७५ जनालाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण भवन र उनीहरुलाई लिन गएको नेपाल वायु सेवा निगमका चालकदलसहित १८ जनाको टोलीलाई  नगरकोटस्थित खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.