|

काठमाडौंः भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा. सरिता शर्माद्वारा अङ्ग्रेजी भाषामा अनूदित उपन्यास ‘डम्फु’ काठमाडौँमा विमोचन गरिएको छ । लेखिका बोरा र अनुवादिका डा.शर्माको उपस्थितिमा बागबजारस्थित सिटीम्याक्स सिनेमाघरमा नेपाली वाङ्मय परिषद्वारा आयोजित समारोहमा प्राध्यापक गोविन्दराज भट्टराईले उक्त कृतिको एक साथ विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा बोल्दै प्राध्यापक डा. भट्टराईले उपन्यासमार्फत् लेखिका बोराले नेपाल र भारतको अन्तरसम्बन्धको बारेमा एउटा सृजनात्मक आयाम थपेको बताए । उनले अनुवादको महत्वमाथि प्रकाश पार्दै अनुवादिका शर्माले अनुवाद साहित्यमा उल्लेखनीय योगदान दिएको दाबी गरे।

नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्राध्यापक उषा ठाकुरले लेखिका बोराद्वारा असमिया भाषामा लिखित उपन्यासलाई अनुवादक शर्माले अङ्गे्रजी भाषामा अनुवाद गरेर विश्वव्यापीकरण गरेको बताइन्। ठाकुरले ‘डम्फु’ उपन्यास अब्बल लागेको धारणा राखिन्।

कवि तथा किराती सौन्दर्य चिन्तक भूपाल राईले लेखकले मातृभाषामै लेख्दा राम्रो हुने तर अनुवादका माध्यमबाट त्यसलाई विस्तार गरिनुपर्ने विचार व्यक्त गरे। कवि तथा समालोचक सुरेश हाचेकालीले लेखिका बोराले ‘डम्फु’ उपन्यासमार्फत् नेपाल र असमको अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाउने बताए।

उनले भने,' असमिया भाषी असमिया नागरिकले तामाङ समुदायको परपम्परागत मौलिक बाजा डम्फुलाई केन्द्रमा राखेर लेखेको उपन्यास ‘डम्फु’ले विश्वमा रहेका समस्त नेपाली डायास्पोरिक समुदायलाई गौरव महसुस गराउने विचार व्यक्त गरे। लेखिका बोरा यसकारण धन्यवादको पात्र भएको उनको भनाइ छ।

नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुवादिका डा. शर्माले बोरा असमकी अब्बल स्रष्टा भएको सुनाइन्। स्रष्टा बोराले आफू दोस्रो पटक नेपाल आएको उल्लेख गर्दै नेपाल र नेपालका नागरिकबाट आफू अत्यन्त प्रभावित भएको बताइन्। उनले नेपालको संस्कृतिको खोजअनुसन्धान गरेर पुस्तक लेख्ने इच्छा रहेको धारणा व्यक्त गरिन्। कृति नेपाली र हिन्दी भाषामा प्रकाशनको तयारीमा रहेको स्रष्टा बोराले जानकारी दिइन्।

१५ कृतिकी स्रष्टा लस्कर बोराको ‘डम्फु’ बिबि पब्लिकेसन असमले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.