|

गुल्मी : गुल्मीमा कृषि, पर्यटनलाई प्रवर्द्धन गर्नका लागि आगामी चैत २१ गतेदेखि चौथो गुल्मी महोत्सव आयोजना हुने भएको छ। 'गुल्मी जिल्लाको सम्पन्‍नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्‍यापारको विकास' भन्ने नाराका साथ आगामी चैत २१ देखि २०७७ वैशाख १ गतेसम्म चौथो गुल्मी महोत्सवको आयोजना गरिएको गुल्मी उद्‍योग वाणिज्य संघका माहासचिव ताराप्रसाद भुसालले जानकारी दिए।

महोत्सवको आयोजनाबारे तम्घासमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले गुल्मीका किसानले उत्पादन गरेका कृषि जन्यवस्तुहरू,   गुल्मी जिल्लाका पर्यटकीयस्थलहरूको प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरू,  प्रविधि प्रदर्शन स्थानीय उत्पादनलाई प्राथमिकतालगायत स्थानीयस्तरमा लोप हुन लागेका कला संस्कृतिहरूको प्रदर्शन गर्ने गरी महोत्सव आयोजना गरिएको जानकारी दिए।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि  गुल्मी जिल्लाका स्थानीय वस्तु, सेवा र पर्यटकीय स्थानहरूको प्रचारप्रसार व्‍यापारमा प्रवर्धन एवं उद्यमी व्‍यवसायीहरूलाई महोत्सवले  प्रोत्साहन गर्ने उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ।

महोत्सवमा कलाकारहरु मात्र ल्याएर नचाउनेभन्दा पनि स्थानीय उत्पादनलाई प्राथमिकता  दिने र गुल्मी जिल्लाका पर्यटकीयस्थलहरूको बारेमा प्रचारप्रसार र  कृषिलाई नै पहिलो प्राथमिकता दिने गुल्मी उद्योग वाणिज्य संघका माहासचिव ताराप्रसाद भुसालले जानकारी दिए।  विगतका वर्षहरूमा कलाकारहरुलाई बिषेश प्राथमिकता दिने गरेको उदाहरण दिँदै यस वर्षको महोत्सव फरक तरिकाले सञ्‍चालन गरिने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.