|

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएका छन्।

कोरोना भाइरस (कोभिड १९) ले विश्वका धेरै देशहरूमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार-प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काम सरकार केन्द्रीत भएको बताए। उनले परिस्थिति अनुकूल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीति अगाडि बढाउने तयारी मन्त्रालयले गरेको पनि बताए।

मन्त्री भट्टराईले कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको बताए।

विश्व बजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उनले बताए। उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ। आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरू अगाडि बढाउँछौँ। जब परिस्थिति अनुकूल हुन्छ। सन्त्रास हट्दै जान्छ। त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौँ।’

कोरोनाले विश्वका शक्ति राष्ट्रको व्यापार व्यवसाय, उद्योगमा पनि असर गरेको उनले बताए। भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचार-प्रसारका कामहरू अगाडि बढे पनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो।

वर्षको सुरुदेखि नै चीनबाट आउने पर्यटको संख्यामा कमी आएको थियो। नेपालमा कोरोनाको प्रभाव नदेखिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकामा सरकारले कडाइ गरेको छ। मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकामा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए।

सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याएको थियो। उनीहरूमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन। शनिबार खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वावको नमुना परीक्षणका लागि संकलन गरिएको छ।

रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिने छ। कोरोना प्रभावित मुलुकहरूमा पर्यटन आवत-जावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात-निर्यातमा पनि असर गरेको छ। कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरू समेत बन्द रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.