|

सुर्खेत : नेपाल सरकारको गरिब घर पहिचान कार्यक्रम अन्तर्गतक सुपरिवेक्षक र गणक छनोट गर्ने विषयमा सुर्खेतको पञ्चपुरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद भएको छ।

आफन्त छनोट नभएपछि नगर प्रमुख र उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत हरी देवकोटालाई सहयोग नगर्ने कर्मचारी आवश्यक नरहेको भन्दै कार्यालयमा काम नगर्न चेतावनी दिएको देवकोटाले आरोप लगाएका छन्। एकजना सुपरिवेक्षक र ६ जना गणकका लािग कार्यविधि अनुसार छनोट गरिएको भए पनि नगरप्रमख र उपप्रमुखले आफन्तको नाम ननिकालेको भन्दै आफूलाई दुर्व्यवहार गरेको आरोप देवकोटाले लगाए। 

कार्यविधिको मापदण्ड अनुसार अन्तर्वार्ता र कम्प्युटरको सीप परीक्षण गरेको देवकोटाले दावी गरे। लोक सेवाले तोकेको ढाँचा र मापदण्ड अनुसार परीक्षा लिएको तर नगरप्रमुखको छोरी र उपप्रमुखको छोराको नाम ननिस्कीएपछि आफूलाई दुर्व्यवहार गरेको प्रशासकीय प्रमुख देवकोटाको आरोप छ। 

‘मेयर सापको छोरी र उपमेयरको छोराले पनि आवेदन दिएका थिए। योग्ताक्रमका कारण उनीहरूको नाम निकाल्न सकिएन’ प्रशासकीय प्रमुखले भने , ‘सोही कारण मलाई सुनियोजित आरोप लगाए। कागजपत्र सुरक्षित छन्। जतिबेला पनि हेर्न सकिन्छ। अनावश्यक पूर्वाग्रह र आग्रहमा परेर काम गर्न सम्भव छैन। सकिँदैन पनि।’ 

देवकोटाले भने, ‘नगरप्रमुख र उपप्रमुखले हामीलाई असहयोग गर्ने, भनेको नमान्ने भए हामीलाई तपाईँको आवश्यकता छैन। कार्यालयमा प्रवेश नगर्नु, झिटी झ्याम्टा बोकेर जानु भन्दै दुर्व्यवहार गरेको  हुन्छ।’ यता पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले प्रशासकीय प्रमुखलाई कुनै प्रकारको दवाव नदनिएको जिकीर गरेका छन्।

कर्मचारी छनोटमा स्थानीय युवालाई प्राथमिकता दिनु पर्ने भनेर मात्रै भनेको तर कुनै किसिमको दवाव नदिएको थापाको भनाई छ। उता नगरप्रमुख थापाले गरेको कर्मचारी सिफारिसमा आपत्ति जनाउँदै नेकपा पन्चपुरी नगरकमिटी सचीव केशव शाहीले एक विज्ञप्तिमार्फत नगर प्रमुखलाई ध्यानाकर्षण गराएका छन्।

शाहीले राष्ट्रसेवक कर्मचारीको मानमर्दन र मनोवल गिराउनुका साथै पञ्चपुरी नगरपालिकालाई आफ्ना आसेपासेको भर्ति केन्द्र बनाउने कुत्सित मनसायको पराकाष्ठा स्वरुप कर्मचारीलाई नगरपालिका नै छाड्न चेतावनी दिएको विषयले लज्जित तुल्याएको भन्दै विज्ञमार्फत नगर प्रमुखलाई ध्यानाकर्षण गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.