|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने मिति तय गर्‍यो। सबै विश्वविद्यालयमा समेत सोही समयमा चुनाव गर्न निर्देशन दिएको थियो। तर,विद्यार्थीहरु तयारी नभएको भन्दै त्रिविले नै स्ववियु निर्वाचन गर्ने समय रद्द गर्‍यो।

तयारीमा लागेका कुनै विद्यार्थी नेताहरू भने हरेस खाए। स्ववियु चुनाव गर्ने मिति कटेको ८ दिन बितिसक्दा पनि अहिलेसम्म कहिले चुनाव गर्ने भनी मिति तोक्न त्रिवि अलमलमा छ। त्रिविले अहिलेसम्म पनि यस विषयमा ठोस निर्णय लिन सकेको छैन।

त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्य अधिकारीले अहिलेसम्म अनौपचारिक छलफल मात्रै गर्दै आएको बताए। ‘विद्यार्थी संगठनहरू हामीकहाँ भेट्न आइरहेका छन,’उनले भने,‘औपचारिक छलफल हुन सकेको छैन। अहिलेसम्म अनौपचारिक छलफल मात्रै भएकोले कहिले मिति तोक्ने भन्ने विषयमा केही निर्णय हुन सकेको छैन।’

अघिल्लो वर्ष पनि आंशिक रुपमा मात्रै स्ववियु चुनाव भएको थियो। यस वर्ष भने कुनै ठाउँमा चुनाव हुन सकेको छैन। विद्यार्थीहरूले तयारी नगरेकै कारणले तोकिएको समयमा चुनाव हुन नसकेको अधिकारीको भनाइ छ। 

‘त्रिविले छिटो स्ववियु चुनावको मिति तोक्नुपर्छ’

त्रिविले छिटो स्ववियु चुनाव मिति तोक्नुपर्ने विद्यार्थी संगठनहरूले माग गर्दै आएका छन्। नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले स्ववियु निर्वाचन मिति त्रिविले छिटो तोक्नुपर्ने बताए। ‘त्रिविले तोकेको समयमा निर्वाचन गराउन सकेन,’उनले भने,‘स्वतन्त्र विद्यार्थी युनियनलाई मास्ने र कुल्चिने काम भएको छ।

अहिलेका सरकार र पार्टीहरूले पनि ध्यान दिनुपर्ने हो। तर, निर्वाचनमा ध्यान दिएको पाइएको छैन। छिटो समय तोकेर स्ववियु चुनाव हुनुपर्छ।’ त्रिविले षड्यान्त्रपूर्वक चुनाव गर्न नचाहेको उनको भनाइ छ। उनले भने,‘सबै विद्यालयमा चुनाव गराउन त्रिवि क्रियाशील हुनुपर्ने थियो। यो चुनाव देशकै लागि आश्यकता छ। तर, त्रिविले चुनावबारे चासो देखाएको छैन।’

 नेविसंघको कारणले पनि स्ववियु चुनाव हुन नसकेको उनको आरोप छ। पराजुलीका अनुसार स्ववियुको चुनाव पनि वैधानिक संस्था हो। नेपालको लामो शैक्षिक र राजनीतिक आन्दोलनको जग बसाएको छ। यसले स्वाच्छ,असल नेता जन्माउँन सहयोग पुर्‍याउँछ। उनले गणतन्त्र आएपछि सबै ठाउँका विश्वविद्यालयहरूमा स्ववियु चुनाव हुन नसकेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.