|

यतिबेला म
कुनै अपराधी जस्तो

किताब बोकेको आरोपमा
समातिएको छु सिमानामा
पुलिस खोतली रहेछ मेरो झोला
ओल्टाई पोल्टाई गरेर
निहाली रहेछ किताबको अक्षर
र आपत्ति जनाइ रहेछ
किताबले बोकेको विचारसँग।


ओ मेरो प्रिय दोस्त कार्ल मार्क्स
यतिबेला म
तिमीले लेखेको विचारको किताब
बोकेको उजुरीमा
थुनिएको छु पुलिस थानामा।


खासमा विचारसँग
सत्ता डराउँछ कि पुलिस?
कि डराउँछ पुँजीवादी समाज?


पुलिस सोधिरहेछ मेरो आइडिन्टिडी
गरिसकेको छ
मलाई अपराधी घोषणा
र जलाइ रहेछ
मेरै आँखाअघि
मार्क्सको विचार बोकेको मेरो प्रिय किताब।


ओ मेरो प्रिय दोस्त कार्ल मार्क्स
र पनि म गरिरहेछु तिम्रो विचारको समर्थन।


कायर ईश्वर हराएको दिन
बचाएको हो मान्छेलाई प्रकृतिले
अनि रूपान्तरण भएको हो प्रकृति देवतामा।


खासमा विचारसँग
धर्म प्रचारक डराउँछ कि मान्छे?
कि डराउँछ देश?


ओ मेरो प्रिय दोस्त कार्ल मार्क्स
जुन दिन जलाइयो तिम्रो विचार बोकेको किताब
पुलिस कार्यालयमा
हो त्यही दिनयता
पुलिससँग मेरो कट्टर दुश्मनी बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.