|

भद्रपुर : चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड—१९) विश्वभर महामारीको रूपमा फैलिरहेको भन्दै यसबाट बच्नलाई भारतको सिक्किम र भुटानमा विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कोरोनाबाट आफ्नो राज्यको नागरिकलाई बचाउन सिक्किम सरकारले बिहीबारदेखि नै सबै इनरलाइन परमिट रद्द गरेसँगै विदेशी नागरिकको प्रवेशमा पूर्ण रूपमा रोक लागेको छ। बुधवार राज्यको सचिवालय टाशिलिङमा बसेको उच्चस्तरीय बैठकमा मुख्यसचिवलगायत अन्य उच्च अधिकारीको उपस्थित यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

साथै नेपालसँग जोडिएको सिक्किमको सीमा क्षेत्र चिवाभञ्ज्याङलगायत राज्यका सबै नाकामा चौबिसै घण्टा निगरानी टिम खटाउने निर्णय समेत राज्य सरकारले गरेको छ। सिक्किमका स्वास्थ्य मन्त्री डा. एमके शर्माले कोरोना भाइरसलाई सिक्किम छिर्न नदिनका लागि यस्तो सुरक्षा व्यवस्था लागू गरेको जानकारी दिएका छन्।

त्यस्तै, भुटानमा पनि कोरोना भाइरसको संक्रमणबाट बच्न भुटान सरकारले दुई हप्ताका लागि विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ। भुटानमा पनि कोरोना भाइरस संक्रमित बिरामी भेटिएको छ। भुटान घुम्न गएका अमेरिकन नागरिकमा कोरोना भाइरस देखा परेपछि भुटान सरकारले सहजकता अपनाउँदै यस्तो निर्णय गरेको हो।

यता सिक्किम राज्य सरकारले विदेशी नागरिकमाथि रोक लगाएपछि पश्चिम बङ्गालको सिलीगुढी बस पार्कमा सिक्किम घुम्न आएका पर्यटक अलपत्रमा परेका छन्। नेपालसहित भुटान, बंगलादेशलगायतका पर्यटकहरू सिक्किम घुम्न जान नपाएपछि दार्जिलिङतर्फ गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.