|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ०७७ को फागुन दोस्रो हप्ता हुनेगरी कार्यतालिका आइसकेको छ। यो अधिवेशनबाट नेतृत्व सम्हाल्ने दाउमा धेरै नेता छन्। धेरैले यसपालि कांग्रेसको नेतृत्व फेरिने विश्वास पनि लिएका छन्। पूर्व-महामन्त्री तथा नेपाली कांग्रेसमा तेस्रो गुट स्थापित गर्न सफल भएका कृष्णप्रसाद सिटौलाले त फागुन १९ गते झापा पुगेर सभापतिको लागि उम्मेदवारी नै घोषणा गरिसकेका छन्। 

नेपाली कांग्रेसको ०७७ फागुनमा हुने १४ औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने बताउँदै नेता सिटौलाले भने, ‘पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेदवारी आवश्यक छ। मुलुकको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको छ उनले भने, ‘त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको छु।’   

उता यसपालि धेरैले सभापतिको आँकलन गरेका नेता शेखर कोइरालाले अघिल्लो वर्षदेखि नै सभापतिका लागि कसरत गरेको देखिन्छ। उनले अहिलेसम्म प्राय: सबैजसो जिल्ला भ्रमण गरेर नेता र कार्यकर्तासँग भेटघाट गरिसकेका छन्। यतिबेला उनी दोहोर्‍याएर जिल्ला दौडाहामा जाने योजनामा छन्। यद्यपि, उनले आधिकारिक रूपमै सभापति पदको लागि उम्मेदवारी घोषणा भने गरेका छैनन्।

‘सबैलाई मिलाएर, सबैलाई अघि बढाएर सभापति लड्ने तयारीमा हो,’कोइरालालाई उदृत गर्दै उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए। कोइराला एकडेढ वर्षयता हरेक जिल्ला पुग्‍ने, जिल्लाका सभापति तथा नेतृत्व भेट्ने र कार्यकर्तामाझ पुग्‍ने गरेका छन्। 

शेखरलाई सभापतिमा उठ्नको लागि सबैभन्दा अप्ठ्यारो आफ्नै परिवारबाट हुने पक्का छ। अहिलेका महामन्त्री शशांक कोइरालालाई फकाएर उपसभापति बनाउने र आफू सभापति बन्‍ने दाउ शेखरको रहेको बताइन्छ। तर, महामन्त्री शशांक कोइराला पनि सभापति पदमा उम्मेदवार दिनबाट पछि हट्ने स्थितिमा नरहेको उनीनिकट स्रोतले बतायो। 

‘शशांक दाइ अहिले महामन्त्री हो त्यसैले पनि उहाँले सभापतिको लागि दाबी गर्नु स्वाभाविक हो,’ स्रोतले भन्यो, ‘उहाँले महामन्त्री हुँदैमा सभापतिको लागि दाबी गर्नुभन्दा पहिले अघिल्लो महाधिवेशनमा महामन्त्रीको लागि शेखरदाइले राम्रै सहयोग गरेको पनि त बिर्सन भएन। अरू उहाँकै कुरा हो।’ 

के गर्लान् त देउवा? 

भर्खरै १३ औँ महाधिवेशन सकिएको छनक दिनेगरी यतिबेला कांग्रेसका सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन र आमन्त्रित केन्द्रीय सदस्यहरू मनोनीत गरिरहेका छन्। देउवाले आफू बलियो हुनेगरी विभागमा आफूनिकट नेतालाई नियुक्ति गरेका छन्। आगामी अधिवेशनमा पनि आफू नै बलियो हुने र पार्टी कब्जा गर्ने दाउमा देउवा रहेको असन्तुष्ट पक्षको बुझाइ छ। ‘लोकतान्त्रिक पार्टी हो लोकतान्त्रिक पद्दतिअनुसार नै १४ औँ महाधिवेशन हुन्छ,’ देउवानिकट स्रोतले भन्यो, ‘सभापतिज्यू फेरि सभापति पदकै लागि चुनाव लड्न सक्नुहुन्छ।’ 

के भन्छन् पौडेल? 

वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सभापति देउवापछि बलियो गुट स्थापित गरेका छन्। पौडेलले अझै एक वर्ष समय बाँकी रहेकोले समय आएपछि नै सभापतिबारे चुनाव लड्ने नलड्ने टुंगो लाग्‍ने बताए। ‘अहिले हामी पार्टीमा मौलाउँदो विकृति हटाउने अभियानमा छौँ,’ पौडेलले भने, ‘समय आएपछि पार्टीको नेतृत्व सम्हाल्ने व्यक्ति को हुने भनेर हाम्रो समूहले छनोट गर्छ।’ 

देउवाले यसरी चिढ्याए 

देउवाले १७ फागुनमा असन्तुष्ट नेता रामचन्द्र पौडेलको सहमतिविनै विभाग गठन गरे। विभाग गठन र नियुक्तिलाई लिएर वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालासहित अधिकांश नेताले खुलेरै विरोध गरे। सहमतिविना कुनै निर्णय नगर्ने भनेर एक महिनाअघि पौडेल पक्षसँग गरेको सहमति देउवाले नै पालना गरेनन्। आफ्नो कार्यकाल सकिनै लाग्दा अर्काे अधिवेशनको मिति तोकेपछि मात्रै देउवाले धमाधम विभाग गठन गरे।

आफू बलियो बन्‍न विधानको धारासमेत निलम्बन गर्न तयार रहने देउवाविरुद्ध अधिकांश जिल्ला सभापतिहरूले काठमाडौंमै भेला भएर उनको कार्यशैलीप्रति खुलेरै विरोध पनि गरे। अहिले सभापति देउवा पक्ष सानेपा र बूढानीलकण्ठमा गुट भेला गर्न व्यस्त छ भने वरिष्ठ नेता पौडेल पक्ष पूर्व-महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएर देउवाविरुद्ध उत्रिने कार्ययोजना बनाइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.