आशामा छन् सडक किनारका धिपधिप बत्ती

|

काठमाडौं : मान्छेहरुको भिडभाड। त्यहि भिडमा सानो स्पिकरमा बजिरहेको थियो,‘गोंगबु बस्‍ने विष्णुकुमार श्रेष्ठको दुवै मिर्गाैलाले काम गर्न नसक्ने अवस्था छ, परिवारको आर्थिक अवस्था निकै नै कमजोर भएकाले उपचारका लागि हजुरहरुको सहयोग अमूल्य हुँदा सहयोग गरिदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु,तपाईंहरुको सानो सहयोग नै हाम्रो लागि अमूल्य हुने छ।’

यो बिन्ति बिसाउने रामेछापका मिर्गाैला पीडित श्रेष्ठ नै थिए। ४२ वर्षीय उनी शुक्रबार रत्नपार्कको सडकमा आर्थिक सहयोग मागिरहेका थिए। ‘प्रेसरले गर्दा अचानक दुवै मिर्गाैला फेल भयो, ’उनले भने,‘अहिले डाइलाइसिस गर्नुपर्छ, औषधि किन्‍ने पैसा छैन, त्यही भएर सडकमा आएर पैसा माग्‍न बाध्य भएँ।’

उनले प्रधानमन्त्री उपचाररत शिक्षण अस्पतालमै 'डायलाइसिस' गरिरहेका छन्। पहिला हप्तामा 'डायलाइसिस' गर्दा आठ हजार रूपैयाँ खर्च हुन्थ्यो। अहिले 'डायलाइसिस' नि:शुल्क छ। तर, औषधी, रगत र सुई चढाउन यसैगरी सडकमा बसेर खर्च जुटाउनुपर्छ।

श्रेष्ठ ५ वर्ष अघि मलेसिया गएका थिए। उनले त्यहाँ धेरै दु:ख गर्न सकेनन्, नेपाल फर्किए। दुर्भाग्यवश २०६८ सालमा उनको मिर्गाैला फेल भयो। २०६९ सालबाट 'डायलाइसिस' सुरू गरे। उनले सडकमा बसेर सहयोग माग्‍न थालेको ८ वर्ष भएको छ। तर रोगले छोडेको छैन, झन्-झन् गलाउँदैछ।

उनको परिवारमा श्रीमती र एक छोरा छन्। सरकारलले मिर्गाैला प्रत्यारोपणमा सहयोग गरे आफू भाग्यमानी ठहरिने बताउँछन्‌ उनी। ‘प्रधानमन्त्री केपी ओली आफैं मिर्गाैलापीडित हुनुहुन्छ,' उनले भक्कानिँदै थाहा खबरसँग भने,‘दुईपटक मिर्गाैला फेरिसक्नु भएको छ, कति खर्च लाग्छ-उहाँलाई राम्रोसँग थाहा छ, उहाँसँग पैसा छ, शक्ति  छ, बाँचिरहनु भएको छ। हामी भने उपचार गर्ने पैसा जुटाउन सडकमा आउनु परेको छ, पैसा भए हाम्रा पनि खुसीका दिन आउँथे।

उनले नि:शुल्क डायलाइसिस बाहेक थप सरकारी सहयोगको अपेक्षा राखेका छन्‌। डायलाइसिस गर्दा हातमा भएको घाउ देखाउँदै उनी भन्छन्, ‘डायलासिस गर्दा चाहिने सामग्री कहिले भनेको बेला पाइँदैन, त्यस्तोबेलामा ब्यथा खेपेर बस्‍नुपर्छ, पैसा भएमात्रै बाँचिदो रहेछ। पैसा नभए जीवन धरापमा पर्छ। बाँच्‍न कस्लाई पो रहर हुँदैन र?’ 

उनका अनुसार सहयोगी मन हुनेले ५/१० रुपैयाँ सहयोग गर्छन्। दैनिक पाँच सयदेखि एक हजारसम्म जम्मा हुन्छ। त्यही पैसाले अहिलेसम्म उपचार गर्दै आएका छन्। हप्तामा सोमबार र बिहीबार दुई पटक 'डायलाइसिस' गर्नुपर्छ।

‘परिवारबाट मृगौला दिने भए पनि खर्च धेरै लाग्छ, फेरेर पनि औषधि खान सक्नुपर्छ, डाक्टरहरुले मृगौला फेर्न ८ लाख रूपैयाँभन्दा बढी लाग्छ भनेका छन्। ६ महिनामा ५० हजारसम्मको औषधि खानुपर्छ। 'डायलाइसिस' गरेर अहिलेसम्म बाँचेको छु। अरु केही विकल्प छैन’, उनी थप्छन्। 'डायलाइसिस' गर्दा शरीर धेरै कमजोर हुने उनी सुनाउँछन। 'डायलाइसिस'सँगै उनले महिनामा ६ हजार भन्दा बढीको औषधि खाइरहेका छन्। 

पतिलाई जोगाउन तारादेवीको बिलौना

अर्का मिर्गाैलापीडित लागि वीर अस्पताल अगाडिको सडकमा आर्थिक सहयोग मागिरहेकी छिन् एक महिला। उनी हुन् तारादेवी मिश्रकोटी। उनका पति शम्भु बहादुर मिश्रकोटी मिर्गाैला पीडित हुन। उनैका लागि मिश्रकोटीले हात फैलाइरहेकी छिन्। ललितपुरको इमाडोलस्थित डेरामा बस्दै आएका उनीहरु सुकुम्बासी हुन्। उनले पतिको जीवन बचाउन सडकमा सहयोग माग्न थालेको डेढ वर्ष भइसकेको छ। तर, उनको यो पीडाबाट राहत पाउनुको साटो झन् झन् दु:ख भोगिरहेका छन्।

उनले पतिको रोगको बेलिविस्तार यसरी लगाइन्, ‘पहिला मेरा पतिलाई दमको रोग थियो, उच्च रक्तचाप पनि देखियो, विस्तारै हातगोडा सुनिन थाले, के भयो भनेर अस्पताल जाँदा उच्च रक्तचापले मिर्गाैला फेल भएको डाक्टरले सुनाए। हामी छाँगाबाट झरेजस्तै भयौँ। गर्नुजति सबै उपचार गरेँ। तर, ठीक गराउन सकिएन।’ 

भएको सबै सम्पति सकेपछि छोराछोरीलेसमेत हरेस खाएको उनले बताइन। ‘आफ्नो घर छैन’, उनले आँसु पुछ्दै भनिन्, ‘हामी सुकुम्बासी हौँ, छोराछोरी र मैले कमाएको सबै सकियो, बेडमा पति छटपटाइरहेको देख्‍न सक्दिनँ। डाक्टरहरुले लौ न औषधि ल्याउनु पर्‍यो भन्छन्। आफ्नो गोजीमा पैसा छैन। त्यसैले केही सहयोग मिल्छ कि भनेर म आफैं सडकमा आएँ।’ 

उनका अनुसार मिश्रकोटीको गत भदौमै मिर्गाैला फेल भएको थियो। ६० वर्षीय मृगौला पीडित उनका पति अहिले इमाडोलको किष्ट अस्पतालमा छन।  हप्ताको दुई पटक 'डायलाइसिस' गर्नुपर्छ। रगत चढाउनुपर्छ। सडकमा दैनिक एक हजार रुपैयाँसम्म पैसा उठ्छ। त्यही पैसा जम्मा गरेर औषधोपचार गरिरहेका छन्। अहिलेसम्म उपचारमा २१ लाख रूपैयाँ खर्च भइसकेको बताउँदै उनले सरकारबाट आर्थिक सहयोग मिले पतिको जीवन जोगिने आशामा रहेको सुनाइन्।

‘प्रधानमन्त्री ओलीले मिर्गाैला पाएको सुन्छु, ’उनले भनिन, ‘उहाँले नयाँ जीवन पाउनुभएकोमा खुसी लागेको छ, हामी पनि खुसी हुन चाहन्छौं, जनता यसरी सडकमा मागेर बसेको सरकारले देखेन, आर्थिक सहयोग पाए पतिको पनि प्रधानमन्त्रीको जस्तै जीवन बच्‍ने थियो।’ 'डायलाइसिस' गर्दा  पैसा तिर्नु नपरेकोले केही सजिलो भएको उनले सुनाइन्।

तर थप समस्या पनि छ। ‘डायलाइसिस गर्दा अस्पतालले पैसा लिँदैन,’ उनले भनिन्, ‘औषधि अनिवार्य ख्वाउनुपर्छ, यसको आफैँलै खर्च व्यहोर्नुपर्छ, महिनामा २५ हजार भन्दा बढी खर्च लाग्छ।' अहिलेसम्म सडकमा सहयोग मागेरै उनले पतिलाई बचाइरहेकी छन्। 

‘जाँड-रक्सी खाएर र खानलाई यो ठाउँमा आइपुगेको होइन,’ उनले आँसु थाम्‍न सकिनन्। एकछिन रोकिएर सर्वसाधारणलाई अपिल गर्छिन्, ‘सहयोगी मनहरुले सहयोग गर्नुस्, मेरो पतिको ज्यान बचाइदिनुस।’

प्रधानमन्त्री ओलीको फागुन २१ गते स्वदेशकै अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएपछि सडकमा आर्थिक सहयोग माग्दै बसेका मिर्गाैलापीडितहरु  सरकारले यसैबेला आफ्नो आवाज सुनेर केही थप सहयोग गरिदेला कि भनेर थप आशावादी बनेका छन् । उनीहरु जीवनको टुकीमा अलिकति मट्टितेल र सानो सलेदो सरकारले हालिदेला भन्ने अपेक्षा गर्छन् ।

नेपालमा मिर्गौला पीडित कति छन एकीन तथ्यांक छैन। करिब ३० लाख मानिसमा मिर्गौलासम्बन्धी केही न केही रोग भएको अनुमान छ। ३० लाखमध्ये ३ लाखलाई मिर्गौलाको गम्भीर समस्या रहेको चिकित्सकहरु बताउँछन्। करिब ३० हजार मानिसको मिर्गौला पुरै बिग्रिएको छ। त्यसमध्ये ३ हजारको प्रत्यारोपण गर्नुपर्ने र नियमित 'डायलाइसिस'को आवश्यकता छ। 

युट्युबरबाट त्रसित मिर्गौैलापीडित

सडकमा आर्थिक सहयोग माग्दै आएका मिर्गौलापीडित युट्युबरबाट त्रसित भएका छन्। रत्नपार्कको आकाशेपुलमाथि सहयोग मागिरहेका एक मिर्गौला पीडितले भने, ‘हाम्रो भिडियो नेटमा हाल्दै युट्टुब चलाउनेले पैसा खाने गरेका छन्, म त बोल्दिनँ।’ उनी आफ्नो पीडाबारे मिडियासँग केही बोल्नै चाहँदैनन्‌। 

महानगरको अभियान अलपत्र

काठमाडौं महानगरपालिकाले गत मंसिर २९ गते सडक मानवमुक्त सहर अभियान घोषणा गरेको थियो। काठमाडौं महानगरपालिकाको २५ औँ महानगर दिवस कार्यक्रममा सडक मानवमुक्त शहर घोषणा गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले भनेका थिए, ‘सडकमा कोही बेसहारा भएर बस्‍न् पर्दैन, देख्नुभयो भने तत्कालै सम्पर्क गर्नुहोस।’ 

महानगर प्रमुख शाक्यले घोषणा गरेको अभियान अझै अलपत्र परेको छ। बेसहारा भएकै कारण सडकमा आर्थिक सहयोग मागिरहे पनि महानगरपालिकाले सहयोग गरी व्यवस्थापन गर्न सकेको छैन। अहिले पनि महानगरपालिकाकै गेटअघि नै सहयोग माग्ने भेटिन्छन्‌। यस्ता सहयोगापेक्षीका कारण महानगरले यो समस्या अझै व्यवस्थित गर्न सकेको छैन। किनभने उनीहरुलाई खानका लागि मात्र भीख माग्नेको दर्जामा होइन, बाध्यताले सहयोगको अपेक्षा गर्दै सडकमा पुगेका नागरिकका रुपमा लिने गरिन्छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.