सरसफाईमा ध्यान नदिँदा गाउँभरी फैलियो

|

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा  फैलिएको अज्ञात रोगको पुष्टि भएको छ।

तीन दिन अघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो।

गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालकी डा.मेलिना हमालले जानकारी दिइन्‌। 'शुक्रबार साझँमात्रै टेकुबाट ल्याब परीक्षणको रिपोर्ट आयो, रिपोर्टमा अरुबेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ,' डा. हमालले भनिन्‌।

'सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरीनै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने,जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएको पायौँ।'

अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाई कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्ने लगाएतका स्वास्थसम्बन्धी धेरै कुराहरु सिकाएको डा.हमालले जानकारी दिइन्‌।

बिरामीको अवस्था सुधार

पाँच जना स्वास्थकर्मीले लेखनाथ आधारभुत बिद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्थामा सामान्य भएको छ।  बिरामीहरु स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन्।

दैनिक औषधि खाएपछि आफुहरु पहिलाको जस्तै स्वस्थ भएको एकसातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए। सरसफाईमा ध्यान नदिँदा गाउँभरीका सबै मान्छे बिरामी परेको स्वास्थकर्मीले बताएकाले अबदेखि सधैँ आफु, आफ्नो परिवार, घर-आँगन, गाउँघर सफा राख्ने बोहोराले बाचा गरे। आफुहरु सञ्चो भएर पनि पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनले बताए।

दुईसाता देखि थला परेका रुघाखोकी,ज्वरो र पखालाका १ सय ५० जनाको नियमित उपचार गरेपछि बिरामीहरु सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा.मेलिना हमालले बताए। चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थकर्मीहरु फेरी गाउँ पुग्ने बताइएको छ।

उपचारका क्रममा १ सय ५० जना बाहेकका ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या पनि देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा.हमालले बताइन्‌।

'मास्क लगाउन सिकायौँ'

करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थकर्मीले बताएका छन्।

'त्यहाँका स्थानीयले रुघाखोकी लाग्दा मास्क लगाउनु पर्छ भन्ने थाहा त रहेछ, तर यस्तो अवस्थामा खोक्दा वा हाच्छिउँ गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो,' डा. हमालले भनिन्‌।

अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाच्छ्युँ गर्ने र सरफाइमा उत्तिकै ध्यान दिने,पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताइन्‌।

सरसफाइमा ध्यान नदिए झाडापखाला फैलने डर

करेलीकाँडाका स्थानीयलाई सरसरफाई सम्बन्धि त्यति ज्ञान नभएको स्वास्थकर्मीले बताए। सरसफाईमा ध्यान नदिएकै कारणले एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभर नै मौसमी रुघाखोकीको फैलिएको उनीहरुको भनाई छ।

'आफुहरुले सरसरफाई सम्बन्धि धेरै कुराहरु सिकाएका छौं, यि कुराहरुलाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ,' स्वास्थ चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भनिन्‌।


स्वास्थ्य परीक्षण गराउँदै स्थानीय ।

झाडापखाला मात्र नभई आँखा पाक्ने रोग फैलने सम्भावना पनि उत्तिकै रहेको स्वास्थकर्मीले बताए। 'बच्चा बच्चीलाई दिसा-पिसाब घर आँगनमै गराउने, ठुला मान्छेले पनि जथाभावि दिसा पिसाप गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य बस्तुहरु राम्रोसँग नपकाएरै खाने लगाएतका कुराहरुमा ध्यान नदिने गरको पाइयो।'

यदि यी कुराहरुमा ध्यान नदिए अर्कोपटक झाडापाखालाले महामारीको रुप लिनसक्ने उनको भनाई छ। झाडपखाला लाग्दा के गर्ने के नगर्ने भनेर पनि सिकएको न्यौपानेले बताइन्‌।

स्वयमं सेविकालाई औषधिको जिम्मा दिनुपर्छ 

गाउँदेखि स्वास्थ चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वमं सेविकालाई तालिम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थकर्मीले बताएका छन्।

'सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ, बिरामी पर्दा कसरी स्वास्थ चौकीसम्म पुग्न सकिएला, सिटामोल, जीवनजल लगाएतका सामान्य औषधिहरु गाउँमै स्यमंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन पनि डेढ घण्टा हिँड्न नपरोस्‌,' स्वास्थ चौकी त्रिपुराकोटका सिनियर अहेव शेरबहादुर कठायतले भने।

स्वास्थकर्मी फर्किए

करिब एकहप्ताको बसाईपछि स्वास्थकर्मी पनि आफ्नो जिम्मेवारी पूरा गरी फर्किएका छन्।

मौसमी रुघाखोकी कारण गाउँनै थलापरेपछि स्वास्थ चौकी त्रिपुराकोटबाट सिनियर अहेव शेरबहादुर कठायत, अनमी लक्ष्मी न्यौपाने, प्रदेश अस्पतालका डाक्टर इन्द्रबहादुर थापा, जिल्ला अस्पतालका डाक्टर मेलिना हमाल र सारङ्गा रोकायको टोली रोगग्रस्त करेलीकाँडा पुगेका थिए।

शुक्रबार ल्याब परीक्षणको रिपोर्ट सामान्य आएसँगै स्वास्थकर्मीको टोली पनि फर्किएको हो। लामोसमय गाउँमै बसेर आफुहरुको उपचार गरेको भन्दै स्थानीयले स्वास्थकर्मीलाई धन्यवाद दिएका थिए।

सरकारको अनुभुति

विकट जिल्लाको विकट गाउँमा मौसमी रुघाखोकीले गाउँनै थला परेको अवस्थामा यथाशिघ्र उपचारका लागि राज्यले ठुलो सहयोग गरेको स्थानीयले बताए।

'यति सानो गाउँका लागि राज्यले हेलिकप्टरमा औषधि सहित डाक्टर पठायो, त्यस्तै स्थानीय स्वास्थकर्मी पनि पुगे, सयौँको सङ्ख्यामा रहेका बिरामीको उपचार सम्भव भयो,' वडा नं १ का सदस्य ज्ञानबहादुर बुढाले भने। वास्तवमा दुर्गममा नागरिकले पत्यक्ष रुपमा राज्यको अनुभुति गरेको उनले बताए।

गाउँको वास्तविक अवस्था समयमै बाहिर ल्याएर सबैको ध्यानाकर्ष गर्ने मिडिया, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार र बिशेष गरेर स्वास्थकर्मीप्रति बुढाले आभार प्रकट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.