|

जनकपुरधाम : मिथिला नाट्य कला परिषद् (मिनाप) ले जनकपुरमा यस वर्ष पनि धुमधामका साथ होरी महोत्सव र महामूर्ख सम्मेलन गर्ने भएको छ।

१२ औं महामूर्ख सम्मेलनमा ‘महामूर्ख’ उपाधि दिने व्यक्तिको खोजीमा मिनापको टिम लागेका छन्। अहिले जनकपुरमा यसवर्ष कसले ‘महामूर्ख’ को उपाधि पाउने चर्चाको विषय बनेको छ। मिनापका अध्यक्ष परमेश झाले ‘महामूर्ख’ कसलाई बनाउने विषयमा गम्भीर छलफल भइरहेको बताए।

शनिवार मिनापद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्व उपप्रधान तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, अन्य मन्त्रीहरू र केही समाजसेवी मध्यै एक कुनै एकजना ‘महामूर्ख’ को उपाधि पाउने बताए।

हरेक वर्ष महामूर्ख सम्मेलनमा योग्य र सक्षम व्यक्तिलाई व्यंग्यात्मक शैलीमा ‘महामूर्ख’ को उपाधि दिने गरेको उनको भनाई छ। होलीको अवसरमा गरिने महामूर्ख सम्मेलन यसवर्ष फागुन २६ गते जनकपुरको जानकी मन्दिरमा हुन लागेको छ। त्यसअघि आइतबार होली महोत्सवको आयोजना पनि जानकी मन्दिरमै हुने छ। महोत्सवमा कवि सम्मेलन समेत हुनेछ। उत्कृष्ट कवि छनोट गरी सम्मान गर्ने कार्यक्रम रहेको कला परिषदले जनाएको छ।

होली महोत्सवमा गरिने ‘जोगिरा’ प्रतियोगिता प्रदेश २ का सिरहा, सप्तरी, महोत्तरी र धनुषाका १० टिम सहभागी हुने मिनापका पूर्वअध्यक्ष सुनिल मलिकले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी समूहहरूले परम्परागत शैलीमा ‘जोगिरा’ गाउने छन्। डम्फू र ढोलकको तालमा गाइने ‘जोगिरा’ लोप हुन लागेकाले त्यसको संरक्षणका लागि प्रतियोगिता गरिने गरेको उनको भनाई छ।

के हो महामूर्ख सम्मेलन?

सांस्कृतिक अभियानको नाम हो महामूर्ख सम्मेलन। यस सम्मेलनमा मिथिला र नेपालका खास चर्चित व्यक्तिलाई व्यंग्यपूर्ण शैलीमा सम्मान गरिन्छ। होलीका दिन भनिन्छ ‘बुरा नै मानु होली छै।’ अर्थात् गलत रुपमा कसैले नलिनुस् होली छ। यही तर्जमा यो दिन वर्षभरिमा भएका राम्रा-नराम्रा कामको समीक्षा गरी उदासीनतामा व्यंग्य गर्छन्। विशेष गरी आफ्नो क्षेत्रमा राम्रो काम गर्नेलाई सम्मान स्वरुप व्यंग्यात्मक शैलीमा ‘महामूर्ख’ को उपाधि दिने चलन छ।

घोषित महामूर्खलाई तरकारी, फलफूल, सागको माला लगाइन्छ। साथै मिथिला पेन्टिङमा सजिएका व्यंग्यपूर्ण नमूनाहरू पस्किने गरिन्छ। महामूर्खको घोषणा भएका व्यक्ति सगौरव सम्मान ग्रहण गर्छ। कतिपयले त आफूलाई महामूर्खको उपाधि नदिएकोमा दुःख गर्छन्।

साहित्यकार डा.राजेन्द्र विमल, नेकपाका नेता रामचन्द्र झा, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडि ‘भ्रमर’, राजपा नेता वृषेशचन्द्र लाल, जनकपुरधाम नगर प्रमुख लालकिशोर साहलगायतका चर्चित व्यक्ति विगतमा ‘महामूर्ख’ को उपाधि पाइसकेका छन्।

कोरोनाबाट बच्न अर्गानिक अविर र फूलको प्रयोग

कला परिषद्वारा गरिँदै आएको होली महोत्सव र महामूर्ख सम्मेलनमा विगतमा अत्यधिक मात्रामा रंग अविरको प्रयोग गरिन्थ्यो। तर कोरोना भाइरसको त्रासले यसवर्ष रंग अविरको सट्टा अर्गानिक अविर र फूलको प्रयोग गरिने मिनापले जनाएको छ।

प्रशासनले कोरोना भाइरसबाट बच्न अत्यधिक भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ। त्यसैले मिनापले भने कोरोना भाइरसबाट बच्न सचेतनामूलक सन्देश दिने र मास्क समेत वितरण गरी होली महोत्सव र महामूर्ख सम्मेलन गर्ने बताइएको छ।

मिनापका अध्यक्ष परमेश झाले विगतमा मनाउने भन्दा केही शैली परिवर्तन गरी कार्यक्रम गर्ने बताए पछि प्रशासनले अनुमति दिएको जिकिर गरे। उनले भने, ‘हामी विज्ञसँग समेत छलफल गरिरहेका छौं। सकभर कोरोना भाइरसबाट बच्ने उपायहरू व्यंग्यात्मक शैलीमा कार्यक्रम हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.