महिनाभरिमा हिँड्छन् बल्‍ल दुईजना

|

बागलुङ : कालीगण्डकी नदीमाथि लामा र अग्ला पुल बन्ने क्रम जारी छ। उत्तरमा बेनी बजार र दक्षिणमा पालुङखोला बीचमा झोलुंगे पुल बन्ने क्रम सुरु भएको विसं १९८० को दशकबाट हो।

कालीगण्डकीमाथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवतजावतका लागि बनाइएका साना र छोटापुलहरू प्रयोगविहीन बन्न थालेका छन्। बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरूका कारण दशकौं पहिला बनेका छोटा र होचा पुलहरू प्रयोगविहीन बनेका हुन्।

पुल बन्नुअघि डुंगामा ओहोरदोहोर

अहिलेभन्दा १०० वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्नेगरी बनेको पुलका अवशेषसमेत बाँकी छैनन्। बागलुङका नन्दकुमार श्रेष्ठको सम्झना उनको परिवारले व्यक्तिगत लगानीमा उक्त पुल बनाएका थिए। पुल बन्नुपूर्व डुंगामा ओहोरदोहोर गर्ने बागलुङेहरूलाई पहिलोपटक कालीगण्डकी तर्न सहज भएको इतिहासका जानकार काजी रोशन बताउँछन्।

प्रयोगविहीन बन्दै झोलुंगे पुल

१० वर्ष पहिले नेपाल सरकारले नयाँ प्रविधिको ‘स्सपेन्सन ब्रिज’ निर्माण गरेपछि पुरानो पुलका सबै संरचना हराए। नयाँ बनेको पुलमा समेत मानिसहरूको आवतजावत निकै कम छ।

मालढुंगामा मोटर चल्नेगरी २०५० सालमा पुल बनेपछि उक्त पुल प्रयोगविहीन अवस्थामा रहेको छ। निरहेको पुलमा अहिले घाँस दाउरा गर्ने र खेतिपातीका लागि वारिपारि गर्नेहरू मात्रै प्रयोग गर्दै आएका छन्। विकासको क्रमसँगै बागलुङमा सवारी भित्रिएपछि पुलको प्रयोग घटेको काजीरोशन बताउँछन्।

बागलुङको बलेवा क्षेत्र र पर्वतको सदरमुकाम कुश्मा बजार तथा बागलुङको जैमिनी क्षेत्र र पर्वतको फलेवास क्षेत्र जोड्नेगरी आधा दर्जनभन्दा धेरै छोटो दूरीका झोलुंगे पुलहरू बनेका छन्।

बागलुङको कुश्मीशेरामा पर्ने जैमिनी घाट र पर्वतको देविस्थान जोड्ने गरी  १९९० सालभन्दा पहिला खानीगाउँका भवानीप्रसाद शर्मा र मोतीप्रसाद शर्माले झोलुंगे पुल निर्माण गरेका थिए। दक्षिण बागलुङका सर्वसाधारणको प्रदेश जाने र नुन तेल ल्याउन बटौली जान कालीगण्डकी तर्ने एक मात्रै माध्यमको रुपमा रहेको उक्त पुल पछिल्लो समय मर्मतसमेत हुन सकेको छैन।

पुलबाट तर्ने महिनामा एक/दुईजना

१० वर्ष पहिलासम्म दैनिक हजारौं मानिसको ओहोरदोहोर हुने उक्त पुलमा अहिले मुस्किलले महिनामा एक दुईजना मानिस आवतजावत गर्ने गरेको स्थानीय केदार शर्मा बताउँछन्।

विसं २०३० को दशकमा यो पुल चुडिँदा कैयौं मानिसहरूको मृत्यु भएको जैमिनी नगरपालिकाका पुराना शिक्षक कृतिनाथ शर्माले बताए। चुँडिएको पुललाई पटक-पटक मर्मत गरेर बनाइएका संरचना अहिले पनि बाँकी छन्। पुरानो पुलभन्दा केही तल जैमिनी ऋषिको मन्दिर नजिकैबाट २०६० को दशकमा अर्को झोलुंगेपुल बनेपछि यो पुल प्रयोगविहीन अवस्थामा रहेको छ।

जैमिनीघाटमा झोलुंगे पुलनजिकै प्रदेश सरकारको लगानीमा मोटर चल्ने पक्की पुल निर्माणको कामसमेत भइरहेको फलेवासका समाजसेवी भोलानाथ शर्माले बताए।

अग्‍ला पुल निर्माणको लहर

कालीगण्डकीले बनाएको खोँचमा निर्माण भएका पुलहरूमा निर्भर रहेका यहाँका सर्वसाधारणलाई खोँच माथिबाट बन्ने पुलले सहजता प्रदान गरिरहेको छ।

विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुंगे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर उक्त पुल निर्माण भएपछि बागलुङ र पर्वत जोड्ने अग्ला पुल निर्माणको लहर चलेको हो। मोदीखोलामाथि निर्माण भएको यो पुलको लम्बाइ ३४५ मिटर र उचाइ १३५ मिटर रहेको छ। त्यस्तै कुश्मा–कैया झोलुङ्गे पुल २०७० फागुनदेखि सञ्चालनमा आयो।

यो  झोलुंगे पुलका कारण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन्। यो पुल निर्माण भएसँगै खोँचमा रहेको कैया–कुश्मा जोड्नेगरी बनाइएको पुल प्रयोगविहीन छ। २०६० देखि ७० को दशकमा यो पुलको प्रयोग गरेर दैनिक ३ हजारभन्दा धेरै मानिस ओहोरदोहोर गर्थे।

बलेवाकै नेपाने र कुश्मा जोड्ने अर्को सानो पुलसमेत घाँस दाउरा गर्नेहरूको लागि मात्रै भएको छ। साना र छोटा पुलहरूको प्रयोगमा कमी आउनुको अर्को कारण केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल हो।

०६९ देखि सञ्चालनमा आएको यो पुलकै कारण पनि खोँचमा कालीगण्डकी माथि बनेका पुलको प्रयोग घटेको वलेवाका स्थानीय भरत पौडेलले बताए।

यस्तै, एक वर्ष पहिला मात्रै बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवावारी जोड्ने गरी निर्माण थालिएको ‘सस्पेन्डेट डी टाइपको’ यो झोलुंगेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइ निर्माण भइरहेको छ। यो पुल प्रयोगमा आएपछि थप केही साना पुलहरू प्रयोगविहीन हुनेछन्।

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको पुल यसै आर्थिक वर्षमा सक्नेगरी हिमशिखर-बिएलटी-थानी जेभी कन्स्ट्रक्सनले ७ करोड ९७ लाख ८६ हजार रुपैयाँ ठेक्का सम्झौता गरेको थियो। यो पुलको निर्माण लागत रु. १२ करोड २२ लाख १८ हजार ९५७ छ।

बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिका जोड्ने गरी जैमिनी–५ बिनामारे र फलेवासको देविस्थानमा पनि अर्को अग्लो र पुल बनिरहेको छ। निर्माणाधीन दुवै पुलको काम सकिएपछि थप साना झोलुंगे पुलहरू प्रयोगविहीन बन्नेछन्।

पुरानालाई संरक्षण गर्नुपर्छ

नयाँ प्रविधिका अग्ला र लामा पुलहरू बने पनि पुराना पुलको पनि संरक्षण र प्रयोगको वातावरण मिलाउनुपर्ने जानकारहरू बताउँछन्। ‘संरचना त्यसै बनेका होइनन् ठूलो लगानी र तपस्याले बनेका हुन्।’

पर्वतको खानिगाउँका समाजसेवी भोलानाथ शर्माले भने, ‘नयाँ बनेका संरचनाको उपयोग गर्दा पुराना संरचनाको सदुपयोगको विषयमा पनि सोच्नुपर्छ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.