|

काठमाडौं : पुरातात्विक महत्व बोकेको राष्ट्रिय सम्पदा धरहरा पुनर्निर्माणका क्रममा ९ तलासम्म ढलान गरिएको छ। 

२०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अत्याधुनिक २२ तले धरहरा पुनर्निर्माण गरिरहेको छ। 

धरहरा पुनर्निर्माणमा खटिएका कामदारका अनुसार धरहराको ९ तला ढलान गरी अहिले १०‌‍‍औं तलाको काम हुँदैछ। प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्यालले अहिलेसम्म धरहरा निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे।

उनले भने, ‘धरहरा पुनर्निर्माणको काम तीव्र गतिमा भैरहेको छ, अहिलेसम्म ८० प्रतिशत काम सकियो।' उनका अनुसार अहिले धरहराको भुइँतलामा तीन तले पार्किङस्थल निर्माणको काम धमाधम भइरहेको छ। यसैगरी अन्य संरचना निर्माणको कामलाई पनि गति दिइएको छ। 

अबको एक वर्षभित्रमा आम नागरिकले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम द‌ृश्यावलोकन गर्न पाउनेछन्‌। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुनर्निर्माण शिलान्यास गरेका थिए। साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ।

प्राधिकरणका अनुसार धरहरा पुनर्निर्माणका लागि दिन र रात गरी दुई सिफ्टमा काम भैरहेको छ। निर्माणमा अहिले प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन्।

सम्झनास्वरुप बनाइएको थियाे ऐतिहासिक धरहरा

वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप धरहराको निर्माण गरेको इतिहासमा उल्लेख छ। त्यस समयमा यसको उचाई ११ तल्ला थियो। ९० सालको भूकम्पले भत्काइदिएपछि दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले नौ तल्ला कायम गरी पुनः निर्माण गरेका थिए।

भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ। पहिले सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो। अहिलेको धरहराको अनुमानित लागत पाँच अर्ब ४६ करोड रूपैयाँ रहेको छ। 

फोटो : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.