कोरोना त्रासले निर्धक्क रमाउन पाएनन्

|

काठमाडौं : रंगहरुको पर्व फागुलाई यो वर्ष विश्‍वभर फैलिएको कोरोना भाइरसले खल्लो बनाइदियो। चीनबाट फैलिएर विश्‍वका १०३ देशमा पुगिसकेको कोरोनाबाट जोगिन भन्दै सरकारले सामूहिकरुपमा फागु नमनाउन आग्रह गरेपछि खल्लो भएको हो।

विशेष गरेर सामूहिकरुपमा पानीको प्रयोग गरेर फागु मनाउँदा कोरोना फैलिन सक्ने भन्दै सरकारले सुरक्षाा सजगता अपनाएको हो। कोरोनाको त्रासकै कारण मंगलबार उपत्यका र देशका पहाडी क्षेत्रमा अधिकांश बालबालिकालाई मात्रै होली अर्थात फागुको रौनक आयो। थोरै मात्रै अभिभावक र तन्‍नेरीहरुले होलीको उत्सवमा रंग साटेर खुसी बाँडे।

फागुको मूख्य आकर्षण हरेक साल काठमाडौंको वसन्तपुरमा देखिन्छ। फागुन शुक्ल अष्ठमीकै दिनबाट सुरु हुने यो पर्वमा यस पटक पनि वसन्तपुरमा तन्‍नेरीहरु रंगसँग रममाए। तर अघिल्लो पटकको जस्तो यहाँ पनि उत्साह थिए। धेरै डर उही कोरोनाकै थियो। तर वसन्तपुरमा निर्धक्क फागुउत्सव मनाउने पनि कम थिएनन्। जसले मनाए, उत्सवमय माहोलमा खुसीयाली साटे। 

हरेक वर्ष फागुन पूर्णिमा आउनुअघि अष्टमीमा वसन्तपुर प्राङ्गणमा तीनतले चीर ठड्याएपछि (चीर स्वायंगु) फागु सुरु भएको मानिन्छ। त्यहीकारण काठमाडौं उपत्यकामा वसन्पुर फागुका लागि एउटा केन्द्र हो। 

अघिल्ला वर्ष वसन्तपुरदेखि टुँडिखेलसम्म होली खेल्नेका कारण पाइला राख्ने ठाउँ हुँदैनथियो। तर यो पटक थोरै संख्यामा मात्रै होलीको चहलपहल देखियो। यो वर्ष चिसो अझै नगएका कारण पनि मानिसहरुले निर्धक्क होली खेल्न सकेनन्। आइतवार र सोमबार पानी परेकाले काठमाडौंको मौसम अझै चिसै छ। 

यो पटक औपचारिक रुपमा कतै पनि होलीउत्सव भएनन्। प्रहरी-प्रशासनले भीड जम्मा भएर मनाउन नदिएपछि होलीका ठूला कार्यक्रम कसैले पनि नगरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.