राजनीतिक गुट-उपगुट मुख्‍य समस्‍या

|
हाल मदाने गाउँपालिकाको केन्द्र रहेको पुर्कोट क्षेत्र ।

गुल्मी : स्थानीय तहको निर्वाचनको ६ महिनाभित्र बहुमतले स्थानीय तहको नाम र केन्द्रको टुंगो लगाउनुपर्ने कानुनी व्‍यवस्था भए पनि गुल्मीका तीन स्थानीय तहले अझै गाउँपालिको केन्द्रको टुंगो लगाउन सकेका छैनन्। राजनीतिक खिचातानी र गुट उपगुटले गर्दा निर्वाचन सकिएको तीन वर्ष भइसक्‍दा पनि जिल्लाका मदाने, इस्मा र मालिका गाउँपालिकाको केन्‍द्र टुंगो लाग्‍न नसकेको हो।

मदाने गाउँपालिकाको कामकाज वडा नम्‍बर ६ पुर्कोटदहबाट भइरहेको छ। केन्द्रको विषयमा जनप्रतिनिधिबीच दुई गुट देखिएका छन्। भने केन्द्रका लागि पुर्कोटदह र म्यालपोखरी चर्चामा रहेका छन्। केन्द्र विवादका कारण भौतिक पूर्वाधार विकास अन्योलमा परेको छ।

इस्मा गाउँपालिकाको केन्द्र पनि अझै टुंगो लागेको छैन। व्यक्तिको घर भाडामा लिएर गाउँपालिकाको कार्य सञ्‍चालन गरिएको छ। केन्द्र विवादले गाउँपालिकाको भौतिक निर्माण कार्य अलपत्र छ।

मालिका गाउँपालिका केन्द्रको विषय त झन् अदालतसम्म पुग्‍यो। राजपत्रमा मालिका गाउँपालिकाको केन्द्र साविक अर्खबाङ्ग गाविस कार्यालय भनी प्रकाशित गरियो जहाँ अहिले वडा कार्यालय मात्रै छ। गाउँपालिकाको प्रशासनिक कार्य वडा कार्यालयभन्दा पाँच सय मिटर टाढा बहुउदेश्यीय सभाहल निर्माण गरेर सञ्‍चालन गरिएको छ।

राजनीतिक गुट-उपगुट मुख्‍य समस्‍या  

जिल्लाको निर्वाचन क्षेत्र नं २ मा पर्ने यी तीन स्थानीय तहको केन्द्र विवाद साढे दुई वर्षदेखि सल्टिएको छैन। मदाने गाउँपालिकामा दुईतिहाइ मत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनप्रतिनिधिकै पक्षमा छ। तर, केन्द्रको विषयमा भूगोल अनुसारको पार्टीभित्र गुट र उपगुट देखिएका छन्।

मदानेमा पुर्कोटदह वा म्यालपोखरी भन्ने विषयले केन्द्र टुंगो लागेको छैन। नेकपाबाट निर्वाचित मदाने गाउँपालिका अध्यक्ष प्रेम केसीले विवादभन्दा पनि जग्गाको समस्याका कारण केन्द्र टुंगो नलागेको दाबी गरे। ‘पुर्कोटदहसँगैको सम्भावना म्यालपोखरी हो, सभाहल पनि बनाएका छौँ तर जग्गा छैन,’ केसीले भने, ‘जनप्रतिनिधिको केही मतभेद भए पनि छलफलबाटै निकास निकाल्छौँ।’

चर्चामा इस्मा

इस्मा गाउँपालिकामा पनि वडा नं ५ चाँपटारी र साबिक कार्यालय रहेको स्थान चर्चामा छन्। तर, अहिले अन्यत्र पनि बहस हुन थालेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए। उनले सबैको भावना समेट्न खोज्दा ढिला भएको बताउँदै समाधानका लागि कार्यदल गठन गरिएको बताए।

त्यसका लागि अझै पनि संवाद र छलफल भइरहेको बताए। इस्मा गाउँपालिकामा छ वडा छन्। वडा नं १ बाहेक सबै वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विजयी भएको छ।

मतको हिसाबले पनि नेकपाकै जनप्रतिनिधिमा मत नबाझिए केन्द्र समस्या हल हुन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इस्मा गाउँपालिका इन्चार्ज दलबहादुर विकले मत र विवाद नेकपाकै जनप्रतिनिधिभित्र भएको बताए।

केन्द्र विवाद अदालतसम्म

सशस्त्र द्वन्द्वका कारण तत्कालीन अर्खाबाङको गाविस कार्यालय थिएन। शुरुमा मालिका गाउँपालिका कार्यालय-४ ठूलीचौरको महिला समूहको भवनबाट गाउँपालिका सञ्‍चालन गरियो। ठूलीचौरको विषयमा पछि मतभेद देखियो। ठूलीचौरदेखि करिब पाँच सय मिटर टाढा बहुउद्देश्यीय सभाहल निर्माण गरेर गाउँपालिकाको काम भइरहेको छ।

त्यो विषयमा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चसम्म पुगेर धेरैपटक आफूहरूले सास्ती खेपेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए। अदालतले अहिले त्यो विवाद फुकुवा गरे पनि मुद्धा दिने पक्ष अझै सन्तुष्ट नै छन्। तर, गाउँपालिकाले जनशक्ति बढी र भौतिक संरचना कम भएका कारण अर्को भवन निर्माण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए।

सहमतिको प्रयास जारी

यता जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले बहुमतका आधारमा नभई सहमतिका आधारमा केन्द्रको टुंगो लगाउने गरी गृहकार्य जारी रहेको बताए। स्थानीय जनप्रतिनिधिहरूको आधा कार्यकाल सकिँदासमेत केन्द्रको टुंगो लगाउन नसक्नु दुर्भाग्य भएको उनले बताए। केही महिनाभित्रै सहमतिकै आधारमा तीनवटै स्थानीय तहको टुंगो लगाउने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.