|

काठमाडौं : नइ प्रकाशनले भारत काशीका प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेखेका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाखसहित ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो। यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ।    

विसं १९९३ देखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ’उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो। सोही पत्रिकामा प्राडा. ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए।

काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ।  श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेखेका थिए।

हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उनी सहायक निर्देशक पनि थिए। शताब्दी पुरुष सत्यमोहन जोशीको १०१औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नौ बालबालिकासमेत २६ लाई १४ लाख र ताम्रपत्रसहित नइ पुरस्कार समर्पण गरिने भएका छन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.