६ महिनापछि सामान्य मानिसझैँ काम गर्न सक्ने

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला दोस्रो पटक प्रत्यारोपण भएको आज (मंगलबार) एक साता भएको छ। गत बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको छ।

भाञ्‍जी समीक्षा संग्रौलाले दिएको मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओली एक सातादेखि अस्पतालको आईसीयूमै छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण र उपचारबारे चिकित्सकहरुल मंगलबारै त्रिवि शिक्षण अस्पतालमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन्। 

त्यसक्रममा प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले अबको तीन दिन अर्थात् शुक्रबारसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुने जानकारी अन्तरक्रियाका क्रममा पत्रकारहरुलाई दिएकी छन्।

'प्रधानमन्त्री ओलीलाई अब चाँडै नै अस्पतालबाट डिस्चार्ज गर्दैछौं', उनले भनिन्, 'अबको दुईतीन भित्र नै डिस्चार्जको तयारी गरेका छौं। अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीको स्वास्थ्यमा आशातीत सुधार आइसकेको छ।'

उनले डिस्चार्ज गर्ने समय भइसके पनि परिवारबाट केही समय अस्पतालमै निगरानीमा राख्‍न भनिएकाले थप दिन लम्बिएको बताइन्। 'प्रधानमन्त्री डिस्चार्ज गर्ने अवस्थामा पुगिसक्नु भएको छ। तर घरबाट अलिक समय अस्पतालमा राखेर उपचार गराउन आग्रह भएको छ', उनले भनिन्, 'त्यही आग्रह अनुसार हामीले केही दिन अस्पतालमै राख्‍ने निर्णय गरेका हौँ। तर प्रधानमन्त्रीले त डिस्चार्ज मागि रहनुभएको छ।'

पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा डा. दिव्या सिंह शाह। तस्बिर : शिला तिम्सिना

सिंहले प्रधानमन्त्री डिस्चार्ज हुने दिन भने पक्का गरिनन्। 'कुन दिन हुन्छ भन्‍न सकिँदैन', उनले भनिन्, 'तीन दिनभित्र जुन दिनमा पनि हामी उहाँलाई बालुवाटार फर्काउन सक्छौँ।'

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले मंगलबार पहिलो पटक संयुक्तरुपमा आफ्ना कुरा राखेका हुन्। यसअघि केहीबाहेक चिकित्सक यसबारेमा बोलेका थिएनन्। 

सम्पूर्ण सूचक राम्रा

उपचारमा संलग्‍न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मूख्य सूचक अप्रेशनको दोस्रो दिनदेखि नै साधरण छ। डा. सिंहले प्रधानमन्त्रीको शरीरमा रक्तचाप, सुगर, क्रियाटिनिन राम्रो अवस्थामा रहेको जानकरी दिइन्। 

'प्रधानमन्त्रीले अब रुघाखोकी र अन्य संक्रमणबाट जोगिन पर्छ', उनले भनिन्, '६ महिनापछि प्रधानमन्त्रीले सामान्य मानिस जस्तै काम गर्न सक्नु हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.