|

भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बाँस्कोटाको मध्यपुर थिमी नगरपालिका-१ मनोहरा फाँटस्थित घरमा कुकर बम विस्फोट गराएको अभियोगमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सदस्य देव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङलाई बम बनाउने र विस्फोट गर्न प्रयोग गरिने सामग्रीसहित मनोहरा फाँटबाटै पक्राउ गरिएको हो। 'देव गुरुङलाई पूर्वमन्त्री बाँस्कोटाको घर नजिकैबाट पक्राउ गरेका हौँ', प्रधानले भने, 'उनको साथबाट बम विस्फोट गराउन प्रयोग गरिने रिमोट कन्ट्रोल र विप्लवका प्रचार सामग्री बरामद भएका छन्।'

बुधबार विप्लव समूहमाथि प्रतिबन्ध लगाइएको एक वर्ष पूरा भएको छ । यो अवधिमा नेपाल प्रहरीले एकजना स्थायी समिति सदस्य सहित तीन हजार २ सय ९८ जना विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार तीमध्ये दुई हजार ९ सय ४२ जनाविरुद्ध विभिन्न कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीले ३ सय ५२ जनालाई सोधपुछ पछि छाडेको छ भने २ हजार ७ सय १६ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् । तरपनि विप्लव समूहको हिंसात्मक गतिविधि रोकिएको छैन ।

सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको ठीक एक वर्ष पुगेकै दिन पूर्वमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट भएको छ । 

प्रहरीका अनुसार आज पक्राउ गरिएका गुरुङको घर लमजुङ हो। उनी भक्तपुरको मनोहरा फाँट क्षेत्रमै बस्दै आएका थिए। विप्लव समूहले सेक्युरिटी प्रिन्टर खरिदका क्रममा ७० करोड रुपैयाँ कमिशन मागेको अडियो बाहिरिएर राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोटको जिम्मा लिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.