विद्यार्थी भन्छन् : पानी चुहिन्छ कसरी बस्‍ने?

|

काठमाडौं :‘गुरू! हामीले गतिलो खाना खान पाएनौं, पौष्टिक खालका तरकारी भएन, भात खाना खान जाँदा चप्पलमा बस्नुपर्छ, बस्ने ठाउँ र पिर्का छैन, पूरै ठाउँमा भात छरिएका हुन्छ, शौचालय गइसाध्य छैन, यस्तो भद्रगोल किन भइरहेको छ, कसले अनुगमन गर्ने? गुरूले नै निरीक्षण गरिदिस्‌ न!' बुधबार तीनधारास्थित संस्कृत छात्रावास पुग्दा विद्यार्थीले छात्रावास सुपरिवेक्षक अर्जुनबाबु दाहालसामु आग्रह गर्दै थिए।

नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मिकी विद्यापीठको संस्कृत छात्रावास अस्तव्यस्त भएपछि छात्रावासमा बस्दै आएका १० जनाभन्दा बढी विद्यार्थीले दाहालकै कार्यकक्षमा गएर छात्रावासको समस्या सुनाएका हुन्‌। त्यही छात्रावासमा बस्दै आएका विक्रम भट्टराईले छात्रावासमा बस्नै नसकिने वातावरण भएपछि समस्या सुनाएको बताए।

विद्यार्थी भन्दै थिए, ‘पौष्टिक तत्वका खानेकुराहरू खान पाएका छैनौँ, कुहिएको जस्तो गन्ध आउने भटमासको तरकारी ख्वाउँछ,  छात्रावासका लागि आएको बजेट कहाँ जान्छ? कसले भ्रष्टचार गरिरहेको छ? ज्यान लाई उच्च जोखिममा पारेर चर्किएको भवनमा बस्नु परेको छ, ज्यानलाई यस्तो ठाउँमा कसरी बस्ने?’ आक्रोशित हुँदै प्रत्येक विद्यार्थीसँग सँधै सम्पर्कमा रहन विद्यार्थीले सुपरिक्षक दाहाललाई अनुरोध गरे। पहिले व्यवस्थित भए पनि २०६३ सालबाट छात्रावास अव्यवस्थित बन्दै विद्यार्थीले बताए।

ठूलो पानी पर्दा पानी चुहिन्छ

संस्कृतको छात्रावास भवन जीर्ण छ। छानो छाइएको जस्तापाताहरू खिइएर प्वाल पर्न थालेका छन्‌। रङ्ग उडेको भवन फुङ्ग देखिन्छ। शौचालयमा ढोका छैन। ढोका भएका शौचालय पनि निकै फोहोर छन्‌। यो दृश्य छात्रावासका पदाधिकारीहरूले दैनिक देखिरहे पनि बेवास्ता गर्दै आएका छन्‌। छात्रावास व्यवस्थापनमा क्याम्पस प्रशासन आँखा चिम्लेर बसिरहेजस्तो देखिन्छ।

अर्का एक विद्यार्थी भन्छन, ‘ठूलो पानी परेको बेला पानी चुहिन्छ, सानो खाट छ, त्यसैमा तीनजना सुत्नुपर्दा निकै गाह्रो हुन्छ, शौचालय सफा नगरिँदा दुर्गन्धले बस्न सकिँदैन।’ क्याम्पस प्रशासनले चरम लापरबाही गर्दा छात्रावास अस्तव्यस्त बनिरहेको विद्यार्थीको आरोप छ।

प्रशासन भन्छ - 'कर्मचारी अभावले अव्यवस्थित बन्यो' 

संस्कृत छात्रावासका सुपरीवेक्षक अर्जुनबाबु दाहालले आवश्यक कर्मचारी नहुँदा विद्यार्थीलाई अपेक्षित सेवासुविधा दिन नसकेको बताउँछन्‌। ‘कर्मचारीको अभाव छ,’ उनले भने, ‘२६ जनाको दरबन्दी थियो, तर अहिले १९ जनामात्रै छन्‌, एकापट्टी काम गरिरहेको कर्मचारीलाई अर्कापट्टि अह्राउँदा समस्या हुने गरेको छ।’ उनले विद्यार्थीलाई मापदण्ड अनुसार विद्यार्थीलाई खुवाउँदै आएको बताए।

उनले भने, ‘विद्यार्थीलाई मन्सुली चामल, मासको दाल ख्वाउने मापदण्ड छ। अहिले पनि दैनिक दालभात र अचार खान पाएका छन्‌, कहिलेकाहीँ पकाउँदा बिग्रिएला, कसैलाई मन नपर्ला।’ मापदण्ड बाहिर रहेर विद्यार्थीलाई प्रोटिनयुक्त खाना खुवाउन नसकिने उनको भनाई छ। उनका अनुसार कलेज र स्‍नातक गरी छात्रावासमा ८० जना विद्यार्थी बस्दै आएका छन्‌। महिला र पुरुष दुवैको छात्रावास रहेपनि महिलाहरू भने छैनन्। 

उनले १० दिनभित्रमा शौचालयको मर्मतकाे काम भने थाल्ने बताए। जस्ताको विषयमा सरकारले फेर्ने भनेर छुट्टै बजेट नदिएको पनि जानकारी दिए। ‘क्याम्पसलाई प्रत्येक वर्ष दिने पैसा कटौती हुँदै गएको भन्ने कुरा सुनेको छु, पुरै भवन बनाउन सरकारले बजेट दिएको छैन,’ उनले थपे। उनका अनुसार यो भवन १९४३ सालमा बनेको थियो। भूकम्पले पनि केही क्षति पुर्‍याएको छ। 

कसरी विद्यार्थी छात्रावासमा बस्न पाउँछन्?

दाहालका अनुसार छात्रावासमा बस्न पाउने १११ जनाको कोटा छ। संस्कृत माविका ३५ जना र क्षेत्रीय कोटाबाट ३० जना त्यस छात्रावासमा बस्न पाउँछन्‌। बाँकी कोटामा वाल्मीकी क्याम्पसका विद्यार्थी पढ्न पाउँछन्‌। १०० पूर्णाङको परीक्षा लिईन्छ। प्रतिष्पर्धाको आधारमा नि:शुल्क बस्न पाउनेगरी विद्यार्थी छनोट गरिन्छ। 

‘पुरानो भएकाले भवनमा केही गर्न सक्दैनौँ, शौचालय मर्मत गर्छौं'

वाल्मिकी विद्यापीठका प्रमुख डा. गणेश घिमिरेले पूरानो छात्रावास भवन १०० बर्षभन्दा पूरानो भैसकेको बताउँदै त्यसलाई केही गर्न नसक्ने बताए। उनले शौचालय भने छिट्टै मर्मत गर्ने जानकारी दिए। उनले भने, 'भवन जीर्ण बनेकाले सरकारले पुनःनिर्माण गर्ने योजना ल्याएमात्र नयाँ भवन बन्ने छ। क्याम्पसले भने बनाउन सक्ने अवस्था छैन। बजेट भएमा मर्मत भने गरिने छ।' 

विद्यार्थीका खानपानको विषयमा अहिलेसम्म केही गुनासो नभएको दाबी गरे। उनले भने, ‘खाना राम्रो छैन भनी म कहाँ अहिले सम्म गुनासो गरेका छैनन्, भर्खरै गुनासो गरेका होलान्‌, सुपरीवेक्षकबाट गुनासो आए समस्या समाधान गरिन्छ।’ उनका अनुसार छात्रावासको लागि भनेर सरकारले छुट्टै बजेट दिँदैन। राज्यले  एकमुष्ट विश्वविद्यालयलाई दिएको हुन्छ। त्यहीअनुसार पैसा बाँडिन्छ। यसवर्ष विश्वविद्यालयले वार्षिक करिब १५ करोड रूपैयाँ क्याम्पसलाई बजेट दिएको उनले जानकारी दिए।

त्रिविको छात्रावासमा पानी र फर्निचरको व्यवस्था छैन

कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो। त्यसो त विद्यार्थी छात्रावासमा बस्‍ने व्यवस्था मिलाएर पढ्न आउँछन्‌। तर, उनीहरूले सोचेजस्तो सेवासुविधा पाउन सकेका छैनन्। छात्रावासमा बस्ने वातावरण राम्रो नभएपछि विद्यार्थी अहिले चिन्तित बन्दै गएका छन्‌।

त्रिविका एक विद्यार्थीले आवश्यक पर्ने फर्निचर र पानी नहुँदा समस्या भएको बताए। उनले भने, ‘यहाँ नयाँ खाट,टेबलहरू छैन, सबै पूराना मात्रै छन्‌, पानीको समस्या भएकाले पर्यप्त मात्रमा चलाउन पाएका छैनौँ, शौचालय व्यवस्थित छैन।’ त्रिविले वृक्षरोपण पनि गर्न नसकेको बताए। ‘जताततै फोहोर छ,’ उनले भने, ‘फोहोरको दुर्गन्ध फैलिएकोले बस्न सकिरहेको छैन, सुरक्षा व्यवस्था पनि छैन, यसरी कतिदिन सम्म बस्ने होला भनेर मन पिरोलिइरहेको छ।’ 

गर्मी महिनामा लामखुट्टेले सताउने गरेको पनि दु:खेसो पोखे। चैत, वैशाखको समयमा खानेपानी, लुगा धुन र नुहाउनको लागि पानीको झनै समस्या हुने उनी बताउँछन्‌। उनका अनुसार पहिला होष्टलमा क्यान्टिन पनि थियो। तर, राम्रो व्यवस्थापन नभएपछि अहिले विद्यार्थी आफैंले पकाएर खाने गरेका छन्‌।

वर्षको ४२ सय २५ रुपैयाँ तिरेपछि विद्यार्थी छात्रावासमा एक वर्ष बस्‍न पाउँछन्‌। पछि पुन: फर्म भरेर परीक्षा दिई नाम निकाल्नुपर्छ। होष्टलमा स्‍नातकोत्तर पढ्ने विद्यार्थी मात्रै बस्ने गरेका छन्‌। 

त्रिविको छात्रावास भवन समय–समयमा सफा नगरिएपछि कतै माकुराले जालो बुनेको देखिन्छ। कतै फोहोर छरिएका छन्‌। लगाइएको सबै खुइलिसकेका छन्‌। तर, सरसफाई र व्यवस्थापनमा क्याम्पस प्रशासन नजुट्दा सरकारी विद्यालयका छात्रावासमा विद्यार्थी बस्न सकस छ।

‘ट्ंयाकरकै पानी ल्याएर भएपनि विद्यार्थीलाई सुविधा दिन्छौँ’

त्रिभुवन विश्वविधालयका प्राध्यापक कृष्ण आचार्य त्रिविमा रहेको सरकारी होष्टल सुविधासम्पन्न नभएको स्वीकार्छन्‌। उनले भने, ‘पहिला सबै सुविधा सम्पन्न थियो, तर भूकम्पले क्षति ग्रस्त बनायो, कतिपय भत्किँदै गए, अहिले कामचलाउ मात्रै भएको छ, बाहिर जति सुविधा छ भनेर हेर्दा त्यस्तो छैन।’

छात्रावास नै पुरानो हुँदै गएकाले व्यवस्थित नभएको उनले तर्क गरे। उनले अब भित्र नसकेपनि बाहिर रगंरोगन गर्ने योजना बनाएको उनले सुनाए। उनका अनुसार अहिले नापजाँचको काम भैरहेको छ। तर, बोलपत्र आह्वान गर्दा समय लाग्नेछ। ‘पानीको पनि असुविधा छ,’ उनले भने, ‘मेलम्ची पानीको ट्यांकी पनि यहीँ छ, मेलम्ची आयो भने छताछुल्ल हुन्छ, अहिले चाहिं दुःख छ।’

चैत वैशाख महिनामा ट्यांकरबाट ल्याएर पानी वितरण गरेको उनले बताए। अहिले त्रिविको पुरुष होष्टलमा माष्टर गर्दै गरेका करिब २०० विद्यार्थी बस्दै आएका छन्‌। महिला विद्यार्थीको संख्या करिब १६० रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.