|

गुल्मी : गुल्मीमा भवन निर्माणको कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन्। गुल्मीको चन्द्रकोट गाउँपालिका ५, ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधीन भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहिन बनेका हुन्।

 २०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाडौं र संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीबीच एक करोड ६१ लाख ४४ हजार ७३८ रुपैयाँमा भवन निर्माण कार्य गर्ने र २०७७ साल असोज १९ गते सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। हाल आएर भवनको निर्माण कार्यलाई अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन भएको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ। 

सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशन 

सो भवन निर्माण गर्ने जिम्मेवारी लिएको व्यवसायीलाई पटक-पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि सार्वजनिक सूचना नै प्रकाशित गरिएको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले बताए।

कार्यालयको तर्फबाट पटक-पटक मौखिक जानकारी र पत्रचार गर्दासम्म निर्माण व्यवसायी सम्पर्कमा नआएपछि यहि चैत १६ गते सार्वजनिक सूचना प्रकाशन गर्न आफू बाध्य भएको र सम्झौता बमोजिम यथाशीघ्र काम अघि बढाउन सूचना प्रकाशन गरिएको बताए। 

'सम्पर्कमा नआए कानुन अनुसार कारबाही गर्छौं' : पाण्डे

यसरी सार्वजनिक रुपमा सूचना प्रकाशन गर्दा समेत सम्पर्कमा नआए निर्माण व्यवसायीलाई कानुन अनुसारको कारवाही गर्नेे आयोजना प्रमूख पाण्डेले जानकारी दिए।

निर्माण कार्यमा लापरवाही गर्ने र समयमै काम नगर्ने जो कोहीलाई पनि नछाडने उनको दाबी छ। पछिल्लो समयमा निर्माण व्यवसायीहरुले निर्माणमा लापरवाही गर्ने, समयमा काम सम्पन्न नगर्ने र बिभिन्न वहानाहरु बनाउने गरेको पाइएकाले उनीहरुलाई कारवाही गर्ने प्रक्रियामा कार्यलय रहेको बताए।

सो भवन ढलानको क्रममा पनि मापदण्ड विपरित माटो र गिटी राखेको खबर पाएपछि आफूले निर्माण कार्य नै रोकि मापदण्ड अनुसारको गिटी राखी ढलान गराएको र पछि सो सम्पर्कमा नै नआएको पाण्डेले जानकारी दिए। 

स्थानीयको १६ लाख रुपैयाँ समेत खाइदिए 

यता भवन निर्माणका क्रममा निर्माण व्यवसायीले स्थानीयहरुको १६ लाख रुपैयाँ समेत नतिरी भागेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानकारी दिए।

खत्रीका अनुसार निर्माण व्यवसायीले स्थानीय खाद्यान्न पसलहरुबाट खाद्यन्न ल्याएको, स्थानीय मजदुरहरुलाई काममा लगाएको र ढुङ्गागिटी बालुवाको पैसा समेत नदिई रारारात भागेको उनले बताए।

स्थानीयहरुले गाउँपालिकामा आई समस्या देखाएकाले आफूले तत्कालै संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीलाई पत्राचार समेत गरेको जानकारी दिए। पटक-पटक आयोजना प्रमुखसँग टेलिफोन संवाद समेत गरेको दाबी गर्दै उनले कारवाहीको प्रक्रिया अगाडी बढाएको आफूले जानकारी पाएको बताए। आफूसँग केही कारवाही गर्ने अधिकार नभएको र आयोजना प्रमुखसँग जानकारी गराएको खत्रीले बताए।

गाउँपालिकाले लिखित रुपमा पत्र पठाएको र पटक-पटक टेलिफोन संबाद भएको आयोजना प्रमुख राजेन्द्र पाण्डेले बताए। पाण्डेका अनुसार निर्माण व्यवसायी सम्पर्कमा आएपश्चात आवश्यक प्रक्रिया अगाडी बढाइने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.