|

धनकुटा : एक दशक अघिसम्म खाडी मुलुक जान तँछाड मछाड गर्ने युवाहरू अहिले विदेशको नामै लिन चाहँदैनन्। विदेश गएर श्रम बेच्दा पनि प्रगति नभएपछि आफ्नो श्रम र लगानी गाउँमै लगाउने ध्येयका साथ उनीहरू अहिले कृषिकर्ममा लागेका छन्। वैदेशिक रोजगारीबाट फर्केकाहरू अहिले विशेषगरी तरकारी खेती र गाईफार्मबाट मनग्ये आम्दानी गर्न थालेका छन्।

६ वर्षको विदेश बसाइ

धनकुटाको महालक्ष्मी नगरपालिकास्थित मारेककटहरेका डम्बर दाहाल २०६४ सालमा पैसा कमाउन भन्दै खाडी मुलुकतिर लागेका थिए। खाडी मुलुकमा कमाइ पनि राम्रै थियो।

६ वर्षको विदेश बसाइपछि २०७० सालमा नेपाल फर्किएका दाहाललाई फेरि विदेश जान मनै लागेन। गाउँमै केही गर्ने उद्देश्य लिएर २०७२ सालमा गाईफार्म सुरु गरेका दाहालको फार्ममा उन्नत जातका गाई बाँधिएका छन्। गाई फार्ममा घाँस काट्नका लागि विद्युतीय मेसिन राखिएको छ।

उन्नत जातको गाई पाल्न सुरु गरेपछि अहिले दाहालको जीवनस्तरमा समेत परिवर्तन आएको छ। व्यावसायिक रुपमा गाई पाल्न सुरु गरेका दाहालको फार्ममा उन्नत जातका करिब दुई दर्जन गाई रहेका छन्। उनको फार्मबाट दैनिक एक सय दश लिटर दूध उत्पादन हुन्छ।

उत्पादित दूध उनले कामधेनु सहकारी संस्था लिमिटेड तरहराको सञ्चालन गरेको स्थानीय संकलन केन्द्रमा बिक्री गर्दै आएका छन्। दाहालले व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी भइरहेको र उन्नत जातका बाच्छाबाच्छी बिक्रीबाट पनि राम्रो भएको बताउँछन्।

दाहालको फार्ममा बाधिँएका गाई इलाम र गोरखाबाट ल्याएका हुन्। खरिद गरेर घरसम्म ल्याउँदा एउटा उन्नत गाईको लागत २ लाख रुपैयाँसम्म परेको दाहालले बताए। तीमध्ये एउटा गाईले दैनिक ४० लिटरसम्म दूधसम्म दिने गरेको उनले बताए। गाईलाई खुवाउन झण्डै एकसय ५० रोपनीमा उन्नत जातको घाँस लगाएका छन्। त्यो सबै जग्गा उनको पुख्यौली सम्पत्ति हो।

स्‍वदेशमै उद्यम

‘विदेश भनेको बल र उमेर रहुञ्जेल मात्र हो’ दाहालले भने ‘उमेर ढल्किएपछि मालिकले काम दिँदैन अनि आफ्नो देश फर्किनुको विकल्प हुँदैन।’ स्वदेशमा नै उद्यम गर्न सकियो भने दिगो हुने दाहालको बुझाइ छ।

तराईमा जीविकोपार्जन हुनेगरी केही जग्गा भएका दाहालले पहाडमा रहेको बाबु बाजेको सम्पतिको सदुपयोग गरौँ भनेर पनि गाईपालन व्यवसाय रोजेको बताउँछन्।

उन्नत जातको गाई पाल्न सुरु गरेपछि अहिले गुरुङको जीवनस्तरमा परिवर्तन आएको छ। उनले कामधेनु दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडबाट ऋण लिएर व्यावसायिक गाईपालन सुरु गरेका थिए। उनको फार्मबाट दैनिक एक सय १० लिटर दूध उत्पादन हुँदै आएको छ भने अब उनले दुई सय ५० लिटर दूध उत्पादन गर्ने योजना बनाएका छन्।

उनलाई उत्पादित दूध डेरीसम्म पुर्‍याउँदा प्रतिलिटर ८ रुपैयाँसम्म ढुवानी खर्च लागेकाले अब दुग्ध परिकार आफैँले उत्पादन गर्ने योजना बनाएर अघि बढिरहेको दाहाल बताउँछन्। उनले अब घरैमा चिज, चक्लेट लगायतका परिकार बनाउने योजनामा रहेको सुनाए।

कृषकको चासो बढ्‍यो

उनलाई श्रीमतीले पनि सघाउँछिन्। मासिक ८ हजारका दरले पारिश्रमिक दिएर दुईजना काम गर्ने मजदुर पनि राखेका छन्। उनको व्यवसाय देखेर महालक्ष्मीका केही स्थानीयसमेत गाईपालनमा आकर्षित भएका छन्। पशुपालनमा प्रशस्तै आम्दानी हुन थालेको र स्थानीयस्तरमै दूध संकलन केन्द्र खुलेकाले पनि यसतर्फ कृषकको चासो बढेको दाहालको भनाइ छ।

आधुनिक गाईफर्म सञ्चालन गर्ने हो भने स्वदेशमै राम्रो आम्दानी हुने उनको विश्वास छ। ’एनपीआर’ हरियो घाँस र अम्लीसो तथा डाले घाँस प्रशस्त मात्रामा पाइने यस क्षेत्रमा गाईको गोबरबाट ‘अर्गानिक’ सब्जी खेती गर्न तथा खाना पकाउन ग्यास निकाल्न सकिने भएकोले पनि यो पेशाप्रति युवाको आकर्षण बढेको हो।

वैदेशिक रोजगारीको नामै सुन्न नचाहने उनीहरू  राज्यस्तरबाट भने आफूहरूले प्रोत्साहन नपाएको गुनासो गर्छन। आफूले उत्पादन गरेका वस्तुहरू सहज रूपमा बजारमा लैजान नपाएको उनीहरूको गुनासो छ।

अनुदान नपाएको गुनासो

२०७२ सालबाट गाईपालन सुरु गरेका दाहालले हालसम्म धेरैपटक विभिन्न सरकारी कार्यालयमा प्रपोजल पेश गर्दा पनि कुनै पनि अनुदान नपाएको गुनासो गरेका छन्। उनले पशु सेवा कार्यालयमा पटकपटक निवेदन दिएको र कार्यालयबाट अनुगमनमा आएर तपाईँको राम्रो छ पाउनु हुन्छ भन्ने आश्वासन मात्रै पाएको बताए। देशमा आएको संघीयतापछि बनेका स्थानीय तहले पनि यस्ता कृषकलाई कम महत्व दिएको उनको भनाइ छ।

पटकपटक ताकेता गर्दा महालक्ष्मी नगरपालिकाले गत वर्ष ५० हजार सहयोग गरेको उनले बताए। देशमा रोजगारी नभएको भन्दै युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढिरहेको बेला स्वदेशमै केही गर्न सकिन्छ भन्ने दाहाल गतिलो उदाहरण बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.