|

कोरोना भाइसरको महामारीका कारण खेल क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ। कोरोनाका कारण पोर्चुगिज स्टार खेलाडी रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै कोरोनाका कारण इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगलगायतका महत्वपूर्ण ठूला प्रतियोगिताहरु रोकिएका छन्।

विश्वभरि नै विभिन्न कारण रोक्न नसकिएका खेलकुद प्रतियोगिताहरु पनि बन्द रंगशालमा दर्शकविना गर्न थालिएको छ। शीर्ष क्लबका खेलाडी तथा प्रशिक्षकहरुमै कोरोनाको संक्रमण देखिन थालेपछि विश्व खेलकुद थप चिन्तित बनेको छ। 

पछिल्लो पटक इङलिस प्रिमियर लिगको महारथी आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  उनलाई हालः क्वारेन्टाइनमा राखिएको छ भने आर्सनल र ब्राइटन एण्ड होबबीच अर्को हप्ता हुने प्रिमियर लिग फुटबलको खेल संक्रमण अझै विस्तार नहोस् भनेर स्थगित गरिएको छ।

गत साता पनि यस्तै कारण म्यानचेस्टर सिटी र आर्सनलबीच इत्तिहाद रंगशालामा हुने तय भएको खेल कोरोना भाइरसको जोखिमकै कारण स्थगित गरिएको थियो।

यसैगरी स्पेनिस क्लब रियाल मड्रिडको बास्केटबल टिमका एक जना खेलाडी कोरोना भाइरसको संक्रमणमा परेका छन्। कोरोनाका कारण  रियाल मड्रिड र म्यान्चेस्टर सिटीबीच अर्को हप्ता हुने च्याम्पियन्स लिग अन्तिम १६अन्तर्गत दोस्रो लेगको खेल रोकिएको छ। कोरोना भाइरसकै कारण टेनिसका सम्पूर्ण प्रतियोगिता कम्तिमा ६ हप्ताको लागि स्थगित गरिएको छ। 

छिमेकी भारतको विदेश मन्त्रालयले पनि ट्वान्टी–२० स्वरुपको फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गर्न आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई सुझाव दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.