|

नयाँ दिल्लीको शाहीन बागमा भइरहेको आन्दोलनमा जवाहरलाल नेहरू विश्‍विद्यालयका विद्यार्थी शशीभूषण समदलाई पाकिस्तानी कवि तथा गजलकार हविव जालिवको कविता 'दस्तुर' नगाई आन्दोलनकारीले मञ्‍चबाट ओर्लिनै दिएनन्।

भारतमा मोदी सरकारले लागु गर्न लागेको नयाँ कानुनलाई लिएर १४ डिसेम्बर २०१९ को दिउँसो करिब २ बजेतिर १५ जना स्थानीय महिलाहरू शाहीन बागको मूख्य सडकमा आएर धर्नामा बसे। त्यसपछिका दिनहरूमा शाहीन बागको आन्दोलनमा लाखौँ मानिसहरूले भाग लिइसकेका छन्। त्यहाँ सातै दिन, चौबीसै घन्टा प्रदर्शन भइरहको छ, जसको नेतृत्व महिलाहरूले गरेका छन्।

आधुनिक भारतको इतिहासमै यो सबैभन्दा लामो धर्ना मानिएको छ, यो धर्ना अझै पनि टुगिंएको छैन। सिएनएनको रिपोर्ट अनुसार, बहरो निशा एक त्यस्ती महिला हुन्, जसले प्रदर्शनमा भाग लिनकै लागि जागिर छोडेकी छिन्। निशा भन्छिन्, 'उनीहरूले हाम्रो बच्चाहरूको आवाज दबाउन खोजे ...हामी आमाहरूले त्यो आवाजका खातिर जुट्ने निर्णय गर्यौँ।'

हाल शाहीन बाग मात्रै नभएर सिंगो भारत, मोदी सरकारले लागु गरेको नयाँ कानुन सिटिजनसिप एमेन्डमेन्ट एक्ट (सिएए) र नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई लिएर महिनौंदेखि आन्दोलनमा छ।

सिएए र एनआरसीविरुद्ध आन्दोलनको राँको जामिया मिलिया विश्‍वविद्यालय हुँदै अलिगढ मुस्लिम युनिभर्सिटिमा फैलियो। युनिभर्सिटीमा सीमित आन्दोलन प्रहरी दमनका कारणले जब सडकमा उत्रियो, त्यसबेलादेखि नै लगभग सिंगो भारत मोदी सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ। तर नागरिकता विधेयक क्याबिनेटबाटै पास भएर राष्ट्रपतिको हातबाट टीकासमेत ग्रहण गरिसकेको छ।

यसैबीच असमको 'डिटेन्सन क्याम्प'मा २९ जनाको मृत्यु भइसकेको छ। यो आलेख तयार पारिरहँदासम्म असममा ५ जना, म्यांगलोरमा २ जना र उत्तर प्रदेशका विभिन्‍न स्थानमा १८ गरी २५ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरू प्राय: सबै मुस्लिम धर्मावलम्वी छन्। ५५ सय भन्दा बढी मानिसलाई पक्राउ गरिसकिएको छ। तर पनि आन्दोलन रोकिएको छैन।

समाचारहरूलाई आधार मान्‍ने हो भने आसाममा एनआरसी लागु गरिरहँदा १६०० करोड रुपैयाँ खर्च भइसकेको छ। जर्मनीमा हिटलर शासनताकाको जस्तो 'डिटेन्सन क्याम्प' बनाउन ४५ करोड रुपैयाँ राज्य सरकारले छुट्याएको छ। समाचार श्रोतहरूका अनुसार यस्ता 'डिटेन्सन क्याम्प' भारतमा हाल ४ वटा रहेका छन्। डिटेन्सन क्याम्प, सिएए र एनआरसीमा यत्रो खर्च गरिरहेको मोदी सरकारले शिक्षामा भने ३०० करोड रुपैयाँ कटौती गरेको छ।

आन्दोलितहरू यस नयाँ नीतिलाई हिन्दु अतिवादीहरूको भारत टुक्राउने रणनीति भनिरहेका छन्। जसकारण लाखौँ-करोडौँ मानिस विस्थापित हुनेवाला छन्। गरिबहरू प्रताडित हुनेछन्। एनआरसीकै कारण उत्तर प्रदेशमा १९ लाख भन्दा बढी मानिसहरू घरबारविहीन हुने स्थिति आइसकेको छ।

एनआरसीबारे सरकार पक्षले जानाजान मुस्लिमहरूलाई विभेद गरेको आरोप लागिरहेको छ। यस आन्दोलनमा उत्रिएकाविरुद्ध भारत सरकार आक्रामक ढंगले प्रस्तुत हुने कुरा गृहमन्त्री अमित शाह र प्रधानमन्त्री मोदीको भाषणले नै पनि स्पष्ट पार्छ।

फेब्रुअरी अन्तिम साता मात्रै ४ दिनभन्दा लामो समय चलेको दिल्ली हिंसामा ५३ जनाको मृत्यु भएको छ भने सयौँ मानिस बेपत्ता छन्। ज्यान गुमाउने र बेपत्ता हुनेहरू मुस्लिम समुदायका बढी छन्। सयौँ मानिस घाइते छन्। हिंसा मच्चाउनेहरूले घर जलाइदिएका छन्। सयौँ मानिस घरबारविहीन भएका छन्। लुटपाट मच्चिएको छ। ५०० भन्दा बढी गाडी जलाइएको छ। केही कारखानासमेत जलेका छन्। स्कुपहुप अनस्क्रिप्टेडले हिंसापछि लिएको भिडियोमा हिंसापीडितहरू भन्दै थिए, 'उनीहरू जय श्रीरामको नारा लगाउँदै आएका थिए। हातमा तरबार र लठ्ठी लिएर आएका उनीहरूले एकाएक हाम्रा घर जलाउन थाले। आफन्तको शरणमा बसिरहेका हामी अब फेरि यो ठाउँमा फर्केर आउन सक्दैनौँ।' भारत सरकारले लागु गर्ने भनेको सिएए र एनपीआर प्रमाणीकरण गर्न आवश्यक कागजातसमेत जलेर नष्ट भएको उनीहरूले बताएका छन्।

भारतमा हिन्दु-मुस्लिम विभेद सरकारले नै फैलाउन मद्दत गरेको आरोप लागिरहेको छ। उसो त सामाजिक सञ्‍जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रहरीकै आदेशमा केही मानिसहरू मुस्लिम समुदायलाई लक्षित गर्दै ढुंगामुढा प्रहार गरिरहेको देख्‍न सकिन्छ।

यस्ता कैयन् भिडियो सामाजिक संजालमा भाइरल भइरहेका छन्। जसमा एउटा समूह जय श्रीरामको नारा लगाउँदै मानिसहरूलाई मरणासन्‍न हुनेगरी कुटिरहेका भेटिन्छन् त कतै मानिसलाई नांगो बनाएर लतारिरहेका देखिन्छन्।

भारतीय गृहमन्त्रीले हालका लागि एनआरसी स्थगित भने पनि आन्दोलनकारीहरू भने सिएए र एनपीआर (नेसलन पपुलेसन रेजिस्टर) एनआरसी लागु गराउनकै ल्याइएको भनिरहेका छन्। उसो त एनआरसी जसरी पनि लागु गराएरै छाड्ने गृहमन्त्री अमित शाहले संसदमै पनि बोलिसकेका छन्। शाहीन बागका महिलाहरू भने एनआरसी फिर्ता भनेर गृहमन्त्रीले झुट बोलेको भनिरहेका छन्। उनीहरू भन्छन्, 'हामी अमित शाह र नरेन्द्र मोदीको झुटलाई राम्रोसँग चिन्छौँ। एनआरसी सधैँका लागि खारेज हुनुपर्छ र गृहमन्त्रीले संसदबाटै माफी माग्नुपर्छ।'

धारा ३७० खारेज भएपछि जम्मु-कश्मीर लगभग ५ महिनादेखि इन्टरनेटबिहीन छ र त्यहाँका खबरहरू बाहिर विरलै मात्र आउन सकेका छन्। हाल काश्मिर मात्र नभई, दिल्ली, उत्तर प्रदेश र आसामको पनि इन्टरनेट काटिएको छ। कश्मीरमा मानिसहरूको चिसोले मृत्यु भइरहेको छ। पाँच महिनादेखि नै लगभग बन्दको सामना गरिरहेको कश्मीरमा खानेकुराको कमीलेसमेत मानिसको जीवन कष्टकर बनिरहेको छ। पछिल्लो समय विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भनिएको भारत, विस्तारै फाँसीवादतर्फ उन्मुख भइरहेको कुरा पछिल्लो घटनाक्रमहरूले स्पष्ट पार्दछ। 

शाहीन बागको आन्दोलनलाई कमजोर बनाउने हिसाबले दिल्लीमा हिंसा मच्चाइएको हुनसक्ने आँकलन पनि मानिसहरू गरिरहेका छन्। तर शाहीन बाग अझै पनि आन्दोलनमा छ। भारतमा मात्र नभएर सिंगो विश्वको ध्यानाकर्षण गरिरहेको शाहीन वाग आन्दोलन, महिला आन्दोलनको इतिहासमा मानक बन्‍ने कुरा नकार्न सकिन्‍न। यी शाहीन बागका शाहसी महिलाहरूमा अझ जोश भर्न शशीभूषण समदले हविव जालिबको नज्म ‘दस्तुर’ गुन्गुनाएका थिए :

दीप जिस का महल्लात ही में जले

चंद लोंगो के खुसियों को ले कर चले

वो जो साए मे हर मस्लहत के पले

ऐसे दस्तूर को सुब्ह–ए–बे–नूर को

मैं नहीं मानता मैं नहीं जानता

जेलमा हविव जालिव कि उनका कविता ?

यसैबिच भारतको होसियारपुरमा जन्मिएर देश विभाजनपछि पाकिस्तान गएका कवि हविव जालिबको कविता दस्तुर प्रायजसो प्रदर्शनहरूमा दिनमा दशौँ पटक सुनाउने गरिन्छ। जुन कविताको लिखोटस्वरुप कहिल्यै भेटिएन, त्यस कविताका शब्दहरू आजकाल पम्पप्लेट र व्यानरहरूमा फैलँदो छ। फैज अहमद फैज को ‘हम देखेंगे’ जस्तै गरी यो कविता पनि उत्तिकै बलियो रुपमा आन्दोलनको गीत बनिसकेको छ।

हविव जालिवलाई यही कविताको कारण तत्कालीन पाकिस्तान सरकारले जेलमा हालेको थियो। उसो त पाकिस्तानमा जति पनि शासक आए हरेकले जालिवलाई उनको नज्म अर्थात कविताको कारण कम्तीमा पनि एकपटक जेलको चिसो छिडीमा पुर्‍याएकै छन्। 

अहिले भइरहेको आन्दोलनमा जसरी हविव जालिवको ‘दस्तुर’ एउटा आन्दोलनको गीत भएको छ। यस विषयमा भारतीय कवि गौहर राज भन्छन्, 'नि:सन्देह हामी जालिव र उसको दस्तुरलाई चिन्छौँ र दुवैलाई माया पनि गर्छौँ। तर पनि मैले दस्तुर पहिले कहिल्यै प्रदर्शनमा प्रयोग भएको देखिन। यहाँसम्म कि आपतकालीनको बेलामासमेत यो कविता प्रयोग भएको थाहा थिएन। तर सन् २०१४ पछि, यानेकी हिन्दु अतिवादी मोदीको वर्चश्व स्थापित हुदैँ गर्दादेखि नै यो कविता अधिक उद्धृत गरियो। यी विरोध प्रदर्शनहरूको दस्तुरको लोकप्रियता उचाईमा पुगेको छ।'

गौहर राज अझै थप्छन्, 'यस्ता प्रतिरोधका कविताहरू फासीवादको समयमा बढी नै गुन्गुनाउने गरिन्छन्। जालिव जस्तै यहाँका युवाहरू र आम जनता पनि संविधानका लागि संघर्ष गरिरहेका छन्, जसका कारण सरकारले संविधान उल्लघंन गर्न पाउनेछैन।'

हविवले दस्तुर राष्ट्रपति अयुव खानको समयमा लेखेका थिए। जुन समय अयुव खानले सैन्य शासन लागु गराउँदै देशको संविधानमाथि धावा बोलेका थिए।

त्यससमय खानले प्राय:जसो सबै सञ्चार माध्यमहरूलाई आफ्नो हातमा लिएका थिए। जनताको बोल्ने अधिकार खोसिएको थियो। लेखक संघले पनि अयुव खानलाई साथ दिएको थियो। यसैबीचमा रेडियो पाकिस्तानले कवि गोष्ठीको आयोजना गर्यो। सबैजसो कवि लेखकहरूले या त प्रेमको कविता वाचन गरे या त सुन्दर पाकिस्तान जस्ता शीर्षकहरूमा कविता पढे। तर यसैबीचमा पहिला कसैले नचिनेको कवि हविव जालिवले पढिदिए :

कहीँ टियरग्याँसको दुर्गन्ध

कतै गोलीहरूको बर्षा

यस्तो अन्धकार गोधूलीमा

तिम्रा लागि कस्तो स्तुतिगान गाऊँ म?

तत्काल गोष्ठी बन्द गरियो। रेडियो स्टेशनका तारहरू तानिए। स्टेशनमा छापा मारियो। दोश्रो दिन कवि र रेडियो स्टेशनका निर्देशक दुवैलाई प्रहरीले पक्राउ गर्‍यो।

प्रत्येक पटकको जेल बसाईले जालिवलाई झनै बढी विद्रोही कवि, तानाशाहीविरुद्धको एक पहरेदार, सच्चा मार्क्सवाददी क्रान्तिकारी बनाइरह्यो। जब उनी जेलबाट निस्कन्थे, अझै बढी निडर, विद्रोही र व्यंग्यात्मक हुन्थे। 

अयुव खानपछिका राष्ट्रपति याह्या खानको समयमा हविव जालिवलाई ‘राज्यारोहण’ शीर्षकको कविताको कारण जेल जानुपर्‍यो। जुन कवितामा उनले भनेका थिए:

तिमीभन्दा अगाडी जो सिंहासनमा थियो

आफू ईश्वर हुँ भन्‍नेमा उ पनि ढुक्क थियो।

तत्कालीन पूर्वी पाकिस्तान (हाल बंगलादेश) माथि गरिएको सैन्य कारवाहीको आलोचना गर्दै हविव जालिबले लेखेका यी पंक्तिहरूका कारण उनलाई फेरि जेल हालिएको थियो।

हरियालीका लागि आतुर छन् हाम्रा आँखाहरू

बगैँचाभरि रगत लत्पतिएको छ।

कसको लागि म प्रेमका गीतहरू गाऊँ

शहर उजाड उजाड छ

बगैँचाभरि रगत लत्पतिएको छ।

खानपछि पदभार सम्हाल्न आएका जुल्फिकार अली भुट्टोसँग हविव जालिवको निकै राम्रो सम्बन्ध थियो। जालिवले पाकिस्तान र प्रजातन्त्र समर्थक अभियानबारे भुट्टोको समाजवादी विचारहरूको समर्थन पनि गरे। भुट्टोको चुनावी जुलुसहरूमा आफ्नो कविता पनि सुनाए। पछि जब जालिबलाई भुट्टोले आफ्नो पाकिस्तान पिपल्स पार्टीमा आवद्ध हुन आग्रह गरे तब उनले के कहिल्यै समुद्र नदीमा मिसिएको देखेको छौ? भनी नकारीदिए।

उसो त सत्तामा आउन नेताहरू सधैँ कवि र उनीहरूका कविताहरू आफूनिहीत प्रयोग गर्छन। भुट्टोले पनि हविव जालिव र उनका कविताहरूलाई सकेजति प्रयोग गरे। भुट्टोको शासनकालमा इरानका शाह जब पाकिस्तान गएका थिए, शाहलाई भुट्टोले आफ्नो पैतृक घर लारकानामा पाहुनाको रुपमा राखेका थिए। त्यससमय शाहको अगाडि त्यसबेलाकी चर्चित फिल्म अभिनेत्रीलाई नाच्‍न भनियो, जुन उनले इन्कार गरिन् र उनलाई धम्क्याइयो। यसै घटनालाई लिएर जालिवले फेरि कविता लेखे,

या त लारकाना जाउ या त जेलमा जाउ

जाउ र आफ्नो प्रतिष्ठा लुटाएर आउ

जाउ गीत गाउ या त जेल जाउ

झन् हविव राष्ट्रपति मोहम्मद जिया उल हकको समयमा त तीनचोटी जेल परेका थिए। कारण भने एउटै कविता थियो ‘स्वागत’ शीर्षकको, जुन स्वागत उनले तानाशाहको नाममा लेखेका थिए।

किन कसैले अँध्यारोलाई जिया (शाब्दिक अर्थमा उज्यालो) भन्‍नुपर्छ ?

यो प्रचण्ड हुरीलाई शान्त बतास भन्नुपर्छ ?

वा एउटा मान्छेलाई भगवान भन्नुपर्छ ?

अर्थात सरकारमा जोसुकै होस् : जसले भष्टाचारलाई बढावा दियो, अत्याचार बढाइरह्यो, तानाशाही कायम गर्न खोजिरह्यो, उसलाई हविव जालिबले ऐना देखाइदिए।

अहिले आएर यिनै सत्ताको बागी कवि हविव जालिबको कविता दस्तुर भारतमा संविधान बचाउन गाइँदैछ। विद्यार्थीहरूको अधिकार बचाउन गाइँदैछ। उता पाकिस्तानमा पनि विद्यार्थीहरू यो गीत गाइरहेका भेटिन्छन्। अर्थात दुवै देशमा अधिकार प्राप्ति र  स्वतन्त्रताको खातिर एउटै गीत गाइँदैछ । ती दुई देश, जसलाई शासकहरूले टुक्राए। आज पनि सत्तासीनहरूले एक हुन दिएनन्। दुवै देशका मानिसहरू भने एउटै कविलाई सम्झिँदैछन्। हविवको त्यही वागी कविता ‘दस्तुर’ गाईरहेका छन्।

शशीभूषण समदले शाहीन बागमा ती आन्दोलनकारीहरूको बिचमा यो गीत गाइरहँदा हजारौँ मानिसहरूले उनको स्वरमा स्वर मिलाइरहेका थिए। मन्चबाट ओर्लनुअगाडि समदले भने, 'दस्तुरले ती सबै चिजबारे बताउँछ, जो एक मानिसले अस्वीकार गर्नुपर्दछ। यस्ता क्रान्तिकारी कविता लोकप्रिय हुने भनेकै फासीवादको समयमा हो। जालिब दस्तुर लेखेकै कारण जेल गए, अहिले उनलाई बाचन गर्नेहरूले पनि त्यो जोखिमको सामना गर्नुपर्नेछ।'

फैज अहमद फैज जो जालिबका समकालीन पनि थिए, उनका अनुसार 'हविव जालिव वली डाक्कानी पछि सबैभन्दा बढी दर्शकलाई समेट्न सक्ने कवि हुन्।' फैज अझ थप्छन्, 'यो कुरा सत्य हो, जालिव जनताका कवि हुन्।'  

आफूलाई कम्युनिष्ट भन्‍न रुचाउने कवि हविव जालिव आफ्नै कविता दस्तुर पढ्ने क्रममा भन्छन्, 'पाकिस्तान बनिसकेपछि जब एक एक गर्दै हाम्रा सपनाहरू टुट्न लागे, तब मैले ती सपनाहरूलाई पछ्याउन लागे र सोच्न थाले कि कसरी हामी हाम्रो देशमा सबै जनताले आफ्नो मान्‍न सक्ने प्रजातन्त्र वहाली गर्न सक्छौँ। मैले जुन समय यो नज्म दस्तुर लेखेको थिएँ, त्यो समय सत्ताको डरले रुखको पात पनि हल्लिँदैन थियो। जब मैले नज्म पढ्न सुरु गरेँ, दीप जिस का महल्लात ही में जले ... मैले यत्ति भन्‍न नपाउँदै करम हैदरी मेरो पाइजामा तान्‍न लागे। मैले करमलाई अब पछि हट भनेँ। त्यसपछि उनी गाउन सुरु गर्छन्, 'चंद लाेंगो के खुसियों को ले कर चले .... '

दस्तुरको नेपाल यात्रा 

भारतको राजनीतिक, सामाजिक प्रभाव अहिले नेपालमा परिहरेको छ। यसका उदाहरण प्रशस्तै छन्। भारतमा विश्‍वविद्यालयहरूको निजीकरण गर्न खोजिँदैछ।  त्यसैगरी नेपालमा पनि शिक्षामा निजीकरण निकै मौलाउँदै गएको छ।

खोज्‍ने हो भने सत्तासीन धेरै नेताहरूको लगानी निजी विद्यालयहरूमा भेटिन्छ। यस्तो अवस्थामा शिक्षा सबैको नैसर्गिक अधिकार हो भनेर जत्ति नै रटाए पनि त्यो वाक्य संविधानभित्रै हराउन थालेको छ। विद्यार्थीहरू कुन विद्यालयमा पाइला टेक्छन्, त्यहीबाट उनीहरूको वर्ग छुट्टिन्छ। शिक्षालाई नैसर्गिक अधिकार भन्दै उनीहरू महँगो शुल्क तिर्न बाध्य छन्।

अझ अहिले त नेपाल सरकारले किताबमाथि नै भन्सार कर लगाइदिएपछि किताबहरू महँगो भएका छन्। कत्ति किताब त बजारमा पाउनसमेत छोडिसकेका छन्। जसको सोझो प्रभाव विद्यार्थीहरूको भविष्यमा पर्नेछ। गरीब विद्यार्थीले किताब किन्‍न सक्ने छैनन। लेखक, कलाकार, राजनीतिज्ञ, प्राध्यापक सबैले सरकारको यो कदमलाई गलत भनिरहेका छन्। पाटन दरबार स्क्‍वायरमा किताबमा करको विरोधमा १६ दिनसम्म लगातार चलेको विद्यार्थी आन्दोलनलाई अर्थमन्त्री खतिवडाले धुमिल्याउने कोसिसका साथ प्रकाशकहरूले गल्ती गरेकाले कर लगाउनुपरेको भने। तर आजसम्म कुनै पनि प्रकाशकलाई करछली प्रकरणमा समातिएको छैन। भन्सार कर लगाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम सरकारले गरेको छ। यस बिषयमा संवैधानिक इजलासमा रिटसमेत दायर भएको छ, जुन सुनुवाई हुने क्रममै छ।   

दुईतिहाइको आडमा सत्तामा बसेकाहरूले जनताको जीवनमाथि पटक पटक खेलवाड गरिरहेका छन्। स्वास्थ्यका माफियाहरू बढ्दो छन्, अनि जो गरीब छन् उनीहरू समयमा उपचार नपाएरै मर्नुपरेको खबर पत्रिकाले बारम्बार छापिरहन्छन्। नेताहरू भने निजी व्यवसायीको कृपामा विदेश भ्रमण गरिरहन्छन्। पाँचतारे धाइरहन्छन्।

अहिले पनि नेपालका लागि खास मुद्दा भनेको गाँस, बास, कपास नै हो। शिक्षा र स्वास्थ्य नै हो। बेरोजगारी बढिरहेको बेला सरकार कहिले हामीलाई रेलको सपना देखाउँछ, कहिले पानीजहाजको। तर डर त सरकारलाई पनि छ, जसरी जालिब आफ्नो कवितामा भन्छन्, 'बन्दुक बोकेका मानिसहरू एक निहत्था युवतीसँग डराइरहेछन्।'

दुईतिहाइ सरकार सायद निहत्था मानिससँग डराएकै कारण उनीहरूको अधिकारमाथि निरन्तर धावा बोलिरहेकै छ। सामाजिक सञ्जाल नीति त पारित पनि भइसक्यो, जसले हामीले सामाजिक सञ्‍जालहरूमा के लेख्ने के नलेख्ने भन्‍ने निरंकुशता लाद्छ। सत्तामा रहनेहरू आफ्नोविरुद्द कसैले एक शब्द नबोलोस भन्‍ने चाहन्छन्।

त्यसैले उनीहरूले प्रेस स्वतन्त्रतामाथि मात्रै धावा बोलेनन्। आफ्नो गुणगान नगाएको भन्दै केही समयअगाडी प्रधानमन्त्रीले त निजी व्यवसायीहरूसँगको बैठकमा सम्पादकहरूमाथि आक्रोशसमेत पोखे। यो सरकार कहिले ट्रक साहित्यलाई समृद्धिको बाधक देख्छ त कहिले मानिसको बोल्न पाउने स्वतन्त्रतालाई। विशेष सुरक्षा दलबारेसमेत सरकार कुरा उठाइरहेको छ। नेपालका केही विश्वविद्यालयका विद्यार्थीहरू सरकारको निरंकुशतामाथि हविव जालिबको कविता गुनगुनाउन थालेका छन्।

ख्वपः ईन्जिनियरिङग कलेजमा कम्प्युटर इन्जिनियरिङ्ग पहिलो सेमेस्टर पढिरहेका पवन ढुंगाना जो आफूलाई कम्युनिष्ट भन्‍न रुचाउँछन्, उनी एकदिन दस्तुर गुन्गुनाउँदै गरेका भेटिए। उनैले त्यस कवितालाई नेपालीमा भावानुवाद पनि गरेका रहेछन्।

हविव जालिवको दस्तुर जसले तत्कालीन पाकिस्तानी सत्तालाई ऐना देखाएको थियो, पवन ढुंगानाले गरेको त्यही दस्तुरको भावानुवाद पनि अहिले नेपाल सरकारलाई ऐना देखाउन काफी छ। उनीहरू ऐना हेर्न पो चाहन्छन् कि चाहँदैनन?

दस्तुर (कानुन)

हविव जालिव 

दियो कसैको महलमा मात्र बल्छ भने

केही मान्छेको मात्रै खुसी बोकी हिँड्छ भने

जसको छाँयामा सब सुन्दर देखिँदै बढे

यस्तो कानुनलाई, रंगहिन बिहानीलाई

म मान्दै मान्दिनँ

म जान्दै जान्दिनँ।

 

तिम्रो बधशालादेखि डर छैन मलाई

म नि बलवान् छु भन्देऊ दुश्मनलाई

तर्साउँदैछौ किन जेलका पर्खालबाट

यो दमनका कुरा, अज्ञानता अधुरा

म मान्दै मान्दिनँ

म जान्दै जान्दिनँ।

 

उद्यानमा फूल फुल्दैछन् भन

निर्जनको प्यास मेटिँदैछन् भन

ह्रृदयका घाउ पुरिँदैछन् भन

यो खुला झुटलाई, तिम्रो मनमानीलाई

म मान्दै मान्दिनँ

म जान्दै जान्दिनँ।

 

सदियौँ लुट्यौ तिमीले हाम्रो सुख

यस्तो चलनको अब हुन्छ नाश

साथी भए त सक्थ्यौ मेट्न दु:ख

तर तिमी साथी होइनौँ, चाहे मानुन कसैले

म मान्दै मान्दिनँ

म जान्दै जान्दिनँ।

(टेलिग्राम, द वायर, इन्डियन एक्सप्रेस, बिबिसी र केही युट्युब च्यानलको सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.