|

काठमाडौं : अहिले कांग्रेसमा १४ महाधिवेशनको चर्चा छ। सभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्ने मनस्थिति बनाएका छन्। कुनै समय देउवाबाट नेविसंघ अध्यक्षको उत्तराधिकार लिएका कांग्रेस नेता विमलेन्द्र निधिको पनि देउवाबाट नेतृत्व लिने चाहना छ। तर उनले देउवासँग प्रतिस्पर्धा गर्न भने चाहँदैनन्। त्यो गुटभित्र अरू कसैले पनि उनलाई चुनौती दिने आँट गरेको छैन। 

अर्को गुटमा पनि बरिष्ठ नेता रामचन्द्र पौडेल फेरि सभापति लड्न चाहन्छन्। तर, उनलाई यसपालि सभापतिको उम्मेदवार मान्‍न गुटमा कोही पनि तयार छैनन्‌। पौडेलको गुटमा अहिले चारजना सभापतिको आकांक्षी छन्। पौडेलसँगै प्रकाशमान सिंह र कोइराला दाजुभाइ। यसपटक पौडेल, शशांक र सिंहले मुख खोलेर आफू सभापतिमा उठ्ने सार्वजनिक घोषणा गरेका छैनन्। 

तर, शेखरले भने सार्वजनिक रूपमै तयारी गरेर सभापतिका दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। कांग्रेस राजनीतिमा कोइराला परिवारको ठूलो योगदान र स्थान छ। कार्यकर्ताले पनि उनीहरूले कस्तो कदम चाल्छन् भनेर चासोका साथ हेरिरहेका हुन्छन्। देउवा इतर गुटबाट यसपालि सभापतिमा दुई दाजुभाइमध्ये एकजना उम्मेदवार बन्ने पक्का जस्तै छ।  

देश दौडाहाकै क्रममा फागुन २५ गते लाहान पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ।’ 

उनले कोइराला परिवार जो चर्चित छ उही सभापतिको उम्मेद्वार बन्ने पनि बताए । उनले भनेका थिए, ‘कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ।’ अहिले देश दौडाहा गरिरहेको सन्दर्भमा यी तीन मध्ये सबैभन्दा चर्चित उनै शेखर मानिन्छन्। उनले घुमाउरो पारामा आफू सभापतिको उम्मेद्वार भएको बताए।

१३ औँ महाधिवेशनमा कोइराला परिवारकै डा. शशांकलाई महामन्त्री बनाउन पछि हटेका शेखर नै यसपाली सभापति बन्ने दाउमा छन्। शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘शेखरदाई जिल्ला जिल्ला जाने कार्यकर्ताको मनसाय बुझेर सभापति लड्ने मनस्थितिमा हुनुहुन्छ।’ 

के गर्छन शशांक ? 

नेपाली कांग्रेसको सभापतिको रुपमा हेरिएका व्यक्ति हुन शशांक कोइराला। शशांक कोइरालाले १४ औँ महाधिवेशनमा शेखरलाई सभापति बनाउन सहयोग गर्लान् कि नगर्लान भन्ने विषय पनि उत्तिकै चासोका साथ हेरिएको छ। 

उनी निकटका नेताहरु यसपाली शेखर कोइरालाई सभापति बन्न सहयोग गर्ने बताउँछन्। शशांक निकट एक नेताले भने,‘अहिले नै महामन्त्री ज्यूले यसै गर्नुहुन्छ भन्न त सकिँदैन। तर, आउने महाधिवेशनमा शेखर दाईलाई सहयोग गर्न सक्ने सम्भावना छ।’ 
१३ औँ महाधिवेशनमा महामन्त्री बन्न शेखरले लगाएको गुन १४ औँ महाधिवेशनमा सभापति बनाएर तिर्ने मनस्थितीमा शशांक रहेको उनी निटकका नेताहरु बताउँछन्। 

के छ सुजताको उद्देश्य ? 

कोइराला परिवारको अर्की सदस्य हुन सुजता। उनी अहिले शेखरसँगै विभिन्न जिल्लामा दौडमा सामेल भइरहेकी छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएर केही उच्च पदमा मनोनीत खाने दाउमा छिन्। 

‘सुजता दिदी अहिले कोइराला परिवारबाटै कांग्रेसको सभापति होस भन्ने योजनाका साथ अघि बढिरहनु भएको छ,’ उनीनिकट एक नेताले भने, ‘शशांक दाई र शेखर दाईमध्ये एक सभापति हुनुपर्छ भन्ने उहाँले चाहनु भएको छ। तर अहिलेको अवस्थामा शेखर दाई सभापति बन्नु पर्छ भनेर उहाँसँगै जिल्ला जिल्ला गइरहनु भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.