|

सर्लाही : सर्लाहीको बागमतीस्थित स्व. सन्तोष स्मृति खेल मैदानमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो भएको खेलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलको यात्रा सुनिश्चित गरेको छ।

सुदूरपश्चिम ११ लाई ३-१ गोलको अन्तरले पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा सुनिश्चित गरेको हो। खेलको १७औँ मिनेटमा सुदूरपश्चिमका विनोद केसीले दिएको क्रस पासलाई फिलिप तामाङले खेलको पहिलो गोल गरे।

खेलको दोस्रो हाफको २ मिनेट अर्थात ४७औँ मिनेटमा पुलिसका साजन राईको पासलाई सदुपयोग गर्दै जुमानु राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ५५औँ मिनेटमा जुमानु राईले दिएको पासलाई तीर्थ रानामगरले सुदूरपश्चिमको गोलपोष्टको जाली चुमाउँदै २-१को गोलको अग्रता दिलाए।

खेलको ६७औँ मिनेटमा पुलिस रविन श्रेष्ठले दिएको पासलाई तीर्थ रानामगरले हेड प्रहारबाट अर्को गोल गर्न सफल भए। सुदूरपश्चिमका खेलाडीले पुलिसको डिबक्सभित्र पटकपटक पाएका अवसरलाई पुलिसका गोल रक्षकले असफल तुल्याएका थिए।

शुक्रबार भएको खेलको उत्कृष्ट खेल प्रदर्शन गरेका पुलिस क्लबका जुमानु राई म्याद अ दि म्याच घोषित भए। उनले नगद १० हजारसहित ट्रफी एवं एकजोर बुटसमेत पाएका छन्। शनिबार दोस्रो सेमिफाइनल खेल कञ्चनजंघा फुटबल क्लब सिक्किम र प्रभु जाउलाखेल युथ क्लब ललितपुरबीच हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

‘प्रदेश नम्बर दुईको शान, राजा जनक प्रतिको सम्मान’ भन्ने नारासहित सुरु प्रतियोगिताको आगामी चैत २ गते फाइनल खेल हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले जानकारी बताए। दुई विदेशी क्लबसहित १२ वटा टिम सहभागि प्रतियोगिताका विजेताले नगद १० लाखसहित प्रथम उपाधी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.