निरन्तर कोटेश्‍वर धाउँदैछन् नेताहरु

|

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गुट विवादले जरो गाडेको छ। पार्टीभित्र विवादका कारणले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मतभेत बढिरहेको छ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेलामा प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि फागुन पहिलो साता अस्पताल भर्ना भएका थिए। गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओली यही शुक्रबार डिस्चार्ज समेत भइसकेका छन्।

प्रधानमन्त्री ओली अस्पतालमा उपचारारत भए पनि पार्टीभित्रको विवाद रोकिएन। झन् उग्र रुप लियो। पार्टीमा विवाद भइरहेपछि नेता माधवकुमार नेताल अध्यक्ष दाहालसँग नजिकिए। प्रधानमन्त्री ओलीको कार्यशौलीप्रति असन्तुष्टि जनाउँदै नेता नेपाल अध्यक्ष दाहालनजिक भएको उनीनिकट नेताहरु बताउँछन्।

पार्टी एकतापूर्व तत्कालीन एमालेभित्र पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच मतभेद थियो। प्रधानमन्त्री ओली र नेता नेपालसमूहको तत्लो तहसम्म गुट झाँगिएको थियो। जुन यथार्य हो। दुई कम्युनिष्ट धारका तत्कालीन एमाले र पूर्व माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पनि नेता नेपाल पार्टीभित्र शक्ति संचयमा सफल भए। फलतः अहिले नेकपाभित्र उनलाई शक्तिशाली मानिन्छ।

पार्टी एकतापछि पनि नेकपाभित्र शक्ति गुटमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र नेता नेपाल नै रहेका छन्। यद्यपि, ती तीन शक्तिशाली गुट सल्बलाइरहेका बेला अन्य नेता पनि शक्ति सन्चयमा केन्द्रित भएको देखिन्छ। तर, मुख्य तीन गुटले नेकपाभित्र हावी भइरहँदा पनि नेता नेपाल निर्णयक भूमिकामै रहन्छन्।

पार्टी एकता भएको करिब दुई वर्ष पुग्‍नै लाग्दा नेकपाभित्र शीर्ष नेताहरुबीच मतभेतको अवस्था सिर्जना भइसकेको छ। ठूलो पार्टीभित्र आन्तरिक छलफलका क्रममा विवाद देखिनु स्वभाविक भएको नेकपा नेताहरु बताउँछन्। तर, पार्टीभित्रका विवादित बिषयमा समाधानको बाटो नखोजी शक्ति केन्द्रित गुट निर्माणमा जुट्नु गलत भएको केही नेताहरुको टिप्पणी छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादबीचमा रहेका नेता नेपाललाई आफूतर्फ तान्‍न पछिल्लो समय नेताहरु सक्रिय छन्। प्रधानमन्त्री ओलीसँगको सम्बन्धमा चिसोपना आएपछि पछिल्लो समय नेता नेपाल अध्यक्ष दाहालनजिक छन्। नेता नेपाल अध्यक्ष दाहालसँग नजिकिएपछि पार्टीभित्र प्रधानमन्त्री ओली अल्पमतमा पर्दै आएका छन्।

प्रधानमन्त्री ओलीलाई पुनः शक्तिमा फर्काउन चाहान्छन्। त्यसका लागि उनले नेता नेपालको साथलाई पहिलेको अवस्थामा फर्काउन सक्नुपर्छ। तर, नेता नेपाल प्रधानमन्त्री ओलीको कार्यअसन्तुष्टिकै कारणले उनीबाट टाढिएको उनीनिकट एक नेता बताउँछन्।

‘पार्टी एकतापूर्व पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच दुरी नै थियो। उहाँहरु फरक गुटमा हुनुहुन्थ्यो,’ उनले भने, ‘तर, पार्टी एकतापछि पनि उहाँहरुबीचको दुरी कायमै छ। जुन दुरीलाई मेटाउन प्रधानमन्त्री लाग्‍नुभएको छ। अब नेपालले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ, त्यो हेर्न बाँकी छ।’

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, वामदेव गौतमलाई राष्ट्रियसभामा सदस्य लाने-नलाने लगायत बिषयमा कुरा मिलेको थिएन। सभामुख चयनलाई लिएर प्रधानमन्त्री ओलीलाई अलग्याई अध्यक्ष दाहालको नेतृत्वमा उपाध्यक्ष वामदेव गौतम निवासमा भेला गरेका थिए। जुन भेलाका कारण प्रधानमन्त्री ओली सशंकित भएका थिए। त्यही भेलाबाट आफूलाई अल्पमतमा पार्न खोजिएको ओलीले बुझेका छन्। 

त्यही भेलपछि असतुष्ट प्रधानमन्त्री ओली पार्टीभित्रको विवादित बिषयमा अल्पमतमा पर्दै गएका छन्। अध्यक्ष दाहालसँग नेता नेपाल, भलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’का शीर्ष नेताहरु नै नजिकिए।

‘पार्टीभित्र शक्तिशाली नेता नेपाललाई पुनः आफ्नो बाटोमा ल्याउने कसरतमा प्रधानमन्त्री ओली हुनुहुन्छ। नेपाललाई आफ्नो बाटोमा फर्काएलगत्तै अध्यक्ष दाहाल पार्टीमा स्वत: कमजोर बन्‍नुहुन्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले थाहाखबरसँग भने, ‘पार्टीभित्रको विवाद मिलाउने प्रयास गर्दै नेता नेपाल दुईतिरको छलफलमा कुदिरहनु भएको थियो। प्रधानमन्त्री अस्पतालमा गए पनि केही नेताहरु नेपालसँग वार्ता गर्न उहाँकै निवाससमेत पुगिरहेका छन्।’

पार्टीभित्रको विवादले चर्को रुप लिएपछि शीर्ष नेताहरु पार्टी कार्यालय भन्दा आफ्नै निवासको भेलामा केन्द्रित भइइरहेका छन्। बालुवाटार, खुमलटार, कोटेश्‍वर, भैंसेपाटी, बानेश्‍वरलगायतमा शीर्ष नेताहरु जमघटमा जुटिरहेका छन्। 

एउटा राजनीतिक दलभित्र नेतृत्वका लागि गुटबन्दी हुनु स्वभाविक भएको स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। ‘पार्टीभित्र गुटहरू भइरहन्छन्, ती गुटको पछाडि विचारको आधार छ कि छैन भनेर मूल्याङ्‍कन गर्नुपर्छ,’ उनले भने, ‘तर, पछिल्लो समय गुटहरूमा विचार नभएकै शक्ति केन्द्रित गुट मौलाउनु पार्टीका लागि खतरनाक हुँदै गएको छ।’

पछिल्लो समय प्रधानमन्त्री ओलीनिकट नेताहरु अर्का नेता नेपाललाई रुझाउन दिनहुँजसो कोटेश्‍वर पुग्‍ने गरेका छन्। पार्टीका महासचिव विष्णु पौडेलले उपप्रधानमन्त्री ईश्‍वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेपाल निवासको दौडमा छन्। 

प्रधानमन्त्री ओलीले नेता नेपाललाई आफ्नो नजिक ल्याउन जस्तोसुकै सहमति गर्न पनि तत्पर भएको बालुवाटार स्रोत बताउँछ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएका दुरी मेटाउने पक्षमा नेता नेपाल लागेको नेकपा केन्द्रीय सदस्य बिष्णु रिजाल बताउँछन्। ‘आन्तरिक छलफलका क्रममा उहाँहरुबीच देखिएको मतभेदमाथि सहमति जुटाउन नेता नेपाल सक्रिय हुनुभएको हो,’ उनले भने, ‘तर, नेपाललाई आफूनिकटमा ल्याउन ओली पक्षको कसरत भएरहेको भन्‍ने कुरा चाहिँ होइन। पार्टीभित्रको बिषयमा छलफलका क्रममा त्यस्तो हुनु स्वभाविक हो।’

मौन छैनन् दाहाल

त्यसो त प्रधानमन्त्री ओलीनिकट नेताहरुले नेता नेपाललाई घेरिरहँदा अध्यक्ष दाहाल पनि मौन बसेका छैनन्। अध्यक्ष दाहालले पनि नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग निरन्तर छलफल गरिहरेका छन्।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि केही दिन स्वास्थ्य अवस्थामा खराबी देखाउँदै भेटघाट बन्द गरेका अध्यक्ष दाहालले शुक्रबार बिहान नेता नेपाल र गौतमसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सभामुख चयनदेखि मतभेद सुरु भएको थियो। सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, राष्ट्रियसभामा वामदेव गौतमलाई लाने-नलाने बिषयमा पनि पछिल्लो समय विवाद भएको थियो। तर, पार्टी सचिवालयले नै गौतमलाई राष्ट्रिययसभामा लाने निर्णय गरिसकेको छ।

यद्यपि प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयपछि नै राष्टियसभामा गौतमलाई लान नसक्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए। प्रधानमन्त्री ओली राष्टियसभामा अर्थमन्त्री डा. युवराज खतिवडालाई लान चाहान्छन्। तर, सचिवालयमै प्रधानमन्त्री ओली गौतमको विपक्षमा उभिएपछि अल्पमतमा परेका छन्।

नौ जनाको सचिवालयमा प्रधानमन्त्रीको समर्थनमा उपप्रधानमन्त्री पोखरेल मात्रै देखिए। उनीनिकट मानिएका महासचिव पौडेललेसमेत त्यस विषयमा फरक धारणा राखेका छन्। उनले पार्टी सचिवालयको निर्णय सरकारले मान्‍नुपर्ने बताएका थिए।

शुक्रबार अध्यक्ष दाहाल निवास खुमलटारमा भएको छलफलमा पनि पार्टीभित्र भएका पछिल्लो निर्णयलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीलाई दबाब दिने तयारीमा जुटेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.