सर्लाही : सर्लाहीको बागमती-११, कर्मैयास्थित स्व.सन्तोष स्मृति खेल मैदानमा भएको चौथो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधी पुलिसले उचालेको छ। आइतबार दिउँसो भएको खेलमा पुलिसले कञ्चनजंघा एफसी सिक्किमलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधी उचालेको हो।
उपाधी उचालेसँगै पुलिसले १० लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको कञ्चनजंघाले पाँच लाख रुपैयाँमा चिक्त बुझायो। जितसँगै पुलिस राजर्षि जनककपको पहिलोपटक च्याम्पियन बन्ने अवसर पायो।
खेलको पहिलो मिनेटमा पुलिसका राम वाजीले दिएको क्रस पासलाई तीर्थ राना मगरले डिबक्स बाहिरबाट गरेको प्रहारबाट पहिलो गोल गरे। खेलको १२औँ मिनेटमा पदम भट्टराइको क्रस पासलाई जुमानु राईले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै २–० को अग्रता दिलाए।
खेलको १९औं मिनेटमा कञ्चनजंघाका अमिर लामाले पुलिसका खेलाडीबाट बल खोस्दै डिबक्स बाहिरबाट गरेको प्रहारबाट पुलिसको गोल पोष्टको जाली चुमाए। प्रतिस्पर्धात्मक खेलमा पुलिसका तर्फबाट राईले गरेको दोस्रो गोल नै पुलिसका लागि उपाधी चुमाउन सफल भए।
२२ फागुनबाट शुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित १२ टीमले सहभागिता जनाएको थियो। पुलिस जुमानु राई सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ५१ हजार रुपैयाँ प्राप्त गरे।
अन्य विधागत उत्कृष्टलाई नगद २०/२० हजार प्रदान गरियो। खेल अवधीभर ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल कञ्चनजंघाका निवास राना भए। त्यस्तै, सर्लाहीका उदयमान खेलाडी बागमती युवा क्लबका विजय घलानले १५० सिसिको पल्सर मोटरसाइकल प्राप्त गरे।
विधागत उत्कृष्ट खेलाडी
सर्वोत्कृष्ट डिफेन्डर - निवास राना (कञ्चनजंघा)
उत्कृष्ट गोलकिपर – संजिब श्रेष्ठ (पुलिस)
मिडफिल्डर – रुपबहादुर लामा (पुलिस)
प्रशिक्षक - संजिव जोशी (पुलिस)
तपाईंको ईमेल गोप्य राखिनेछ ।