निजी स्रोतबाट शिक्षक, समुदायबाट सहयोग

|

दमक : सामुदायिक विद्यालयको गुणस्तर सुधारको बहस देशव्यापी बनेको छ। कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या लगातार घटेपछि नजिकका विद्यालय गाभ्ने अभ्यास पनि कतिपय ठाउँमा भइरहेको छ। 

झापाको कमल गाउँपालिका-७ विष्णुकट्ठामा रहेको सिंहदेवी प्राविमा पनि यस्तै अवस्था आउन लागेपछि विद्यालय विद्यार्थी टिकाउन अभिभावक नै जाँगरिला बनेका छन्। अभिभावकहरू गाउँ र घरघरमै पुगेर अभियान नै चलाइरहेका छन्। 

महिना दिनमै नतिजा

अभिभावक लगातार रूपमा एक महिना खटेपछि त्यसको परिणाम पनि देखिन थालेको छ। मुश्किलले जसोतसो चल्दै आएको यस सामुदायिक विद्यालयमा विद्यार्थी अनुपात बढ्‍न थालेको छ।  

विद्यालय सुधार कार्यक्रमअन्तर्गत गएको श्रीपञ्चमीका दिनदेखि प्ले ग्रुपदेखि कक्षा १ सम्म अंग्रेजी माध्यममा पठन-पाठन शुरु गरेपछि पढ्न आउने विद्यार्थी ह्वातै बढेका हुन्। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राईका अनुसार विद्यार्थी संख्या बढाउन अभिभावकको सक्रियतामा विद्यालयले अंग्रेजी माध्यममा पढाई सञ्चालन गरिएपछि विद्यार्थी भर्ना अवस्थामा सुधार आएको हो। 

अंग्रेजी माध्यममा पढाई शुरु गरिएपछि प्लेग्रुप कक्षमा एकैसाथ २२ जना विद्यार्थी थपिएका छन्। यो वर्ष प्लेग्रुपदेखि कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पढाई शुरु गरिएको छ। यससँगै अहिले नेपाली तथा अंग्रेजी माध्यम गरी ७५ विद्यार्थी पुगेको छ। अहिले अंग्रेजी पढाइसँगै विद्यार्थी पोशाकको समेत व्यवस्था गर्ने तयारी छ।

निजीसँग प्रतिस्‍पर्धा

२०३० सालमा स्थापना भएको यो विद्यालय पछिल्ला वर्ष खस्किन पुगेको थियो। कुनैला विद्यालयमा ६६० जना विद्यार्थी संख्या पुगेको भए पनि पछिल्ला वर्ष धमाधम निजी बोर्डिङ खुलेसँगै विद्यार्थी संख्या ह्वातै घटेको हो। 

निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न नसक्दा सामुदायिक  विद्यालयले चुनौती खेप्‍नुपरेको प्रधानाध्यापक राई स्वीर्काछन्। सामुदायिक विद्यालयमा सरकारी लगानी उच्च भए पनि त्यसबाट लक्ष्यअनुसार शैक्षिक सुधार नआउँदा अधिकांश सामुदायिक विद्यालयले नराम्ररी यस्ता चुनौती आएको उनको बुझाइ छ। 

करिब २ विघा बढी आफ्नै जमिनमा अवस्थित यस विद्यालयले सामुदायिक विद्यालयको अवस्थामा सुधार ल्याउन यसअघि काम गरे पनि योजनाबद्ध कार्यसम्पादन हुन नसक्दा बीचैमा लथालिंग बन्‍न  पुगेको थियो। 

०७३/७४ शैक्षिक सत्रमा पनि अंग्रेजी माध्यममा पढाइ थालिए पनि त्यसले गति पाउन सकेन। विद्यालय नजिकैका निजी बोर्डिड स्कुलमा अंग्रेजी पढाइका कारण विद्यार्थीको आकर्षण हुने गरेकाले समुदायका धेरै विद्यालयको हालत खस्किएको उनको तर्क छ। 

अभिभावक बने अभियान्ता

विद्यार्थी अभावमा विद्यालयमा बन्द हुने अवस्थामा पुगेको यस विद्यालयलाई पुनर्जीवन दिन स्थानीय अभिभावक अभियान्ता भएर लागेका छन्। गत माघ २८ गते भेला डाकेर विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न लागे उनीहरू। गाउँपालिकाले शिक्षासम्बन्धी कानुन निर्माण गरी नसकेकाले अन्तरिम व्यवस्थाअनुसार नै विद्यालयमा स्थानीय ओमनाथ तिम्सिनाको अध्यक्षतामा सात सदस्यीय एक अभिभावक समन्वय समिति गठन भयो।

वडा सदस्य हिमा नेपालीको अध्यक्षतामा अन्तरिम विद्यालय व्यवस्थापन समितिसमेत गठन गरिएको छ। त्यही समितिको अगुवाइले गर्दा नै एकै महिनामा भर्ना दर एक्कासि बढेको अध्यक्ष तिम्सिनाले बताए। समितिले आफ्नै विद्यालयमा आफ्ना छोराछोरी पढाउन गाउँघरभरी एकसाता लामो अभियान नै चलाएका थिए।

‘गाउँघरभरी भर्ना अभियान चलायौँ। त्यसबाट विद्यालय जान लागेका बालबच्चा भर्ना गर्न सफल भयौँ’ अध्यक्ष तिम्सिनाले सुनाए। उनका अनुसार आगामी शैक्षिक सत्रमा करिब २ सय विद्यार्थी पुर्‍याउने गरी गृहकार्य भइरहेको छ। उनले अंग्रेजी माध्यमबाट कक्षा १ सम्म पढाई शुरु गरी क्रमशः थप्दै लैजाने योजना रहेको बताए। त्यही समितिले विद्यालयमा स्वच्छ खानेपानीका लागि धारा जडान गर्नुका साथै प्लेग्रुप कक्षा र संरचना निर्माणलगायत काम गरिसकेको छ। 

हाल यस सिंहदेवी प्राविमा ५५ जना विद्यार्थीले नाम लेखाए पनि नियमित विद्यालय आउने विद्यार्थीको संख्या ३७ छ। विपन्‍न दलित तथा जनजाति बाहुल्यता विद्यार्थी भएको यस विद्यालयले जेनतेन सञ्चालन हुँदै आएको छ।

विद्यार्थी नहुनु अहिलेको प्रविधियुक्त पढाइमा कमजोरी भएको स्वीकार्दै त्यसलाई सुधारतर्फ डोर्‍याउन समितिले काम गरी आएको छ। खस्किएको विद्यालयलाई नमुना विद्यालयका रूपमा रूपान्तरण गर्न जुटेको उनको भनाइ छ। 

निजी स्रोतबाट शिक्षक, समुदायबाट सहयोग

विद्यालयले अंग्रेजी माध्यममा कक्षा १ सम्म पढाइ सुरु गरेपछि दक्ष शिक्षक राख्‍न पहल गरेको छ। त्यसका लागि चारजना शिक्षकको दरबन्दी थप्‍ने तयारी भइरहेको अध्यक्ष तिम्सिना बताउँछन्। केही दिनभित्रै नियमानुसार शिक्षक माग गर्ने र त्यसका लागि प्रक्रिया अघि बढाइएको विद्यालयले जनाएको छ। 

चार जना दरबन्दी रहेको यस विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन लागेपछि जनशक्ति अभाव भएकाले त्यसलाई समुदायकै पहलमा राख्‍न लागिएको तिम्सिना बताउँछन्। उनले चारजना स्थानीय क्षेत्रकालाई राख्ने र न्यूनतम सुविधामा पढाउने समझदारी कायम गरिने बताए।

विद्यालयको गुणस्तर सुधारका लागि अभिभावक र शिक्षकले जाँगर देखाएपछि समुदायका विभिन्‍न पक्षबाट सहयोग जुट्ने क्रम पनि बढेको छ। यसै क्रममा कमल गाउँपालिका-७ स्थित इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाले प्लेग्रुपका विद्यार्थीलाई लक्षित गरी एक थान टिभी प्रदान गरेको छ।

संस्थाका टेकेन्द्र श्रेष्ठले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहकारीले ३२ इन्चको एक थान टिभी प्रदान गरेकोे बताए। टिभीले श्रव्य दृश्यबाट समेत पठन-पाठन सञ्चालन गर्न सघाउ पुग्‍ने प्रधानाध्यापक राई बताउँछन्। विद्यालयलाई प्रविधिसँग पहुँच पुर्‍याउन यस्ता उपकरणसहितको शैक्षिक पठन-पाठनले समग्र शैक्षिक नतिजामा सुधार ल्याउने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.