समन्वय नगरेको उद्योग वाणिज्य संघको आरोप

|

डडेल्धुरा : विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिँदा बजारमा कालोबजारी बढेको गुनासो बढेपछि शुरू गरिएको डडेल्धुराको बजार अनुगमनमा अवरोध सिर्जना भएको छ।

अवरोध भएपछि आइतबारदेखि गरिएको बजार अनुगमन बीचमै स्थगित भएको हो। आइतबार जिल्ला सदरमुकामको बजार क्षेत्रमा अनुगमन टोली र उद्योग वाणिज्य संघ डडेल्धुरासँग विवाद उत्पन्न भएपछि अनुगमन स्थगित गरिएको हो।

समन्वय नगरेको आरोप

डडेल्धुरा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि अमरगढी नगरपालिकाले व्यापारीहरूलाई दुःख दिने ढंगले बजार अनुगमन गरेको आरोप लगाएको छ।

बजार अनुगमनका क्रममा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्ट र अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायबीच ‘भनाभन’ समेत भएको थियो। नगरपालिकाले व्यवसायीहरूलाई दुःख दिने, धम्काउने तर्साउने कार्य गरेको भन्दै उक्त घटनाको उद्योग वाणिज्य संघले घोर भर्त्सना गरेको जनाएको छ। उद्योग वाणिज्य संघलाई जानकारी नदिइ एकलौटी रुपमा बजार अनुगमन गरेको र व्यापारीलाई दुःख दिने तरिकाले बजार अनुगमन गरेको भन्दै व्यापारीहरूले विरोध गरेका हुन्‌।

‘कोरोना भाइरसको संक्रमण रोख्ने सरकारी अभियानमा हाम्रो पूर्ण साथ र समर्थन रहेको समयमा यस जिल्लाका उद्योगी व्यवसायीहरूले अति आवश्यक दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि नगरी अतिआवश्यक परिणाम सहजरुपमा उपलब्ध गराइरहेको अवस्थामा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले अनुगमनको नाममा गलत नियत राखी अमरगढी नगरपालिका-५ बागबजार क्षेत्रका व्यवसायीहरूलाई दुःख दिने, धम्काउने, तर्साउने कार्य गरेकाले उक्त कार्यको डडेल्धुरा उद्योग वाणिज्य संघ घोर भर्त्सना गर्दछ,’ डडेल्धुरा वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुईजना माथिल्लो ओहदाका व्यक्तिहरु हुँदा हुँदै अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायमाथि सबैजना एकमुष्ट खनिनुको भित्री रहस्य भने भिन्दै थियो। केहीदिन अगाडि प्रमुख प्रशासकीय अधिकृतले डडेल्धुराको बसपार्क छेउमा रहेको सार्वजनिक जग्गामा बन्दै गरेको टहराहरु हटाउन लिखित रुपमा प्रत्राचार गरेको विषयले उद्योग वाणिज्य संघ डडेल्धुराका केही व्यक्तिहरुका लागि चासोको विषय बनेको थियो।

साथै छिमेकी राष्ट्र भारत र चीनका नाकाहरू बन्द भइरहेको विद्ययमान परिस्थितिमा यस संघले सम्पूर्ण उद्योगी व्यवसायीहरूसँग पटक-पटक छलफल गरी कृतिम अभाव, कालो बजारी, मूल्य वृद्धि हुन नदिन र सामाजिक उत्तरदायित्व निभाइ आम नागरिकलाई आपतकालिन अवस्थामा पूर्ण सहयोग गर्न संघ प्रतिबद्धता व्यक्त गर्दै असहज परिस्थितिमा कतै कसैबाट पनि मौकाको फाइदा नउठाउन पनि विज्ञप्तिमार्फत संघले व्यवसायीहरूमा आग्रह गरेका छ।

सरकारले कुनै पनि खालका सभा सम्मेलन, भोज, भतेर गर्न रोक लगाएका बेला नगरपालिकाले दर्जनौं कर्मचारी र सुरक्षाकर्मी खटाइ खाद्य प्रविधि गुण, म्याद नाघेका माल समान, कालोबजारी नियन्त्रण गर्नेभन्दा पनि दुःख दिने नियतले अण्डा, गुड, मिठाइमा उत्पादन मिति हेर्ने, बजारमा डोजर चलाउने, गत भदौ महिनाको बिक्री मिति देखाउन भन्दै व्यापारीलाई डर/त्रास देखाउने निन्दनीय काम भएको उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए।

अनुगमनका विषयमा नगरपालिकाका उपप्रमुखसँग बुझ्दा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको उनले बताए। नगर प्रमुख बजार अनुगमनमा थिएनन भने उप प्रमुख अनुगमनमै भएपनि प्रमुख प्रशासकीय अधिकृतलाई बुझेर खबर गर्ने बताएको उनको भनाइ थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्दा प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्न भनेको र प्रमुख जिल्ला अधिकारीसँग 'कस्तो खालको बजार अनुगमन हो?' भनि बुझ्दा आफूलाई पनि कुनै जानकारी नरहेको र अनुगमनका क्रममा बाटो परेर सहभागी भएको प्रतिक्रिया दिएको अध्यक्ष भट्टले पत्रकार सम्मेलनमा जानकारी गराए।

अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अधिकृत लक्ष्मीप्रसाद उपाध्यय, अमगढी नगरपालिका स्वास्थ्य शाखका प्रतिनिधि, जिल्ला प्रशासनका प्रतिनिधि, करदाता सेवा कार्यालय डडेल्धुराका प्रमुख लगायतको सहभागितामा बजार अनुगमन गरिँदै थियो।

उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टको नेतृत्वमा केही पदाधिकारीहरुले अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई अभद्र व्यवहार गरे। उनीमाथि बजार अनुगमनको क्रममा व्यापारीहरुलाई आतंकित पारेको भन्दै हातपातको प्रयास समेत भयो। केही समय सँगसँगै अनुगमनमा रहेका उद्योग वाणिज्य संघको उक्त टोलीले व्यक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई बाहिरको मान्छे दादागिरी गर्ने भन्दै हप्काए। तर प्रमुख प्रशासकीय अधिकृत उपाध्याय भने आफूले कार्यविधिभन्दा बाहिर नगएको स्पष्टिकरण दिइरहेका थिए।

औपचारिकता पूरा गर्नकै लागि भएको जस्तो देखिएको बजार अनुगमन टोलीले कुनै सामान बरामद समेत गरेन। सबैजसो पसलहरुमा म्याद भित्रका वस्तुहरु भेटिएको जनाउँदै अनुगमन टोलीले मूल्य सुची, व्यवसाय दर्ता/नविकरण, नापतौलको प्रमाण, स्थायी लेखा, भ्याट, बिक्रि बिल, खरिद बिल अध्ययन गरेको थियो। 

अनुगमनका विषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अमरगढी नगरपालिकाले गरेको अनुगमनमा गएपनि आफूलाई यस बारेमा पूर्ण जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘यस विषयमा मलाई त्यति थाहा छैन, हामीले कार्यालयबाट एकजना प्रतिनिधि पठाएका थियौं, बजारमा अनुगमन गरिरहेको देखेपछि म पनि एकछिनको लागि सहभागि भएकै हुँ,’ उनले भने।

अमरगढी नगरपालिकाले भने उद्योग वाणिज्य संघले भने जस्तो गतिविधि र व्यापारीहरुसँग नराम्रो व्यवहार नगरेको जनाएको छ। अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले यहाँका व्यापारीहरुका पीरमर्काहरु आफूहरुले बुझेको र व्यवसायीहरूलाई दुःख दिने, धम्काउने, तर्साउने कार्य नगरेको बताए।

बजारमा कालोबजारी भएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको उनको भनाइ छ। ‘बजारमा कालो बजारी भइरहेको छ भन्ने गुनासो भएको थियो, त्यही भएर नगरपालिकाको टोलीले अनुगमन गरिएको हो,’ उनले भने।

अमरगढी नगरपालिकाले कार्यविधि अनुरुप नै बजार अनुगमन गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीको समन्वयमा अमरगढी नगरपालिकाले अनुगमनको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए। 

अनुगमन विथोल्नुको भित्री रहस्य के?

डडेल्धुराको मुख्य बजार क्षेत्रमा लामो समयपछि आइतबार अनुगमन गरिएको हो। अनुगमन टोलीले व्यापारीहरुलाई दुःख दिएको भन्दै केही समयमै उद्योग वाणिज्य संघले अनुगमन स्थगन नै गरायो। उद्योग वाणिज्य संघका अध्यक्ष सहितका केही पदाधिकारीहरुले अनुगमन पटक्कै नगर्न दबाब दिँदै बजारबाट टोलीलाई फर्काए। तर, त्यसका पछाडिको कारण भने विभिन्न हुन सक्ने आशंका गरिएको छ। 

प्रमुख जिल्ला अधिकारीले केन्द्रको निर्देशनअनुसार जिल्लामा अनुगमन गर्नका लागि अमरगढी नगरपालिकासँग समन्वय गरेको देखिन्छ। अनुगमन टोलीमा अमरगढी नगरपालिका उपप्रमुख संगीता भण्डारी र प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तसमेत थिए।

दुईजना माथिल्लो ओहदाका व्यक्तिहरु हुँदा हुँदै अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायमाथि सबैजना एकमुष्ट खनिनुको भित्री रहस्य भने भिन्दै थियो। 

केहीदिन अगाडि प्रमुख प्रशासकीय अधिकृतले डडेल्धुराको बसपार्क छेउमा रहेको सार्वजनिक जग्गामा बन्दै गरेको टहराहरु हटाउन लिखित रुपमा प्रत्राचार गरेको विषयले उद्योग वाणिज्य संघ डडेल्धुराका केही व्यक्तिहरुका लागि चासोको विषय बनेको थियो। जुन ठाँउमा व्यक्तिगत रुपमा टहरा निर्माण भइरहँदा सार्वजनिक रुपमा असर पर्ने भन्दै नगरपालिकाले हटाउन भनेको थियो। 

केहीदिन अगाडि प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा समेत धम्कीको भाषा प्रयोग भएकोमा बजारमै देखेपछि उनीमाथि झनै आक्रामक रुपमा प्रस्तुत भएको हुनसक्ने आशंका पनि गरिएको छ। आफ्ना निकटतम् र सहयोगी व्यक्तिहरुलाई नगरपालिकाले गरेको असहयोग सम्झेर उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरु संस्थागत रुपमै अनुगमनको विरोध गरेको वाहानामा प्रमुख प्रशासकीय अधिकृत माथि खनिएको अड्कल गरिएको छ।

सीडीओ नै अनुगमनमा निस्किएपछि व्यापारी हायलकायल 

डडेल्धुरा बजार अनुगमनमा प्रायः सहायक प्रमुख जिल्ला अधिकारी संलग्न रहने गरेको विगतको इतिहास छ। स्थानीय तहमा अधिकार प्रत्यायोजन हुनुपूर्व सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति रहने गरेको थियो। 

तर स्थानीय तहमा अधिकार प्रत्यायोजन भइसकेपछि अहिले कुनैपनि स्थानीय तहको उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा बजार अनुगमन समिति रहने व्यवस्था छ। आइतबार गरिएको अनुगमन पनि अमरगढी नगरपालिकाको बजार अनुगमन निर्देशिकाअनुसार गरिनु पर्ने भएपनि प्रमुख जिल्ला अधिकारी स्वयम् बजारमा निस्किए।

विश्वव्यापी रुपमा संक्रमण फैलिएको कोराना भाइरसका कारण उत्पन्न परिस्थितिमा बजारको अवस्थाका बिषयमा स्वयम् उपस्थित भई जानकारी लिनु गलत पनि थिएन्। तर, उनले बजार अनुगमनको पाटोलाई मात्र नभई केही व्यापारीहरुले गरेका व्यवस्थापकीय पक्षमा समेत मुख खोलेपछि व्यापारीहरुमा उनको शब्दले नाकरात्मक प्रभाव पर्‍यो, जुन बजार व्यवस्थापनको मुख्य विषयवस्तु प्रति लक्षित थियो। 

बजारमा रहेका अव्यवस्थित पार्किङ, पसल बाहिर सडक छेउसम्म राखिएको सामग्री तथा खोकाछाप्रा निर्माण र घरको माथिल्लो तलामा उक्लिन बनाइएको सिँढीका विषयले केही व्यक्तिहरूलाई तनाव भइरहेको थियो। केहीलाई त प्रमुख जिल्ला अधिकारीको अगाडि-पछाडीको सुरक्षाकर्मीहरूको उपस्थितिले पनि असहजता भइरहेको थियो। 

यसैक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टको नेतृत्वमा केही पदाधिकारीहरुले अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायलाई अभद्र व्यवहार गरे। उनीमाथि बजार अनुगमनको क्रममा व्यापारीहरुलाई आतंकित पारेको भन्दै हातपातको प्रयास समेत भयो। केही समय सँगसँगै अनुगमनमा रहेका उद्योग वाणिज्य संघको उक्त टोलीले व्यक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई बाहिरको मान्छे दादागिरी गर्ने भन्दै हप्काए। तर प्रमुख प्रशासकीय अधिकृत उपाध्याय भने आफूले कार्यविधिभन्दा बाहिर नगएको स्पष्टिकरण दिइरहेका थिए। तर उद्योग वाणिज्य संघको उक्त टोलीले प्रमुख प्रशासकीय अधिकृतलाई इगिंत गर्दै बजार अनुगमन स्थगित गर्न दबाव दियो। 

सँगै रहेका प्रमुख जिल्ला अधिकारीले भने विवादको विषयलाई सामाधान गर्न सकेनन्। जिम्मेवार हुनुपर्ने स्थानमा एक सरकारी कर्मचारीमाथि गरिएको व्यवहार प्रमुख जिल्ला अधिकारीको सामुन्ने रमिता बन्यो। यसरी एकाएक अनुगमन स्थगन गर्नु र त्यसका बिषयमा कुनै चासो नदेखाउनु प्रमुख जिल्ला अधिकारीको गैह्र जिम्मेवारी रहेको स्थानीय उपभोक्ताहरूले महशुस गरेका छन्‌।

अमरगढी नगरपालिकामा बजार अनुगमन सम्वन्धी व्यवस्था : 

अमरगढी नगरपालिकाले बजार व्यवस्थापनका लागि परिच्छेद-३ मा बजार अनुगमन सम्बन्धी व्यवस्था रहेको छ भने दफा ७ मा वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन नगरपालिकाले गर्नुपर्ने व्यवस्थाहरु उल्लेख गरिएको छ।

यसैगरि दफा ८ को उपदफा १ मा बजार अनुगमन टोली गठन गर्ने व्यवस्था रहेको छ भने दफा ८ को २ मा बजार अनुगमन समितिमा रहने पदाधिकारीहरुको व्यवस्था गरेको छ।  

बजारमा नकारात्मक सन्देश जानेगरि गरिने यस्ता गतिविधिले केही व्यक्तिहरुलाई राजनितिक रुपमा फाइदा पुर्‍याएपनि समग्रमा भने व्यवसायीहरुलाई क्षति पुग्ने देखिन्छ। समग्रमा जिल्ला सदरमुकामको व्यावसायिक चेतनास्तर हिजोको दिनकोभन्दा निकै माथि उठेको भएपनि केही व्यक्तिहरुले आफ्नो स्वार्थमा प्रयोग गर्ने खतरा भने अझैं देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.